बम आक्रमणप्रति कांग्रेस दुःखी, महेशले भने- ‘कायरताको उपज’

बम आक्रमणप्रति कांग्रेस दुःखी, महेशले भने- ‘कायरताको उपज’


नेपाली कांग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री गगनकुमार थापालाई बम प्रहार गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा चुनावी प्रचारप्रसारका क्रममा बुढानीलकण्ठ वडा नं २ चपलीको घरदैलो कार्यक्रममा हिँडिरहेको बेला अज्ञात समूहले काठमाडौँ ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार थापाप्रति बम प्रहार गरेको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रलाई समाप्त पार्ने ढंगले यस्ता घटना घटाइएको हो ।’

कांग्रेसले आफ्ना उम्मेद्वार र कार्यकर्तामाथि हत्या गर्ने मनशायले यस्ता घटना गराएको भन्दै भत्र्सना गरेको छ । यस्ता घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्न सरकारसँग मागसमेत गरिएको छ । हिजो सोमबार राजधानीको चपलीमा गरिएको बम आक्रमण घटनामा गगन थापासहित धुव्र खड्का, जयराज लामिछाने, राजकाजी श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, रवीन्द्र कार्की, पुष्पबहादुर श्रेष्ठ, राधिका कार्की, काशीलाल श्रेष्ठ, रोशनराम थापा र रिमा बस्नेत घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।

यसै क्रममा पूर्वउद्योगमन्त्री एवं नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले चुनावमा बम आक्रमण गरी आतंक फैलाउने षड्यन्त्रकारीबाट कोही पनि विचलित नहुने बताएका छन् । उनले भने, ‘लगातार चुनावीसभा र चुनाव प्रचारका क्रममा बम आक्रमण भइरहेको छ, नेताको घर र गाडीमा समेत बम राखेर आतंकित पार्ने प्रयास भइरहेको छ, आइतबार राति मेरो घरको गेटमा समेत बम राखियो, यस्ता आतंकित पार्ने कार्य कायरताको उपज हो ।’