नेपाल पनि चाईनाको टूर प्याकेजमा संलग्न

नेपाल पनि चाईनाको टूर प्याकेजमा संलग्न


हङकङ, चिनियाँ अधिकारी र पर्यटन व्यवसायी नेपाल–चीन दुवै देशको हित हुनेगरी पर्यटन प्याकेज कार्यक्रम बनाउन तयार भएका छन्। चिनको क्षिण-पूर्वी प्रान्त फुजियानमा आयोजित पर्यटन प्रवर्द्धन कार्यक्रममा चीन र नेपालका आकर्षक पर्यटन स्थललाई समेटेर प्याकेज बनाउन उनीहरू तयार भएका हुन्।

नेपाल पर्यटन वर्ष २०११ मा एक लाख चिनिया पर्यटक उतार्ने लक्ष्यसहित चीनका दूतहरू पर्यटन प्रवर्द्धनमा सक्रिय भएका छन्। बेइजिङस्थित दूताबासका अनुसार सन् २००९ मा ३५ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए।

दूताबासले गत साता फुजियान प्रान्तको स्यामनमा आयोजना गरेको अन्तर्क्रियामा राजदूत टङ्क कार्कीले चीन र नेपाल दुवै देशलाई समेट्ने गरी ‘टुर प्याकेज’ बनाउन स्थानीय अधिकारी र पर्यटन व्यावसायीलाई आग्रह गरे। उनले भने- ‘तिब्बतको राजधानी ल्हासासँग कम्तिमा काठमाडौँ, लुम्बिनी र पोखरालाई जोडेर प्याकेज टुरको कार्यक्रम बनाए दुवै देशको प्राकृतिक तथा साँस्कृतकि पक्ष उजागर गर्न सकिन्छ।’

महावाणिज्य दूत उपाध्यायका अनुसार फुजियानका बौद्धमार्गी लुम्बिनी भ्रमण गर्न इच्छुक भएकाले ‘एयर प्याकेज’ सहितको कार्यक्रम बनाउन सके त्यहाँबाट धेरै पर्यटक नेपाल लैजान सकिन्छ। त्यहाँका अधिकारीहरूले नेपालमा राजनीतिक स्थायित्व भएमा मिलेर काम गर्न सकिने जानकारी दिएको उपाध्यायले बताए। ताइवानबाट मुख्यभूमि छिर्ने ‘गेट वे’ भएकाले स्यामन दक्षिण-पूर्वी चीनको महत्त्वपूर्ण पर्यटकीय सहर मानिन्छ। -पूर्ण बस्नेत