श्रीमतीलाई समेत ठग्ने नटवरलाल

श्रीमतीलाई समेत ठग्ने नटवरलाल


सिन्धुपाल्चोकको माङखानिवासी तुलबहादुर तामाङले फेसबुकमार्फत् सम्पर्क बढाई संखुवासभा माकल गाउँपालिकाकी मनकला गुरुङसँग वैवाहिक सम्बन्धसमेत जोडे । विवाहलाई नेपाली समाजमा एक पवित्र बन्धनका रूपमा लिइन्छ, मनकलाले पनि तुलबहादुरसँगको सम्बन्धलाई पवित्र र जन्म–जन्मको बन्धनको रूपमा स्वीकार गरिन् । तर, ३३ वर्षीय तुलबहादुरको हृदय भने सङ्लो रहेनछ । विवाहजस्तो सम्बन्धलाई समेत उसले ठगी खाने माध्यम बनाएको मनकलाले निकै पछि चालपाइन्, त्यो पनि आफ्नै दाजुभाइलाई श्रीमान भनाउँदोले ठग्न थालेपछि ।

फेसबुकमार्फत सम्पर्क बढाई विवाह समेत गरी उनकै नातेदारलाई ठगी गरेको अभियोगमा भक्तपुर च्याम्हासिंह बस्ने तुलबहादुर तामाङलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सिन्धुपाल्चोकको माङखाबाट पक्राउ गरेको छ । निजले मनकलाकै नातेदार राजेश गुरुङ र कैलाश गुरुङलाई युएस आर्मीमा जागिर लगाइदिन्छु भनी प्रलोभन देखाई २१ लाख रुपैयाँ लिएर ठगेका थिए । प्रोसेसको लागि काठमाडौँ बोलाई पीडितहरू एवम् आफ्नै श्रीमतीसँग समेत सम्पर्कविहीन भई तामाङ फरार भएका थिए । सो जानकारीसहितको उजुरी प्राप्त भएपछि अनुसन्धानको क्रममा प्रहरीले उनलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

तामाङले यसअघि फेसबुकमार्फत साथी बनाई लेवनानमा रहेकी सिन्धुपाल्चोककै सिर्जना दोङसँग डिपेन्डेन्ट भिषामा अमेरिका लैजाने भनी ९ लाख, सिर्जनाका भाइ संजय दोङ र मिम लामालाई क्यानडा पठाउने भनी १३ लाख रुपैयाँ र साइप्रसमा रहेकी कुसुम लामालाई क्यानडा जाऔँ भन्दै नेपाल बोलाई ९ लाख रुपैयाँ ठगी गरेका थिए । तामाङलाई उक्त ठगी मुद्दामा २०७३ श्रावण महिनामा पक्राउ गरी कारवाही भएकोमा केही समय थुनामा बसी धरौटीमा छुटेपश्चात पुनः ठगी धन्दा सुरु गरेको प्रहरी अनुसन्धाबाट खुल्न आएको छ ।