– विशेष सम्वाददाता
रुपन्देही जिल्लाको क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहोरा नेकपा एमालेका सिद्धान्तनिष्ट नेता घनश्याम भुसालबीच रोचक प्रतिष्पर्धाको अवस्था पैदा भएको छ । विभिन्न कारणले नेपाली राजनीतिमा चर्चित रहँदै आएका बोहोरा र एमालेभित्र सिद्धान्तवादी लोकप्रिय नेताका रूपमा चिनिने भुसाल दुवैले आ–आफ्नो विजय हुने दाबी गरेका छन् । एमालेभित्रबाट अन्तर्घात नभए भुसालको विजय हुनेमा धेरैको विश्वास छ तर अन्तर्घात नहुने विश्वासचाहिँ गरिएको छैन ।
क्षेत्र निर्धारण गरिएपछि घनश्याम भुसालले रुपन्देहीको हालको १ बाट निर्वाचन लड्ने तयारी गरेका थिए यसका लागि सर्वसम्मत माग गरिएको भए पनि एमालेभित्रको गुटबन्दीअनुसार उनको क्षेत्रमा छविलाल विश्वकर्मालाई दिइयो र घनश्याम भुसाल आफ्नो रोजाइ भन्दा फरक क्षेत्र ३ नं मा उम्मेदवार बन्न पुगेका हुन् ।
घनश्याम भुसालका लागि नया क्षेत्र भएकोले उनको तयारीमा ढिला भयो, त्यसमाथि खाण र बोहोरा गठबन्धन बनी बोहोरा लोकतान्त्रिक गठवन्धनबाट प्रत्यासी बन्न आइपुगेपछि स्थिति चुनौतीपूर्ण बन्न पुगेको हो ।
यता एमालेबाट ३ नं. मा घनश्याम भुसाललगायत अन्य इच्छुकहरूमा पुष्पाञ्जली शर्मा र डा. विजय पौडेल थिए । तर घनश्याम भुसालको रोजाई १ भए पनि उनी कांग्रेसका लागि टक्कर दिने ठानेर वा हो अन्य कारणले उनलाई ३ नं मा पठाइयो ।
एमालेभित्र भैरहवामा बोहोरासँग गठबन्धन गर्नुपर्छ भन्ने एक जबर्दस्त पक्ष हावी छ । स्थानीय निर्वाचनमा बोहोराको समर्थनमा मेयरका उम्मेदवार सागरप्रताप राणालाई समर्थन गर्नका लागि एमालेको नेतृत्वले जोड दिएको थियो । यसमा घनश्याम भुसालको जोडले एमालेका हरि पोखरेललाइ उम्मेदवार बनाइएको र पछि उनी विजयी पनि बने ।
३ नं मा लोकतान्त्रिक गठबन्धनबाट बोहोरा उम्मेदवार बने पनि उनलाई ताम्राकार पक्षबाट समर्थन भइरहेको छैन । खाणले ताम्राकार पक्षलाई किनारा लगाउन आफूले स्थान छोडीकन बोहोरालाई उठाएको भन्ने ताम्राकार पक्षको भनाइ छ । अर्कातिर दर्तासँगै एकाएक एमालेका इच्छुक उम्मेदवार पुष्पाञ्जली शर्माका छोरा पनि प्रतिनिधि सभाका उम्मेदवार बने । उनी वागी उम्मेदवारका रुपमा होइन विवेकशील साझाका उम्मेदवारका रुपमा । रोचक कुरा त के छ भने उनको पढाइको सम्पूर्ण खर्च एमालेबाट गरिएको थियो । उनकी श्रीमती एमाले भैरहवाका कार्यलयमा कार्यरत छिन् र पार्टी कोषबाट तलव पनि खान्छिन् ।
घनश्याम भुसालका बारेमा काङ्ग्रेस मौन छ, उनीहरू बोहोरा भन्दा घनश्यामले जितुन् भन्ने चाहन्छन् । तर भैरहवाका कांग्रेस के भनिरहेका छन् भने घनश्यामलाई पराजित गराउन एमालेको एक पक्ष नै लागेको छ र कतै बोहोराले जित्छन् कि भन्ने त्रासमा समेत छन् । यस अफवाहलाई खण्डन गर्न घनश्याम भुसालको निर्वाचन परिचालनकर्ताहरूले विष्णु पौडेल र घनश्याम भुसाल राखेर सभा तथा पत्रकार सम्मेलन गरेका छन्, तथापि सन्देह कायम नै रहेको छ ।
