नेपालीहरुको बसाइँ-सराइ र गैरआवासीय नेपाली

नेपालीहरुको बसाइँ-सराइ र गैरआवासीय नेपाली


– सुमल कुमार गुरुङ,
विषय प्रवेश
जीवन र संघर्ष मानवजातिको पर्याय हो । मान्छेले आफूलाई सजिलो र अस्तित्व कायम गर्नको लागि कुनै न कुनै कोणबाट संघर्ष गरिरहेका हुन्छन् । मानवजाति एक ठाउँबाट अर्को ठाउँमा पलायन हुँदै जीवनलाई सहुलियतपूर्ण बनाउन र सुगमतासाथ जीवन गुजार्नका लागि आफू बस्दै आएको ठाउँबाट नयाँ ठाउँमा स्थापित हुने क्रमलाई बसाइँ-सराइ भनिन्छ । बसाइँ-सराइ गरी एकठाउँबाट अर्को ठाउँमा जाँदा त्यहाँका समाजलाई आँगल्ने क्रममा आफुले मान्दै आएको परम्परागत भाषा, संस्कृति र संस्कारहरुमा अवश्य नै धेरथोर प्रभाव पर्दछ । नेपाल राष्ट्रको उदय भएपछि उत्तरमा तिब्बत र चीन तथा दक्षिणतिरबाट भारतको संस्कृति, सभ्यताको प्रभाव र नेपाली भूमिमा आदिकाल देखिको भूमि पुत्रहरुले आपनाउँदै आएको भाषा, संस्कार र संस्कृतिको सम्मि श्रणबाट जन्मेका मौलिक उपज नै नेपाली संस्कार र संस्कृति हो । दुबैतर्फका ठूला राष्ट्रहरुको संस्कृति र सभ्यताले नेपालभित्रका बासिन्दहरुलाई परापूर्वकालदेखि ठूलो प्रभाव पारेको देखिन्छ । प्राचीनकालदेखिको स्थानान्तरण र बसाइँ-सराइको क्रममा संस्कृती, भाषा, भेसभुषा र संस्कारहरुको प्रभाव कुनै पनि जातजातिको पहिचान र अस्तित्वमा प्रत्यक्ष अथवा परोक्षरुपमा पर्ने गर्दछ । यतिबेला हाम्रो छुट्टै नेपालीपन बोकेको एउटा सार्वभौम नेपाली राष्ट्रको साझा अस्थाको रुपमा नेपालीको हैसियतमा हामी विश्वसामु चिनिएका छौ । नेपालीको नाताले विश्वको कुनै कुनामा बसाइँ-सराइ गरी गएता पनि हाम्रो अस्था र अस्तित्व नेपाली नै रहन्छ । नागरिकताको हक गुमाएर अर्को देशको नागरिक बने पनि हामी सदा नेपालीमूलको भनेर विश्वले चिन्दछ र हामीले आफूलाई चिनाउँछौ । फरक केवल केही वर्षयतादेखि व्याख्य हुँदै आएको गैरआवासीय नेपाली र नेपाली भन्ने शब्दको भिन्नता हो । एकपल्टको नेपाली सदाको नेपाली हो र हामी विदेशिए पनि हामीले नेपाली मन लिएर विदेशिएका हुन्छौ ।

