नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भोलि दिउँसो याक एन्ड यति होटलमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वसँग अन्तर्क्रिया गर्ने भएका छन्। दिउँसो २ बजे हुने भनिएको अन्तर्क्रिया कार्यक्रममा दाहाललगायत पार्टीका वरिष्ठ नेताहरुको उपस्थिति हुने बताइएको छ।
अन्तर्क्रियाका लागि ‘समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरु’लाई आमन्त्रण गरिएको छ। आम हड्ताल फिर्ता लिएको भोलिपल्ट टुँडिखेलमा सम्बोधन गर्दै राजधानीका ‘सुकिलामुकिला बुद्धिजीवीहरु’ लक्षित गर्दै गरिएको भाषणको विरोधमा भइरहेको प्रचारलाई ध्यानमा राख्दै त्यसलाई स्पष्ट गर्न यस्तो अन्तर्क्रिया राखेको हुनसक्ने चर्चा चलेको छ।
यसै बिच राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संवैधानिक शून्यताबाट बचाउन राजसंस्थाको आवश्यकता रहेको बताएका छन्।
भारतमा कट्टर हिन्दुहरुको समूह शिव सेनाका बाल ठाकरेलगायतको सहभागिता रहेको हिन्दु सम्मेलनमा सहभागी भएर फर्केपछि उनले यस्तो बताएका हुन्। सम्मेलनबाट फर्केबित्तिकै काठमाडौँ विमानस्थलमा उनले भने- जनताले चाहेमा राजसंस्था फेरि फर्कन्छ ।
दलहरुले वृहत् शान्ति सम्झौता गरे पनि उनीहरुको आपसी वैचारिक द्वन्द्वका कारण मुलुकमा संवैधानिक संकट देखा पर्न लागेको र संवैधानिक सून्यताबाट राजसंस्थाले बचाउने उनको तर्क थियो।
थापाले दलहरुले जनताको म्यान्डेट विपरीत संविधानसभाको म्याद थप्न नसक्ने बताए।
श्रोत: नागरिक न्युज
प्रतिक्रिया