भक्तपुर २ मा भारी मतले जित्दै महेश बस्नेत, धनुषा ३ मा महतोसँग पछि पर्दै निधि

भक्तपुर २ मा भारी मतले जित्दै महेश बस्नेत, धनुषा ३ मा महतोसँग पछि पर्दै निधि


उम्मेदवारी दर्तादेखि नै तीव्र चासो र चर्चामा रहेको धनुषा ३ मा राजपाका उम्मेदवार राजन्द्र महतोले आफ्ना प्रतिष्पर्धी विमलेन्द्र निधिसँगको मतान्तर फकिलो पार्दै लगेका छन् । निधिविरुद्ध करिव डेढ हजार मतको अग्रता उनले लिएका छन् । उम्मेदवारी दर्तादेखि नै चर्चामा रहेका सो निर्वाचन क्षेत्रमा महतोले १६४९१ मत ल्याएका छन् । कांग्रेसका विमलेन्द्र निधिले १५३८७ मत सहित महतोलाई पछ्याइरहेका छन् ।

यस्तै, झापाको क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई राप्रपाका राजेन्द्र लिङदेनले मतान्तर बढाउदै लगेका छन् । पछिल्लो अपडेटअनुसार सिटौला ३६ सय मतले पछि परेका छन् । लिङदेनले १३ हजार ६० मत ल्याएका छन् भने सिटौलाको ९ हजार ४ सय ४१ मत छ । बाम गठबन्धनले लिङदेनलाई समर्थन गरेको यो क्षेत्रमा सिटौला सुरुदेखि नै पछाडि छन् ।

यता, भक्तपुर २ मा एमालेका महेश बस्नेतले १४ हजार ५ सय ५६ मत हासिल गरिसक्दा कांग्रेसका दमननाथ ढुंगानालार्ई ७ हजार ४ सय ८८ मत मात्र प्राप्त भएको छ । दोब्बरभन्दा बढी मतले बस्नेत विजयी हुने आँकलन गरिएको छ ।

यसैगरी सप्तरी २ मा उपेन्द्र यादवले १५,८८५ मत पाएका छन् भने उमेश यादवले ८,९५५ मत प्राप्त गरेका छन् ।

महोत्तरी २ मा राजपाका शरतसिंह भण्डारीले हालसम्मको मतगणनामा ४७८९ र कांग्रेसकी किरण यादवले २०६५ मत प्राप्त गरेकी छिन् ।