मैले बुझेको वर्तमान

मैले बुझेको वर्तमान


– रीता गुरुङ,
जसरी ठण्डी बढ्दै छ विस्तारै
अनि मनको चिस्यान मौसमसँगै
सयपत्री र गोदावरीको उपस्थिति
समय हार्दिकताको सम्वाहक
बन्न नसकेका पलहरु,
जाँगरमा खडेरी लागेका क्षणहरु,
नियम भत्किने, बन्धन चुँडिने क्रमहरु,
मुटुभित्र आफ्नै सपनाहरुको
चिहान बोकेर हिँड्नेहरु,
सर्वत्र बढेका छन्,
कुनै उत्साह छैन
कुनै मार्ग दर्शन छैन
केवल छन् –
उकुसमुकुस र रित्तोपना,
दिशाहीन गोरेटाहरु,
स्खलन हुँदैछ, सार्थकताहरु,
मृत्युशैया छन् आदर्शहरु,
किनारा लाग्दैछन् मान्यताहरु,
भत्किँदैछन् विश्वासहरु,
फूलहरुमा बढ्दैछन् झुसिलकिराहरु,
झुसिलकिरा हटाउन होइन
फूललाई नै च्यात्नु पर्ने
परिवर्तन भएको छ,
घर भत्काएर मन्दिर बनाउन तम्सिनेहरु,
सपना र आकाँक्षा निमोठेर
आफ्ना रहरहरुको कठपुतली नचाउनेहरु,
छ्यास्छ्यास्ती भेटिन्छन्,
फलामबाट निस्किएका खियाहरुले
फलाम नै नस्ट भएजस्तै
फँस्दैछन् विस्तारै
समाज र थुप्रै बस्तीहरु,
समस्याको चक्रव्यूहमा
पीडाको रोगहरुले
कुँजो भएका छन्,
चपाएर मिल्काएको
चुइङ्गम भएका छन्,
मर्ने र मार्ने
कुद्ने र जुध्ने
प्रतिस्पर्धाका खेलहरु,
हेरी साध्य छैनर्
वर्तमानको छाया,
ढुङ्गा बनेर ठिङ्ग ठडिए पनि
समयको प्रवाहसँगै
ढुङ्गाका चेपहरु छिचोलेर
सातरङ्गी सपनाहरु बोकी
बगिरहेछ निरन्तर वर्तमान,
न समाधानको आशामा
न सहानुभूतिको प्रलोभनमा
कसैले चाहेर नचाहेर
रोकिने होइन वर्तमानर्
वर्तमान, हिँडिरहेछ भविष्य भेट्न
हिँडिरहेछ इतिहास बनाउन,
हिँडिरहेछ इतिहास बनाउन ।
-हङकङबाट