शुरु-शुरुको बसाइँ-सराइ र देशको स्थिति
बसाइँ शब्द सुन्ने बित्तिकै मनमस्तिष्कमा एउटा चित्र अगाडि आउँछ “मुग्लान” । मलाई यो मुग्लान शब्दले खेद्न थाल्थ्यो सानैबाट । मैले कल्पना गर्थें मुग्लान कस्तो होला । फलाना जहान परिवार सबै लिएर मुग्लान पसे भन्ने कुराहरु सुन्ने गर्थें । धेरैपछि अलि बुझ्ने भएपछि मुग्लान भन्नु विदेशमा बसाइँ-सराइ गरी देश् छोडेर गएकालाई भन्दो रहेछ भन्ने कुरा बुझ्न थालें । एकजना नेपाली यदि दक्षिण दिशाउन्मुख भएर घरबार त्यागेर भारततिर जान्छन् भने मुग्लान पसेको भनेर केही दशक अघिसम्म भन्ने गर्थे, तर, अहिले यो मुग्लान शब्द विस्तारै लोप भएर गएको छ । भोट पसेकालाई मुग्लान पसेको भन्ने चलनचाँहि सुनिएन । वास्तवमा तिब्बततिर आम नेपालीहरु बसाइँ-सराइ गरेर गएका देखिँदैन । हिमाली सिमानाक्षेत्रमा बसोबास गर्ने नेपालीहरुबाहेक पहाड र तराईबाट भोटतिर गएको पाइँदैन । राजा अंशु वर्माको राज्यकालमा तिब्बती राजा स्रोङ्ग चोङ्ग गोम्पासँग आफ्नी छोरी भृकुटीलाई विवाह गराइदिएपछि नेपाल-तिब्बतको मित्रता गाढा हुनुको साथै मान्छेहरुको बसाइँ-सराइ पनि हुँदै आएको बुझिन्छ । तर, हिमालपारीको तिब्बतसँग स्रोङ्ग चोङ्ग गोम्पाको पालाभन्दा पहिलेदेखि नै धार्मिक तथा संस्कृतिक सम्बन्ध रहेको तथ्यहरु पाईन्छ । भारतसितको सम्बन्ध अझ प्रगाढ छ । भगवान गौतम बुद्धको समय र त्यसभन्दा पनि पहिले रामायणकाल तथा महाभारतकाल देखिको भारतसँगको सम्बन्ध थियो । यस अर्थमा भारत र नेपालभित्र मानिसहरुको एक-ठाउँबाट अर्को ठाउँमा बसाइँ-सराइ गरी बस्ने प्रचलन प्राचीनकालदेखि नै थियो ।

हजारौवर्ष अघिदेखि जब मानव बस्तिहरु बसाइँ-सराइ गर्दै नेपाल खाल्डोमा बस्दैआए यस्ामा उत्तर र दक्षिणको प्रभाव प्रष्ट परेको हामीले एकीन गर्न सक्छौ । यीनै राष्ट्रहरुमा शुरुको बसाइँ-सराइ गरेर जाने अथवा आउने क्रम भएको बुझिन्छ । भारतमा मुसलमान् राजाहरुको शासनकालमा ससाना समूहसहित भारतका राजा-रजौटाहरु भ्ाारदारसहित भारतबाट नेपालको पहाडतर्फ बसाइँ-सराइ गरी नेपाल पसेका थिए । तिनै राजाहरुको एउटा वंशज राजस्थानबाट नेपाल प्रवेश गरेर पश्चिम नेपालको गोरखामा सानो राज्य स्थापना गर्न सफल भएका थिए । २४० वर्ष अघि गोरखाका शाहवंशका राजा पृथ्विनारायण शाहले नेपाल एकीकरण गरी बर्तमान नेपाल राष्ट्रको निर्माण गरेका थिए । त्यतिबेलाका नेपालमा काठमाडौ उपत्यकाको इतिहासबाहेक अन्य क्षेत्रमा बसाइँ-सराइ तीव्र हुँदै ससाना राजारजौटाहरु १२औ शताब्दिपछि नेपाल अधिराज्यभरि फस्टिएका थिए ।

नेपालको भौगोलिक बनोट भूपरिवेष्टित भएको हुनाले तथा बढीभन्दा बढी पहाडी क्षेत्र र हिमाली क्षेत्र भएको हुनाले देशले पहिलेदेखि नै विकासको गति लिन सकिरहेको छैन । संसारको गरीब राष्ट्र मध्येको एउटा राष्ट्र नेपाल हो । नेपाल एकीकरणपछि पृथ्विनारायण शाहको चारजात छत्तीस वर्णको फूलवारीभित्र सत्ता द्वन्द्व, षड्यन्त्र र कमजोरहरुमाथिको शोषणको शासनले गर्दा जनताहरु मुग्लान पस्न थाले । सय वर्षभरि राणाहरुको शासनकालमा मुग्लान पस्ने संस्कार दरिलो हुँदै आयो । मुग्लान पस्ने किन भनिएको होला भनेर घोरिएर अर्थ पहिल्याउन खोज्दा स्तम्भकारलाई एउटा जिज्ञासा आउँछ । सायद नेपालीहरु मुगलकालदेखिनै निकै तादादमा भारत पसेका हुन सक्छन । मुगलहरुले शासन गरेको देश भएकोले भारतमा देश त्यागेर जानेहरुलाई “मुग्लान” पसेका भनेको होलान भन्ने यस स्तम्भकारको अडकल छ ।

