पर्सामा मधेसवादीको खुल्यो खाता

पर्सामा मधेसवादीको खुल्यो खाता


प्रदेश नं २ अन्तर्गत पर्सा जिल्लाको क्षेत्र नम्बर १ देखि ४ सम्मको प्रारम्भिक मत परिणाम सार्वजनिक गरिएको छ । पर्सा क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्य पदमा मधेसवादी गठबन्धनका जन्नत अन्सारी विजयी भएका छन् । जन्नतको जितसँगै पर्सामा मधेसवादी गठबन्धनले विजयको खाता खोलेको छ ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयुक्त उम्मेदवार अन्सारी १ हजार ३ सय २२ मतले आफ्ना निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीलाई पराजित गर्दै विजयी बनेका हुन् । अन्सारीले ८ हजार ५ सय ९३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कुर्मीले ७ हजार १ सय ७१ मत ल्याएका छन् । यस्तै, बाम गठबन्धनका रहबर अन्सारीले ६ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नम्बर १ मा फोरम नेपालका प्रदीप यादव अगाडि देखिएका छन् । उनले ८ हजार ६ सय २५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अनिल रुँगटाले ६ हजार ६ सय १ र बाम गठबन्धनका विचारी यादवले २ हजार ७ सय ६७ पाएका छन् ।

क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसका अजय चौरसिया अगाडि छन् । उनले ५ हजार २ सय ७६ मत पाउँदा उनलाई फोरम नेपालका विमल श्रीवास्तवले ४ हजार ६ सय ९८ मतले पछ्याएका छन् ।

यसै क्षेत्रको प्रदेश (क)मा नेपाली कांग्रेसका राजेश्वर प्रसाद साह फोरम नेपालका रामनरेश यादवभन्दा अगाडि छन् । राजेश्वरले ५ हजार ५ सय ३४ मत पाउँदा फोरम नेपालका रामनरेश यादवले ४ हजार ८ सय ४५ मत ल्याएका छन् ।

पर्सा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले २ हजार ३ सय ६ मत पाएका छन् भने फोरम नेपालका हरिनारायाण रौनियारको २ हजार २ सय ९४ आएको छ । यसैक्षेत्रको प्रदेश सभा (क)मा फोरम नेपालका अब्दुल हिम अन्सारीको १ हजार ३ सय ३२ मत छ भने नेपाली कांग्रेसका चन्द्रकिशोर प्रसादले ६ सय ६५ मत पाएका छन् ।

क्षेत्र नम्बर ४ मा भने राजपाका लक्ष्मणलाल कर्ण नेपाली कांग्रेसका रमेश रिजाल भन्दा अगाडि देखिएका छन् । राजपाका कर्णले ५ हजार २ सय ५६ मत पाउँदा कांग्रेसका रिजालले २ हजार ९ सय ८६ मत पाएका छन् ।

सोही क्षेत्रको प्रदेशसभा (क)मा नेपाली कांग्रेसका शंकर चौधरी बाम गठबन्धनका जयप्रकाश थारु भन्दा अगाडि छन् । चौधरीले ६ हजार ३ सय ९९ थारुले ५ हजार ९ सय ९७ मत पाउँदा मत पाएका छन् ।

यसैबीच विगत मधेस आन्दोलनको केन्द्रबिन्दु वीरगंजमा मधेसी गठबन्धन र नेपाली कांग्रेसकाा उम्मेदवारहरूको मतपरिणाम रोचक र तीव्र प्रतिस्पर्धात्मक देखिएको छ । पर्साका चारवटै निर्वाचन क्षेत्रको मतगणना वीरगंजको श्रीपुर विद्यापिठ उच्चमावि परिसरमा भइरहेको छ ।

– प्रणय साह