भक्तपुर २ मा वाम गठबन्धनका उम्मेदवार महेश बस्नेत विजयी

भक्तपुर २ मा वाम गठबन्धनका उम्मेदवार महेश बस्नेत विजयी


भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभाको दुईवटै सिटमा वाम गठबन्धनले जित हासिल गरेको छ ।

क्षेत्र नं २ मा वाम गठबन्धनका नेकपा(एमाले) उम्मेदवार महेश बस्नेतले नेपाली काँग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतले पराजित गरेका छन् ।

मतगणनामा बस्नेतले ३६ हजार ४१२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी काँग्रेसका ढुंगानाले १८ हजार ६८७ मत प्राप्त गरेका थिए । त्यस्तै, नेमकिपाकी अनुराधा थापा मगरले पाँच हजार ४७१ मत पाएकी थिइन् ।

त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा १ मा वाम गठबन्धनका उम्मेदवार एमालेका शशिजंग थापा र प्रदेशसभा २ मा वाम गठबन्धनकै उम्मेदवार एमालेका राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् ।

प्रदेशसभा १ मा (एमाले)का थापाले काँग्रेसका अंगत खड्कालाई १० हजार ४०० मतान्तरले पराजित गरे । एमालेका थापाले १९ हजार ५१५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खड्काले नौ हजार ११५ मा चित्त बुझाउनुपरेको छ ।

यसैगरी, भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा २ मा पनि एमालेका राजेन्द्रमान श्रेष्ठले काँग्रेसका गणेशमान चक्रधरलाई दुई हजार ६९१ मतान्तरले हराएका छन् । राससका अनुसार एमालेका श्रेष्ठले १४ हजार २२९ मत ल्याएर विजयी हुँदा काँग्रेसका चक्रधरले ११ हजार ५३८ मा चित्त बुझाएका छन् ।