प्रदेश नं ३ को राजधानी भक्तपुर बनाउन लागिपरे महेश

प्रदेश नं ३ को राजधानी भक्तपुर बनाउन लागिपरे महेश


निर्वाचन सम्पन्न भएलगत्तै प्रदेशसभाको गठन, प्रदेशको राजधानी जस्ता मुद्धामा तीव्र वहश शुरु भएको छ । यसका लागि राजनीतिक उच्च तहमा बेग्लै छलफल शुरु भएको छ भने स्थानीय तहबाट आ आफ्नो क्षेत्रमा प्रदेशको राजधानी कायम गराउन बेग्लै लबिङ चलिरहेको छ ।

यसैक्रममा भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित भएका नेकपा (एमाले)का सांसदहरुले भक्तपुरलाई नै प्रदेशसभाको राजधानी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा सांसदहरुले भक्तपुर प्रदेश नं. ३ को केन्द्र पर्ने र यहाँ पर्याप्त सार्वजनिक स्थल पनि भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी निर्माणको पहल गर्ने दाबी गरेका हुन् ।

यस विषयलाई पहिलेदेखि नै आफ्नो एजेण्डा बनाउँदै आएका महेश बस्नेतले भक्तपुर २ नं को प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएपछि झनै चर्काउने तयारी गरेका छन् । युवा नेता बस्नेतले भक्तपुरको सानोथिमी क्षेत्र, सल्लाघारीको ९९ रोपनी जमिन, जगातीको इँट्टा, टायल कारखानालगायतका क्षेत्रमा ३ नं प्रदेशको राजधानी निर्माण गर्न उपयुक्त स्थान भएको बताए । भक्तपुरलाई ३ नं प्रदेशको अस्थायी राजधानी तोक्नका लागि आफू निर्वाचित भएपछि मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवसँग कुरा गरिसकेकाले अब भक्तपुरमा नै अस्थायी राजधानी हुने दाबी गरे ।

सोही अवसरमा भक्तपुर २ नं निर्वाचन क्षेत्र प्रदेशसभा ‘क’ बाट निर्वाचित शशीजंग थापाले अब भक्तपुर नै ३ नं प्रदेशको राजधानी हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरे । भक्तपुर शान्त, सुन्दर हुनुका साथै पर्याप्त सार्वजनिक स्थान भएकाले यहाँ नै प्रदेशसभाका राजधानी हुने उनको तर्क थियो । भक्तपुर २ नं निर्वाचन क्षेत्र प्रदेशसभा ‘ख’ बाट निर्वाचित राजेन्द्रमान श्रेष्ठले पनि बोडेको कृषि विकास तालीम केन्द्र र सानो थिमीस्थित शिक्षा विभागको क्षेत्रका र खरिपाटीको विद्युत् प्राधिकरणको तालीम केन्द्रमा ३ नं प्रदेशका कार्यालयहरु राख्न सकिने धारणा अघि सारेका थिए ।