यूके आम चुनावमा कन्सर्भेटिभ पार्टी अगाडि

यूके आम चुनावमा कन्सर्भेटिभ पार्टी अगाडि


यूकेमा संसदको तल्लो सदन हाउस अफ कमन्सका लागि हिजो सम्पन्न आम चुनावमा मुख्य विपक्षी दल कन्सर्भेटिभ दल अग्रस्थानमा रहेतापनि कुनै पनि दलले स्पष्ट बहुमत हासिल गर्न सकेका छैनन्। यसले गर्दा नयां बन्ने सरकारका बारे आशंकाहरु कायमै छन्।

अहिले बिहान ११:३० बजेसम्म प्राप्त नतीजाहरुका अनुसार कन्सर्भेटिभ पार्टीले २९१, लेबर पार्टीले २५१ र लिबरल डेमोक्र्याट पार्टीले ५२ स्थानमा विजय हासिल गरेकाछन। मतगणना जारी नै छ।

यूकेका लाखौं मतदाताहरुले हिजो सम्पन्न भएको आम चुनावमा मतदान गरेका थिए। सो चुनावमा झण्डै साढे चार करोड मतदाता रहेका थिए। ईंगल्याण्डका एकसय चौसठ्ठीवटा स्थानीय निकायहरुमा पनि संगसंगै चुनाव भएको थियो। वर्षौंपछि भएको तीव्र प्रतिस्पर्धात्मक चुनावी अभियान मा यूकेका जनताले भाग लिएका हुन्।

तीन प्रमुख दलका नेताहरू लेबरका प्रधानमन्त्री गोर्डन ब्राउन, कन्सर्भेटिभका डेभिड क्यामरन तथा लिबरल डेमोक्रेटिकका निक क्लेगबीच मतदाताहरुलाई आफ्नो पक्षमा पार्न तीव्र प्रतिस्पर्द्धा चलेको थियो।

यसैबीच युके इन्डिपेन्स पार्टीका एकजना उम्मेदवार नाइवेल फाराज एउटा विमान दुर्घटनामा परी अस्पतालमा भर्ना गरिएका छन्। संसदको तल्लो सदन हाउस अफ कमन्सको छ सय उनन्चास स्थानकालागि चार हजार भन्दा बढी उम्मेदवारहरू प्रतिस्पर्द्धा गरिरहेका छन्। थर्स्क तथा मेल्टन निर्वाचन क्षेत्रका एकजना उम्मेदवारको निधन भएका कारण सो क्षेत्रको चुनाव मे २७ तारिखसम्मका लागि पर सारिएको छ।

आज अपरान्हसम्ममा चुनावको नतीजा प्रकाशित भैसक्ने अपेक्षा गरिएको छ। विश्वव्यापी आर्थिक मन्दीबाट ब्रिटेन भर्खरै सुधारको बाटोमा अगाडि बढ्न लागेका बेला यो चुनाव भएको हो। अर्थतन्त्रका साथै स्वास्थ्य, शिक्षा र आप्रवसन अन्य प्रमुख चुनावी मुद्दाहरु थिए। लगातार गएको १३ वर्षदेखि सरकार चलाईरहेको लेबर पार्टीले आर्थिक सुधारलाई निरन्तरता दिन आफ्नो पार्टीलाई फेरि जिताउन आग्रह गरेको थियो। मुख्य प्रतिपक्षी कन्सरभेटिभ पार्टीले परिवर्तनकालागि मत दिन आह्वान गरेको थियो।

त्यस्तै विघटित संसदको तेश्रो ठूलो दल लिबरल डेमोक्रयाटिक पार्टीले दुबै ठूला दलहरुले देशका समस्या समाधान गर्न नसकेकाले आफ्नो दललाई अवसर दिन आग्रह गरेको थियो।

ब्रिटेनको इतिहासमै पहिलो पटक प्रमुख तीन दलका नेताहरुबीच प्रत्यक्ष टेलिभिजन बहस सन्चालन गरिएको थियो। तर आलोचकहरुले टेलिभिजन बहसका कारण मतदाताहरुको ध्यान प्रमुख दलहरुको नीति भन्दा नेताहरुको व्यक्तित्वमा बढी केन्द्रित भएको बताएका थिए।

साभार: बिबिसी