साकेला २०१० यूकेमा सम्पन्न

साकेला २०१० यूकेमा सम्पन्न


लण्डन । यही शनिबार २९ तारिख एल्डरसटमा किरात राई यायोक्खा यूकेको संयोजनमा साकेला सम्पन्न भएको छ । रामधन राईको अध्यक्षतामा रहेको सो भेलालाई जगत नवोदिनले सञ्चालन गरेका थिए भने संस्थाका महासचिव पदम बहादुर राईले साकेलाको गृष्मकालीन सन्दर्भको चर्चा गर्दै यूकेका विभिन्न शहरहरुबाट सो भेलामा उपस्थित भएका राईहरुलाई स्वागत गरेका थिए ।

स्कुलको खुल्ला चउरमा बच्चाबच्ची, तन्नेरी तथा वृद्धवृद्धाहरु सामूहिक रुपमा गोलबद्ध भई सिलि नाचिरहेका थिए, जसलाई एक निरिक्षण टोलीले सूक्ष्म नजर लगाइरहेको थियो । सिलिको प्रतियोगितालाई पनि सञ्चालन गरिएकोले सो गरिएको जनाइएको थियो ।

बीबीक्यूसहितको सो राई भेलामा यूकेबासी क्षेत्रीय राईका संस्थाहरु भेला भएका थिए । राईहरुको रीतिथितिअनुसार, खडेरीलाई भगाई वर्षालाई स्वागत गर्नको लागि नाचिने यस साकेलाको लगभग हरेक यस दिनको अवसरमा वर्षा हुने मानिए जस्तै सोही दिन हल्का पानी परेको थियो र पनि राईहरुका उत्साहमा कुनै कमी आएको थिएन ।

आफ्नो संस्कृतिमा राईहरुका नयाँ पुस्ताहरु पनि उत्साहित मूद्रामा सिलि नाचिरहेका थिए, जसलाई पुरानो पुस्ता निक्कै सन्तुष्टीपूर्वक नियालिरहेका थिए ।

राजदूत सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा संचालित सो कार्यक्रममा तमू धीं यूकेका अध्यक्ष सुवास गुरुङ, तमू प्हृयेलूसंघ यूकेका अध्यक्ष जगत गुरुङ, यनआरयनका प्रतिनिधि महेन्द्र कंडेल आदि अन्य अतिथिहरु रहेका थिए ।

कार्यक्रमलाई पत्रकारिताको हकमा कभर गर्न गएका पत्रकारहरुलाई सो कार्यक्रमको बारेमा गलत वा अनर्गल नलेख्न समितिका सदस्य मणि र्राईले बाराम्बार चेतावनीको शैलीमा सुझाइरहेका भए तापनि कार्यक्रममा पार्किङलाई प्रवन्ध गर्ने पक्षको अनुपलब्धता वा कमजोरीमा केही अप्ठ्यारो भएकोबाहेक अन्य अप्रिय वा गलत लेखिनलायक केही रहेको थिएन ।-मे.स.

वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । तस्वीरः याम तमू