नेपाली राजनीतिका दुई फरक प्रवृत्तिको प्रतिनिधित्व गर्ने चर्चित पात्र हुन् घनश्याम भुसाल र दीपक बोहोरा । भुसालले सिद्धान्तको कुरा बढी गर्छन् भन्ने हल्ला थियो, तर यसपटक विकासको नेतृत्व गर्ने र मुख्य कामहरू गर्ने भाषण गरिरहेका छन् । भुसालको भनाई छ अब स्थानीय तह, प्रदेश तह वामकै हुने र विकास बजेट खर्च नभएको अवस्थामा प्राथिमकताका आधारमा काम गर्न सकिने भएर मैले विचार मात्र होइन विकास पनि गर्न सक्छु भनेको हो ।
बोहोराको दल नेपालभर जम्मा ४ स्थानमा लडेको र राप्रपा ३ टुक्रा भएको, हिन्दूत्वको नाराले मात्र समानुपातिक मतलाइ आकर्षण नगर्ने भएकोले अब उक्त दल निर्णायक शक्ति नबन्ने अवस्था छ । उनी सत्ता, शक्ति र पैसाका आधारमा मात्र राजनीतिमा छन् ।
सक्रिय राजतन्त्रदेखि गणतन्त्रसम्म आउँदा करीव ३० वर्षको बीचमा दश पटक मन्त्री बनेका दीपक बोहोरालाई यसपटक नेपाली कांग्रेसले साथ दिएको छ । कांग्रेसका नेता बालकृष्ण खाणले सो क्षेत्र बोहोरालाई छाडेर समानुपातिकमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।
अर्कोतिर नेपाली वामपन्थी आन्दोलनका एक विचारक तर पार्टीको संस्थापन पक्षबाट बारबार खेदिएका बौद्धिक जगतमा परिचित घनश्याम भुसाल बामपन्थी गठबन्धनका उम्मेदवारका रुपमा छन् । राजनीतिक चरित्रका हिसाबले घनश्याम र दीपक बोहोरा ठीक फरक प्रवृत्तिको प्रतिनिधित्व गर्छन् ।
जतिबेला नेपालमा विद्यार्थी आन्दोलन चर्किएर पञ्चायती व्यवस्था धरापमा पर्दै थियो, त्यसबेला घनश्याम भुसाल अनेरास्ववियुको नेतृत्वमा उदाउँदै थिए । उता त्यही बेला दीपक बोहोरा पञ्चायत टिकाउन गठन भएको राष्ट्रवादी विद्यार्थी मण्डलको नेतृत्व गरेर राष्ट्रिय पञ्चायतको सिँढी चढ्न खोज्दै थिए ।
विभिन्न काण्डका कारण राष्ट्रवादी विद्यार्थी मण्डललाई पञ्चायतभित्रै मण्डले भन्न थालिएको थियो । कमल थापा, दीपक बोहोरा, टंक ढकाल जस्ता नेताहरू सोही पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिमा आएका थिए । घनश्याम भुसाल पनि ‘मण्डले’सँग लड्दै अनेरास्ववियुको महासचिवसम्म भएर एमालेको राजनीतिमा स्थापित भए ।
प्रचण्ड सरकारका सबैभन्दा धनाड्य मन्त्रीको सूचीमा रहेका बोहोराको आर्थिक हैसियत करोडमा होइन, निकै उच्च स्तरको मानिन्छ । पछिल्लोपटक आयल निगमको जग्गा खरिद काण्डमा समेत संलग्न रहेको आरोप लागेका बोहोरा जसरी पनि चुनाव जित्नुपर्छ भन्ने सिद्धान्तबाट प्रेरित छन् ।
घनश्याम भुसाल ठीक विपरीत धारका नेता हुन् । जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यताले राजनीतिलाई अपराधीकरण र भ्रष्टीकरण बनाउने उनको तर्क छ । दुई विपरीत विचारका नेतामध्ये को रोज्ने भन्ने निर्णय अब रुपन्देही ३ का मतदाताले गर्नुपर्ने छ ।
दीपक बोहोरा नेपाली राजनीतिमा सत्ता, शक्ति र पैसाका लागि जुनसुकै गठबन्धन गर्न सक्ने खेलाडीका रुपमा चिनिन्छन् । ठीक विपरीत घनश्याम भुसाल राजनीति सिद्धान्तका आधारमा चल्नुपर्छ भन्छन् । उनको यही दार्शनिक पक्षलाई एमालेकै कतिपय कार्यकर्ताले अव्यवहारिक भन्ने गरेका छन् ।
जनतालाई झूठो आश्वासन दिन्न र घरदैलोजस्तो नाटकीय काम गर्दिनँ भनेका कारण भुसाल ०७० को चुनावमा कांग्रेस नेता बालकृष्ण खाणसँग ८८ मतले पराजित भए । यसमा अनेक कारणहरू थिए, मुख्य कारण एमालेभित्रको अन्तरघात नै थियो ।
राजनीतिमा चुनाव जित्न जे पनि गर्नुपर्छ भन्ने दीपक बोहोरा र नाजायज कार्य गर्न हुँदैन भन्ने भुसालबीचको प्रतिस्पर्धा यसपटक रोचक बनिरहेको छ ।
