दिलबहादुर लिम्वूको मुद्दा फैसला यसै महिनामा

दिलबहादुर लिम्वूको मुद्दा फैसला यसै महिनामा


श्रीमती र छोरीले परिचयपत्र पाउने प्रावधान नभएको खुलाशा
हङकङ । वहुचर्चित दिलबहादुर हत्या छानबिनको परिणाम यसै महिनाको अन्तिम सातासम्ममा आउन सक्ने बताइएकोछ । इस्टर्न कोर्टको १५ नम्वर अदालतमा गत वर्षको सेप्टेम्वरदेखि सुनुवाइ जारी रहेको मृत्यु छानबिन मुद्दामा सम्वन्धित सबै साक्षीहरुलाई बयान लिने काम सकिसकेको छ । त्यस्तै पक्ष तथा विपक्षका अधिवक्ताहरुको अन्तिम भनाइ जूरीहरु अगाडि राख्ने काम पनि गत मंगलबार समाप्त भएको छ ।
सोमवार मे २४ तारिख सोमवार सम्मलाई सुनुवाइ स्थगित गरिएको छ । आगामी सोमवारको सुनुवाइ यस मुद्दाको लागि अन्तिम तथा सबैभन्दा महत्वपूर्ण हुनेछ । किनभने मृत्यु छानबिन सुनुवाइ गरिरहेको कोरोनर विलियम विङ सिङवाईले त्यसदिन जुरीहरुलाई कुन कुरामा फैसला गर्ने भनेर निर्देशन दिनेछन् । उनले निर्देशन दिएको परिधिमा बाहेक बाहिर गएर जूरीहरुले मुद्दाको फैसला गर्न पाउने छैनन् । जूरीहरु रहे तापनि मुद्दा हराउने वा जिताउने जूरीहरुको हातमा नभई कोरोनरको हातमा रहन्छ । आगामी सोमबार विहान र मंगलबार विहान दुर्इ दिनसम्म कोरोनरले जूरीहरुलाई निर्देशन दिने कार्यक्रम रहेकोछ । यो सुनुवाइ सर्वसाधारणको लागि पनि खुल्ला गरिएकोले जो केाही पनि अदालतमा प्रवेश गर्न सक्नेछन् । जूरीलाई निर्देशन दिने काम मंगलबार विहान सकिएपछि सम्भवतः वुधबार २६ मेका दिन जूरीहरुले फैसला सुनाउनेछन् ।
जूरीहरुले कोरोनरबाट निर्देशन पाइसकेपछि उनीहरुले कुनै व्यक्तिहरुसँग सम्पर्क गर्न पाउँदैनन् । उनीहरुले फैसला नसुनाएसम्म छुट्टै कोठामा राखिन्छ ।
मुद्दा शुरु हुने वखत यस मुद्दामा ३ वटा विकल्पहरु रहेको कुरा कोरोनरले बताएका थिए । ती विकल्पहरु हुन्-
१) हत्या कानूनसम्मत
२) हत्या गैरकानूनी
३) थाहा छैन ।
अदालतमा मुद्दा सुनिरहेका कोरोनरले ती ३ वटै विकल्पहरु ज्ूरीको सामुन्ने राख्ने आशय व्यक्त गरिसकेकाछन् । जूरीहरुले यी तीनै विकल्पहरुमध्ये वहुमतले एक विकल्पलाई छान्नु पर्नेछ । यसो भए तापनि कसरी केको आधारमा निर्णय गर्ने निर्देशन दिन्छन्, त्यो जान्नलाई सोमबारसम्म पर्खनै पर्ने हुन्छ ।
