किन तोडियो सुपरस्टार मेसीको प्रतिमा

किन तोडियो सुपरस्टार मेसीको प्रतिमा


अर्जेन्टिनाका विश्वचर्चित फुटबल स्टार लियोनल मेसीको प्रतिमा तोडफोड गरिएको छ । ब्युनर्सआयर्समा रहेको मेसीको प्रतिमा तोडफोड गरिएको सिन्ह्वाले जनाएको छ । मेसीको प्रतिमा तोडफोड गरेर भुइँमा लडेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भए पनि यसबारे प्रहरी–प्रशासनले कुनै जानकारी नगराएको सिन्ह्वाले जनाएको छ । कसले यो घटना घटायो, त्यसको पहिचान पनि हुन सकेको छैन ।

गत जनवरीमा मेसीको यो प्रतिमाको अज्ञात समूहले तोडफोड गरेको थियो । त्यसबेला कम्मरभन्दा माथि भाँचेर दुई टुक्रा पारिएको थियो । पहिलोपटक यसरी मेसीको प्रतिमा तोडफोड भएपछि प्रशासनले त्यसको मर्मत गरी पुनः स्थापित गरेको थियो ।

मेसीको यो प्रतिमा व्युनर्सआयर्सको वाकवे अफ ग्यालरीमा छ । मेसीको उक्त प्रतिमा सन् २०१६ मा शहरका मेयरले स्थापित गरेका थिए । यो ठाउँमा मेसीलगायत अर्जेन्टिनाका चर्चित खेलाडीको प्रतिमा स्थापना गरिएको छ । जसमा सन् १९८६ का विश्वकप फुटबल विजेता टिमको प्रमुख खेलाडी डियागो म्यारोडोना र फर्मुला वानका च्याम्पियन जुआन मैनुएल फांगियोको पनि प्रतिमा राखिएको छ ।

अर्जेन्टिनामा म्यारोडोनापछि मेसी सबैभन्दा लोकप्रिय खेलाडी हुन् । हालै विश्वकप छनोट प्रतियोगितामा गर कि मरको अवस्थामा रहेको अर्जेन्टिनालाई विश्वकपमा पु¥याउन मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए । इक्वोडरसँग भएको उक्त अन्तिम खेलमा मेसीले ह्याट्रिक गरेका थिए । उक्त खेल अर्जेन्टिनाले ३–१ ले जित्दै आगामी वर्ष रुसमा आयोजना हुने विश्वकपमा छनोट भएको थियो ।

स्मरण रहोस्, गत वर्ष कोपा अमेरिकी फुटबल कपमा फाइनलमा चिलीसँग पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । पछि देशवासीको अनुरोधमा उनी राष्ट्रिय टिममा फर्किएका थिए ।