लमजुङमा १९ उम्मेदवारको धरौटी जफत

लमजुङमा १९ उम्मेदवारको धरौटी जफत


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका लमजुङका १९ उम्मेदवारको धरौटी जफत भएको छ । खसेको कूल सदरमतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानूनबमोजिम राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारको धरौटी जफत भएको हो ।

सो जिल्लामा प्रतिनिधिसभातर्फ एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेकामा नौ जनाको धरौटी जफत भएको छ । प्रदेशसभा (क)बाट उम्मेदवारी दिएका छ जनामध्ये चार र (ख)बाट आठमध्ये छ जनाको धरौटी जफत भएको हो । लमजुङ जिल्लामा नेकपा एमालेका दुई, नेपाली कांग्रेसका तीन र नेकपा (माओवादी केन्द्र)का एकजना उम्मेदवारको मात्र कानूनबमोजिम धरौटी जफत नभएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । धरौटी जफत हुने उम्मेदवारले प्रतिनिधि र प्रदेशसभातर्फ खसेको कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेका हुन् । प्रतिनिधिसभातर्फ मत ७७ हजार १६४ मत खसेकामा ७४ हजार ५८० मत सदर भएको थियो ।

यस्तै प्रदेशसभा (क)तर्फ ३६ हजार ८७१ मत खसेकामा ३५ हजार ३९७ मत सदर भएको थियो भने प्रदेश सभा (ख)तर्फ ४१ हजार २७२ मत खसेकामा ३९ हजार ४४७ मत सदर थियो । प्रतिनिधिसभामा धरौटी जफत हुनेमध्ये पनि सबैभन्दा बढी मत नेकपा जनसमाजवादी पार्टीका निरजन कुँवरले एकहजार ४०० मत ल्याएका छन् ।

प्रदेश (क)मा नयाँ शक्ति पार्टीका राजु थापाले ४९९ र प्रदेश (ख)मा स्वतन्त्र उम्मेदवार उत्तम गुरुङले ३२३ मत ल्याएका थिए । अन्यले सो बाहेक कम मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।