भारततिर पलायन र नेपालीमूलका भारतीय
नेपालीहरुका लागि कामको खोजीमा जाने ठुलो गन्तव्य भारत नै रहेको पाइन्छ । ब्रिटिश इष्ट इण्डिया कम्पन्ाी र नेपाल बीचको सन् १८१६को सुगौली सन्धिपछि त हजारौको संख्यामा नेपालीहरु सेनाको हैसियतमा भर्ती हुँदै भारत पस्ने संस्कार पुश्तौदेखि बस्दै आयो । पछि यसलाई लाहुरे प्रथाको रुपमा नेपालीले अंगीकार गर्‍यो जो अहिलेसम्म यथावत छ । यसरी भारतमा ब्रिटिशको अधीनस्थ नौकरी गर्ने क्रममा कैयौ नेपालीहरु ब्रिटिश साम्राज्यको उपनिवेश भएका ठाउँहरुमा बसाइँ-सराइ हुँदै गए । त्यसको एउटा उदहारण बर्मामा बसेका नेपालीहरु हुन् । बसाइँ-सराइ गरी स्थाई रुपमा बसीसकेका नेपालीहरु पछि ब्रिटिश साम्राज्यको पतन भएपछि बर्माबाट खेदिएका थिए । तर, अहिलेपनि बर्मामा धेरै नेपालीहरु बसोबास गरिरहेका छन् । यसरी बर्माबाट खेदिएका नेपालीहरु भारत हुँदै नेपालमा फेरि फर्केर आएका पनि छन् र हजारौको संख्यामा भारतमा स्थाई रुपले बसिसकेका छन् । भारतमा तत्कालीन ब्रिटिश राज रहेको बेलामा स्थापना गरेका सैनिक छाउनीहरुको छेउछाउ सेवानिवृत्त भएपछि स्थाई रुपमा बसेका कैयौ नेपालीहरुको समूह यतिबेला भारतभरि छरिएर बसेका छन् । भारतको पूर्वोत्तर प्रान्तहरुमा पुस्तौदेखि बसोबास गर्दै आएका नेपालीहरुमा बर्माबाट आएका, २/८ गोरखा राइफल्सको स्थापना भएको ठाउँ सिलाँङ, असम राइफल्समा भर्ती भएका नेपालीहरु र पूर्वी नेपालबाट कामको सिलसिलामा आसाम छिरेका नेपालीहरुको ठूलो जमात बसाइँ-सराइ गरेर बसेका छन् । भारतमा नेपाली डायस्पोराको ठूलो संख्या रहेको छ । तर, यहाँ बुझ्नु पर्ने कुरा के छ भने नेपालको कतिपय भूभाग उहिले नै सुगौली सन्धिको बेलामा भारतमा सदाको लागि विलय भएको थियो । उदहारणको लागि दार्जीलिङ्क शहर उहिले लिम्वूहरुको ५०, ६० जति घरभएको एउटा बस्ति थियो । पछि त्यो बस्ति विश्वविख्यात पर्यटकीय शहरमा परिणत भयो । त्यस्तै नेपालको भूभाग टिस्टादेखि पश्चिम सतलज नदी अथवा काँगडासम्म फैलिएको थियो । त्यहाँ रहेका बासीन्दहरु नेपाली नै थिए जो अहिले नेपालीमूलका भारतीय नागरिकको अस्तित्व बोकेर बसेका छन् । ती नेपालीहरु बसाइँ-सराइ गरी गएका हुन् भन्दा उल्टो अर्थ लाग्नसक्छ । उनीहरु परापुर्वकालदेखि नै त्यही भूमिमा थिए र नेपालीको हैसियतमा चिनारी बोक्दै ब्रिटिशद्वारा इण्डिया शासित भएको बेलादेखि भारतीय नागरिक बन्न पुगेका हुन् ।