स्मरण रहोस्, केही हप्ताअगाडि क्यारिटास अस्पतालको अगाडि ढलेर मृत्यु भएका एक व्यक्तिको मृत्यु स्वभाविक मृत्यु देखाई अस्पतालको दायित्व नभएको फैसला सुनाउन कोरोनरले जूरीहरुलाई वाध्यता बनायो । त्यस्तै अर्को मुद्दामा अस्पतालका डाक्टरले रगतको क्यान्सर रोगीलाई गलत र्सुइ लगाएर मृत्युको मुखमा पारेका थिए । यस मुद्दामा पनि दुर्भाग्यपूर्ण मृत्यु भन्दै अस्पताललाई दायित्वबाट पन्छाउने प्रयत्न गरिएको थियो ।
दिलबहादुरको मुद्दा पनि यसो नहोला भन्न सकिन्न । यदि यस्तो अवस्था आएमा के गर्ने र फैसलालाई कसरी लिने भन्ने विषयमा महासंघ र यहाँका स्थानीय सामाजिक कार्यकताहरुबीच छलफल भइरहेको छ ।
यो मुद्दा केवल मृत्यु छानबिन गर्ने मुद्दा मात्र भएकोले यो मुद्दा हारे पनि जिते पनि सरकारसँग क्षतिपूर्ति वा लेनदेनको कारोवार हुनेछैन । यदि क्षतिपूर्तिको विषयमा जाने हो भने देवानी अदालत छुट्टै मुद्दा दायर गर्नुर्पने हुन्छ ।
मृत्यु छानबिन मुद्दाको फैसला नै कस्तो हुने हो – पुनरावेदन गर्ने हो वा उच्च अदालतमा लग्ने भन्ने कुरा अनिश्चित रहेको अवस्थामा क्षतिपूर्तिको मुद्दा कहिले र कसरी शुरु हुन्छ भन्ने कुरा भविष्यको गर्भमै रहेको छ ।
दिलबहादुर लिम्बूको हत्या भइसकेपछि उनका श्रीमती र नेपालमै जन्मेकी छोरीको हङकङ परिचयपत्रबारे के हुने भन्ने विषय हङकङको शीर्ष चर्चामा रहेको छ । यस सम्वन्धमा यहाँको विज्ञहरुसँग वुझ्दा हाल विद्यमान कानूनले श्रीमती तथा छोरी दुबैले हङकङको परिचयपत्र पाउने व्यवस्था नभएको भनेकाछन् । यस सम्वन्धमा एक्युट कन्सल्टेन्सीका सिनियर कन्सल्टेन्ट उत्तरमान लिम्बूले भन्छन् ” १९९७ जुलाई १ भन्दा पछाडि जन्मेका यहाँको स्थायी बासिन्दाका छोराछोरीहरुले स्थायी हङकङ परिचयपत्र पाउने व्यवस्था कानूनले गरेको छैन । उनीहरुलाई केवल डिपेन्डेन्ट भीसा मात्र पाउँछन् । ” दिलबहादुरकी छोरी तान्छोप्मा लिम्बू २००४को जनवरीमा जन्मेकी हुन् । दिलबहादुर र्राईको पत्नी सोनी र्राई र छोरी तान्छोप्मालाई डिपेन्डेन्ट गर्ने दिलबहादुर नै नरहेको अवस्थामा उनीहरुले परिचयपत्र पाउने सक्ने हङकङ कानूनमा प्रावधान नरहेको कुरा लिम्वूको राय रहेको थियो । उनकै भनाइमा यदि सरकारले दिलबहादुर लिम्बूकी छोरीमाथि उदारता अपनाउने हो भने विद्यार्थी भीसा दिन सक्ने प्रावधान अझै खुल्ला छ । छोरीले विद्यार्थी भीसा पाए भने आमा पनि अभिवावकको रुपमा बस्न पाउँछिन् । आमाछोरी ७ वर्ष बसेभने हङकङ स्थायी परिचयपत्र आदेदन गर्न हङकङ कानूनले रोक लाउने छैन ।
यसबाहेक सरकारले चाहेमा जुनसुकै देशको व्यक्तिलाई बसोबासको दिन सक्ने अधिकार पनि छ । -भूपेन्द्र,