दीपक बोहोराले रुपन्देहीमा पार्टीको संगठनका कारण भन्दा पनि पैशा र पहाडे नाराका कारणा ०७० को चुनाव जितेका बताइन्छ । बहुदलीय व्यवस्थायताका अरु सबै चुनाव हारेका बोहोराले ०७० मा मात्र जितेका थिए ।
घनश्याम भुसाल भने यसबीचमा तीनपटक चुनाव लडेका छन् । ०५१ मा निर्वाचित एमालेका तत्कालिन सांसद धनपति उपाध्यायको निधनपछि भएको उपचुनावमा भुसालले कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गरेका थिए । ०५६ मा उनी एमालेबाट होइन, मालेबाट उम्मेदवार बनेर पराजित भएका थिए । ०७० मा ८८ मतले पराजित भएका थिए । यो पराजयमा एमालेको एक पक्षले अन्तरघात गरेको भन्ने एमालेले बनाएको आयोगले प्रतिवेदन दिएको छ ।
यस चुनावी लडाईमा नेता भुसालले व्यक्तिगत र पार्टीगत मत पाउने देखिन्छ भने बोहराले पार्टीगत भन्दा अन्य प्रकारको मत पाउने देखिन्छ । कांग्रेसका असन्तुष्टले उनलाई मत दिने छैनन् भन्ने संकेत पनि छ । तर उनीहरूले भुसाललाई दिन्छन् भन्ने पनि अनुमान गर्न सकिएको छैन । यस्तो निर्णय नहुनुमा रामकृष्ण ताम्राकार हाल निदान नर्सिङ होममा उपचारार्थ भर्ना भएकाले हुन सक्छ ।
भुसाललाई यो क्षेत्रमा तुलनात्मक रुपमा कमजोर रहेको माओवादी केन्द्रको साथ छ भने बोहोरालाई कांग्रेसको खासगरी खाणसमर्थक कांग्रेसको साथ छ ।
वाम गठबन्धनबाट यस क्षेत्रको प्रतिनिधिसभामा एमालेले र प्रदेशसभाको १ मा माओवादी केन्द्र र २ मा एमालेले उम्मेदवारी दिएको छ ।
त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट यस क्षेत्रको प्रतिनिधिसभामा राप्रपाले र प्रदेश सभाको १ र २ मा कांग्रेसले उम्मेदवारी दिएको छ । तर प्रदेश सभा १ मा ओम प्रकाश श्रेष्ठ बागी छन्, जसलाई खाणविरोधी काङ्ग्रेसको समर्थन छ ।
चार महिनाअघि सम्पन्न स्थानीय तहको चुनावमा प्राप्त मतका आधारमा रुपन्देही ३ मा लोकतान्त्रिक गठबन्धनभन्दा वामपन्थी गठबन्धन बलियो देखिन्छ ।
रुपन्देही ३ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोदन गाउँपालिकाका सबै वडा समेटिएका छन् । त्यस्तै बुटववल उपमहानगरपालिकाका १४ देखि १९ वडा पनि यही क्षेत्रमा समेटिएका छन् । तिलोत्तमा नगरपालिकाका १३ र १४ वडाका साथै मायादेवी गाउँपालिकाका ७ र ८ वडाका समेटिएको यस क्षेत्रमा ओमसतिया गाउँपालिकाको वडा नम्बर २ पनि पर्छन् ।
स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिका (भैरहवा) र शुद्धोदन गाउँपालिका एमालेले जितेको थियो । त्यस्तै बुटवल उपमहानगरका ६ वटा वडामध्ये ४ वटा एमालेले र २ वटा कांग्रेसले जितेको छ ।
यस क्षेत्रमा समेटिएका तिलोत्तमा नगरपालिकाका दुवै वडा एमालेले जितेको छ भने ओमसतियाको एउटा वडा कांग्रेसले जितेको छ । त्यस्तै मायादेवी गाउँपालिकाका दुवै वडा संघीय समाजवादी फोरमले जितेको छ ।
स्थानीय तहको मत हिसाब गर्दा एमाले एक्लैको २० हजार २८ छ भने माओवादीको ४ हजार ८६७ समेत जोड्दा वामपन्थी गठबन्धनको मत करीव २५ हजार हुन्छ । त्यस्तै, कांग्रेसको मत १६ हजार ६५१ छ भने राप्रपाको ४ हजार ८६७ छ । दुवै पार्टीको मत जोड्दा करीव २१ हजार हुन्छ ।
प्रतिक्रिया