[कविता]मान्छेहरु हराइ रहेका छन्

[कविता]मान्छेहरु हराइ रहेका छन्


-दाजु गुरुङ,
मान्छेहरु
मान्छेले मान्छे बगाउने भेलहरुमा
मान्छृको मानव सागरमा
हराइरहेका छन् ।
जिन्दगीका दौडहरु
जीवनका वक्र-रेखकीय यात्राहरु
रुमल्लिरहेछ मान्छे हराउने सागरहरुमा
छातीभरि सञ्चित तृप्त-अतृप्त चहानाहरु
एक मुट्ठी सुस्ताउने विश्रामको श्वास-प्रश्वासहरु
कृतिम धूलाहरु र इञ्जिनका काला धूँवाहरुमा
तरलित भइरहेछ यो कंकृटको जंगलमा ।
मान्छेहरु
मान्छे हराउने सपनाको शहरमा
व्यस्त छन् अभ्यस्तछन
घाम उदाउँछ, अस्ताउँछ
कुनै हेक्का छैन ।
जिन्दगीका भोगाइहरु
जिन्दगी समाउने मान्छेहरुका दैनिकीहरु
यान्त्रिक भइरहेछ मान्छे बगाउने भेलहरुमा
स्वचालित छन् पाइलाहरु, तरलित छन् तृष्णाहरु
मनभरि सगरमाथाजत्रा उधारो सपनाका भारीहरु
हरपल आगो फुल्ने बालुवा र फलामसँग लाप्पा खेल्दै
काँडजस्तै हान्निरहेछ यो मायावी शहरमा ।
मान्छेहरु
मान्छेले मान्छे नचिन्ने यो घना वस्तीहरुमा
दिन र रात एक गरेर
मान्छे खोज्दैछन्, खोजिरहेकाछन्
खोज्नुको कुनै अर्थ छैन ।
यो अन्तहीन यात्राहरु
मान्छेहरु दौडिरहेका बाटाहरुमा
धेरै मान्छेहरु भेटिएका थिए जिन्दगीका मोडहरुमा
निस्सासिएका थिए, छट्पटिएका थिए आफ्नै अजङ्ग सपनाहरुमा
भन्दै थिए घरबाट आ’को अशक्त बाको पत्र पढ्या’ छैन
घरपटी हस्पिटल भर्ना भएको धेरै भयो जान भ्या’छैन
अरुको के कुरा, जिन्दगीले फड्को मारेको थाहा छैन,
ताँगामा नारिएको घोडाजस्तो
नेटको सञ्जालमा उनिएर अल्झिरहेजस्तो
अलामको खबरदारीसँग दौडिरहेछ यो सपनाको शहरमा ।
मान्छेहरु
मान्छे मोलतोल गर्ने शो केशको शहरमा
सजिएका छन्, सजाइएका छन्
काँचका सामान जस्तो, रबरका खेलौनाजस्तो
तोड्न पनि हुने, मोड्न पनि हुने
यो खुल्ला कमिशनको वजारमा ।
मान्छेहरु
यो कृतिम मानव सागरमा
जीवन -डुङ्गा चडेर सपना खोज्न हिँडेका क्याराभानहरु
सपना खोज्ने धेरै-धेरै कोलम्वसका अनुहारहरु
कोलम्वसहरु हराइरहेकाछन् सपनाहरु खोज्दा-खोज्दै
कोलम्वसहरु लुटिइरहेकाछन् नयाँ पिराटसहरुबाट जिन्दगी रोज्दा-रोज्दै
फूल्नुअगावै तुषारो र ठिहीले निमटेको कोपिलाजस्तै ।
आशा र आकांक्षामा बलात्कृत छन् मानवीय भावनाहरु
चिसिएकाछन् मान्छेका जिन्दगीका उत्कृष्ट चहानाहरु
कतै सिमेन्ट र बालुवाका भुइँहरुमा, कतै सागरका छालहरुमा
यो मायावी सपनाको शहरमा ।
[email protected]