एसियाका अन्य मुलुकहरुमा नेपालीहरुको बसोबास
भारतलाई छोडेर नेपालीहरु बर्मा, मलयसिया, सिँगापुर र दक्षिणपूर्व एसियामा बसोबास गरेका नेपालीहरु बेलायती सेनाको नौकरीको दौरान उतै घरजाम गरेर बसेकाहरु हुन् । पहिलो र दोश्रो विश्वयुद्धको बेलामा धेरै नेपालीहरु बर्मामा बसाइँ-सराइ गरेर बसेका थिए । केही मात्रामा मलेसिया र सिँगापुरमा बसोबास गर्न थालेका थिए । भुटानमा केही दशक अघिको जनगणनामा देशको ४० प्रतिशत जनसंख्या नेपालीमूलका थिए । त्यस्तै भारत स्वतन्त्रभएपछि केही संख्यामा नेपालीहरु बंगलादेशमा (पहिलेको पूर्व पाकिस्तान) स्थाई रुपले बसेको पाइएको छ । त्यस्तै पाकिस्तानको अबोटाबादको पहाडी क्षेत्रमा पनि नेपालीमूलका मानिसहरु बसोबास गरेको पाइएको छ । तर, केही दशक यतादेखि रोजगारीको सिलसिलामा नेपालीहरुको गन्तव्य अरबीयन राष्ट्रहरु, जापान, कोरिया, ताइवान्, सिँगापुर, मलयसिया, ब्रुनेइ, हङकङ, मकाउ र प्राय सबै एसियाली राष्ट्रहरुमा क्रनै न कुनै हिसाबमा पुगिसकेका छन् । हङकङमा लाहुरेका सन्ततीहरु जन्मेका नाताले उनीहरुलाई आई डीको सुविधा प्राप्त भयो त्यसले गर्दा स्थाई रुपमा बस्ने अधिकार प्राप्त भएको छ । सन् नब्बेको दशकदेखि ठूलो जमातमा नेपालीहरु हङकङमा जान थाले । केही नेपालीहरु त्यसभन्दा पहिले नै हङकङमा व्यापार तथा आई डी प्राप्त गरेर बसेकाहरु पनि थिए । वास्तवमा सन् ६०को दशकपछि जतिबेला ब्रिगेड आँफ गुर्खाजको ग्यारिजन र तालिम केन्द्र हङकङमा स्थापना भयो त्यतिबेलादेखि परिवार राख्ने सुविधा भएपछि धेरै नेपालीका सन्तानहरु जन्मेका थिए । बेलायतले हङकङलाई हस्तान्तरण गर्ने बेलामा ती गोर्खालीका सन्तानहरुलाई आई डी प्रदान गर्न थालेको थियो । एसियाका अन्य मुल्रकहरुमा बसोबास गर्ने नेपालीमूलका मानिसहरु अस्थाई रुपमा कामको सिलसिलामा जानेहरु छन्, तर, ती नेपालीहरु ढिलो-चाँडो नौकरी/व्यापार समाप्त भएपछि नेपाल नै फर्कन्छन् ।

युरोप र विश्वका अन्य मुलुकहरुमा नेपालीहरुको बसाइँ-सराइ
नेपालजस्तो गरीब राष्ट्रको धेरैजसो जनताहरु विदेश गएर धनोपार्जन गरेर फेरि देशमा सुखसयल गरी जीवन बिताउने सपना बोक्नु नेपालीहरुको लागि अहिले दिनचर्या नै बनेको छ । देशमा अशान्ति, राजनीतिक अस्थीरता, प्रशासनको पंगुपना र कानूनको मुल्यमान्यताविपरीत देश उन्मुख भइरहँदा भ्रष्टाचार फस्टाउँदै गयो । जुन राष्ट्रमा भ्रष्टाचार केन्द्रबाट नै परिचालित हुन्छ त्यस राष्ट्रको विकासको कल्पना गर्नु भनेको “आकाशको फल आँखा तरी मर” भनेजस्तै हो । प्रसँग नेपालीहरुको बसाइँ-सराइ र गैरआवासीय नेपालीहरुको बारेमा केही सम्प्रेषण गर्ने कोशिसमा थिएँ । युरोपेली राष्ट्रहरुमा बेलायत पहिलो राष्ट्र हो जहाँ नेपालीहरु निकै पहिलेदेखि नै बसोबास गर्न थालेका थिए । शुरुमा आउने नेपालीहरु आर्मीमा भर्ती भएपछि कामको सरुवा र तालिमको सिलसिलामा आउन थाले । त्यसताका आर्मीमा काम गर्नेहरु स्थाई रुपमा बस्ने धेरै कम नेपालीहरु थिए । तर, अध्ययनको सिलसिलामा आएका धेरै पढेलेखेका मानिसहरुले बेलायतमा नै काम पाउने र बेलायतमा बस्न पाउने सुविधा पाएपछि यतै बस्न थाले । यस हिसाबले बेलायत आउने शुरुका आर्मीका मानिसहरु भन्दा पछिल्लो दफामा आएका बौद्धिक क्षेत्रसँग आबद्ध नेपालीहरुको संख्या विस्तारै बढ्न थाल्यो र पहिलो नेपाली सामाजिक संस्था यति त्यतिबेला खोलिएको थियो जो अहिले धराशयीको अवस्थामा छ । त्यसपछि आउनेहरुमा सन् २००० को दशकको शुरुवात सँगै लाहुरेहरु बेलायत बस्ने सुविधा पाएपछि आउन थाले र यो क्रम अहिले निरन्तर छ । अहिले बेलायतमा एकलाखको हाराहारीमा नेपालीहरु विभिन्न हिसाबले भित्रिएका छन् र बेलायतलाई धेरैजसोले बसाइँ-सराइको अन्तिम गन्तव्यको रुपमा लिई सकेका छन् ।

सन् ८०को दशकपछि युरोपेली राष्ट्रहरुको शरणार्थीसम्बन्धी सुविधामुलक व्यवस्थाको फायदा उठाउँदै नेपालीहरु जर्मनी, बेल्जियम र विभिन्न युरोपेली मुलुकहरु स्थाई रुपमा बसीसकेका छन् । संख्याको अनुपातमा बेलायतपछि बेल्जियममा बस्ने नेपालीहरुको संख्या स्थायित्वको हिसाबमा अन्य मुलुकहरुमा भन्दा बढी रहेको अनुमान छ । त्यस्तै अस्ट्रेलिया, क्यानाडा र अमेरिकामा पढाइको सिलसिलामा गएका अनि पछि स्थाई रुपमा ती राष्ट्रहरुमा बस्दै आएका छन् । अमेरिकाको डीएभी प्रोग्रामअन्तर्गत नेपालका नेपालीहरु पनि उल्लेख्य रुपमा बसाइँ-सराइ गरी गएका छन् । बेलायत र हङकङ पछि आईडी प्राप्त गरि बसेका नेपालीहरुमा धेरै संख्या अमेरिकामा छन्, तर, यो अडकल मात्र हो । अमेरिका राष्ट्र ठूलो भएको हुनाले त्यहाँ सम्भावित रुपमा नेपाली बढी हुनसक्छन् ।

नेपाली र गैरआवासीय नेपाली
बाइबलमा यहुदीहरु मिश्रमा गएको बारेमा उल्लेख गरेका छन । मिश्रका फारोहहरुले दास बनाएर पीरामिड बनाउने काममा दासको रुपमा कज्याएको उल्लेख पाइन्छ । आधुनिक युगको ऐतिहासिक रेकर्डलाई लिने हो भने संसारभरि छरिएर आफ्नो राष्ट्रको मूलभूमि छोडेर विदेशमा बस्नेहरुमा पहिले यहुदीहरु आउँछन । यहुदीहरु इजरायलबाट बसाइँ-सराइ गरी युरोपका प्राय सबै राष्ट्रहरु छिचोलेका थिए । त्यसपछि सम्पन्न राष्ट्रहरुको बाटो हुदै अस्ट्रेलिया र अमेरिकामा पनि यिनै यहुदीहरु गएर व्यापार र राजनीतिमा राम्रो दखल दिएका पाउँछौ । दोश्रो विश्वयुद्धमा हिटलरको नश्लवादको शिकार यिनै यहुदीहरु ब्ानेका थिए । इतिहास बनेकेा यहुदी हत्यकाण्डको दाग हिटलरको नामसँग नमेटिने गरी जोडिएको छ । पछि मित्रराष्ट्रहरुको सहयोगबाट प्यालाइस्टायनी भूमिमा यहुदीहरुको इजरायल राष्ट्रको उदय भयो । प्यालाइस्टिनीहरु आफ्नै भूमिमा देशबिनाको नागरिक बनेर बसेका छन् । यिनै यहुदीहरुको बसाइँ-सराइ गरी बस्ने प्रक्रियालाई डायोस्पाराको नामले पहिलोचोटि व्याख्या गरेको थियो । डायोस्पोराको अर्को संज्ञा गैरआवासीय बनेर बसाइँ-सराइ गरी अथवा ६ महिनाभन्दा बढी देश छोडेर अर्काको मुलुकमा बस्ने नेपालीलाई अहिले गैरआवासीय नेपाली भनेर ब्याख्या गरिएको छ । यो सिको भारतको गैरआवासीय भारतीयको अनुरुप लिएको हो । विश्वभरिका विभिन्न राष्ट्रहरुमा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरुका एउटा बृहत भेलालाई सन् २००३ सालमा राजा ज्ञानेन्द्रले निम्तो गरी बोलाएका थिए । त्यही साल ११ अक्टुबरको दिनमा विधिवत डाक्टर उपेन्द्र महतोको अध्यक्षतामा अन्तर्राष्ट्रीय गैरआवासीय समन्वय समितिको गठन गरेको थियो ।

उपसंहार
त्यसपछिका वर्षहरुदेखि नेपाली जन्ज्रि्रोमा गैरआवासीय नेपाली शब्द बोलिन थालेका छन् र विगत केही वर्षदेखि गैरआवासीय नेपालीहरुको अभियान नेपालीले नेपालीका लागि भन्ने नाराका साथ व्यापक रुपमा लागेकाछन् । अहिले संसारभरि गैरआवासीय नेपालीहरुको सञ्जाल फैलिसकेको छ । नेपालको आर्थिक विकासमा पनि यीनै गैरआवासीय नेपालीहरुले ठूलो टेवा पुर्‍याएको यथार्थ सबैले स्वीकार गरेका छन् र यो अहिलेको यथार्थ हो । केही दशकदेखि बसाइँ-सराइ र विदेश जाने प्रवृति यतिधेरै बढेका छन् कि आउँदो भविष्यमा नेपालको लागि दरिलो विकाशको गति दिने बौद्धिक क्षेत्रका मानिसहरुको पलायनले देशलाई ठूलो क्षति भोग्नु पर्ने अवस्था आउन सक्छ । मैले बुझेको र देखेको बौद्धिक जमात कुनैबेला नेपालको लुम्ले अनुसन्धान केन्द्रमा आबद्ध रहेर त्यहाँ कृषिसम्बन्धी नेपालको फिल्ड परिक्षण गरेर विद्यावारिधि गरेका र बेलायतका रेडिङबाट स्नात्तोकोत्तर गरेका देशको लागि अतिआवश्यक मानिने बुद्धिजीवीहरु विभिन्न संसारका अरु राष्ट्रहरुमा बसाइँ-सराइ गरेर आफ्नो ज्ञान र शीपको उर्जा प्रदान गर्दैछन् । यसले के देखाउँछ भने देशको लागि चाँहिने बौद्धिक वर्गका मानिसहरु देशको व्यवस्थापनको समञ्जस्यताको अभावले गर्दा गैरआवासीय बन्दै पलायन हुँदैछन् ।

गैरआवासीय नेपालीहरुको विधानको शुरुको हराफमा नै नेपालीले नेपालीलाई भन्ने प्रस्तावना स्वरुप मूलमन्त्र उद्घोष गरेको छ जहाँ विदेशमा बस्ने नेपालीको साँचो मनभित्रको अनुभूतिमा आफू गैरआवासीय नभई नेपाली बन्ने महशुस गर्दछन् । देशको राजनीतिक अवरोध, पार्टीहरुको पार्टी स्वार्थ र भ्रष्ट ब्युरोक्रेटहरुको कारणले गैरआवासीय नेपालीहरुको औचित्य ओझेलमा परेको छ र देशले गति लिन सकिरहेको छैन । नेपालका लागि नेपाली होस अथवा गैरआवासीय नेपाली सबैको लक्ष्य नेपालको दिगो विकास र शान्तिको लागि एकजुट भएर अघि बढ्नुपर्छ भन्ने हो । यर्सथ नेपाली र गैरआवासीय नेपालीको अर्थ र सामाञ्जस्यता नभएको अनुभूति स्तम्भकारलाई खड्के झै लाग्छ ।