बेलायतमा १०१औं देवकोटा जयन्ती

बेलायतमा १०१औं देवकोटा जयन्ती


लण्डन । हिजो २८ नवम्बर २०१०, आइतबार अपरान्ह दिउँसो २ बजे देखि ६ बजेसम्म महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०१औ जयन्ती अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयोजनमा विभिन्न संघ-सस्थासँग आबद्ध साहित्यकारहरु, साहित्यप्रेमीहरु, पत्रकारहरु तथा अतिथिहरुको उपस्थितिमा भव्यताका साथ लण्डनस्थित, इलिङ ब्रोड-वेको ओरियण्टल वफेमा मनाएको थियो । कार्यक्रमको उद्धोषिका लक्ष्मी थापा राई (लारा)ले अन्यन्त प्रभावशाली तथा रोचकताका साथ लगभग चार घण्टालामो कार्यक्रमलाई साहित्यकारहरु र साहित्यप्रेमीहरुका लागि साहित्यसँगको भावनात्मक लगाव र सेतु बनेर कार्यक्रम संचालन गरेकी थिईन् ।
कार्यक्रमको शुरु १२ बजे भनिय तापनि अतिथिहरु र अन्य सहभागीहरुको आगमानमा अलि ढिलाइ भएको कारण कार्यक्रम २ बजेदेखि मात्र सञ्चालन गरिएको थियो । कार्यक्रमको सभापतित्व अनेसास बेलायत च्याप्टरकी कावा अध्यक्ष नीला अधिकारीले गरेकी थिईन् भने कार्यक्रमको प्रमुख अतिथिको आसनमा कवि ईश्वर मानन्धर रहेका थिए र विशेष अतिथिहरुमा नेपालबाट आएका साहित्यकार डा. विश्व मोहन श्रेष्ठ र डा. देवी सुवेदी थिए । मेरो यूके डट कमका प्रतिनिधि तथा बेलायत प्रतिभा प्रतिष्ठानका अध्यक्ष, क्रमशः सुमल कुमार गुरुङ र नरेश काङवाङलाई आ-आफ्नै स्थानमा आसन ग्रहण गरिएका थिए । विभिन्न संघसंस्थाबाट आएका सहभागीहरुलाई आसन ग्रहण गराएपश्चात् दीप प्रज्वलन तथा महाकवि देवकोटाको तस्वीरमा प्रमुख अतिथि, विशेष अतिथिहरु तथा उपस्थित सहभागीहरुद्वारा माल्यार्पण पुष्पाञ्जली दिएका थिए ।
कार्यक्रममा विशेष अतिथिद्वयलाई दोसल्ला ओढाएर तथा पुष्प गुच्छको भेट दिएर सम्मान गरिएको थियो । सामूहिकरुपमा नेपालको राष्ट्रिय गान गाएर कार्यक्रमलाई सञ्चालिकाले अघि बढाएकी थिईन् । तर, विडम्बना नेपालको राष्ट्रगान धेरैलाई कण्ठष्थ थिएन । कार्यक्रम संचालनको क्रममा कवि हरिसिंह थापालाई पनि उनको साहित्य क्षेत्रमा योगदानका लागि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
हिजोको कार्यक्रमको आयोजना अनेसासकी केन्द्रीय उपाध्यक्ष जया राईको संयोजनमा भएको कुरा स्वागत मन्तव्य प्रकट गर्ने क्रममा जया राईले प्रकाश पारेकी थिईन र अनेसासबारे पारदर्शिता र अनियमितता नहुनु पर्ने धारणा व्यक्त गरेकी थिईन् । उक्त सम्बोधनमा तिनले अब छिट्टै बेलायत च्याप्टरका लागि कार्यकारी समितिको चयन गरिनेछ भनेर प्रकाश पारेकाथिईन् । यसै अवसरमा तिनले अनेसासका केन्द्रीय अध्यक्षले पठाएका सन्देश वाचन गरेर दर्शकलाई सुनाएकी थिईन् ।
चारघण्टाको कार्यक्रममा गोपीकृष्ण प्रसाईले देवकोटाको जीवनीलाई सबै कोणबाट समेटेर प्रकाश पार्दै आफ्नो एउटा कविता सुनाएका थिए । विशेष अतिथिहरुको परिचय डाक्टर रुपक श्रेष्ठले ईन्द्रको अघि स्वर्गको बयान भन्ने उक्तिको साथ परिचय दिँदा कार्यक्रमलाई थप उर्जा मिलेको थियो र उनले आफ्नो गजल र कविताबाट माहोल तताएका थिए । आफ्नो छोटो मन्तव्य र कविता वाचन गर्ने सिलसिलामा नरेश काङवाङले बेलायत प्रतिभा प्रतिष्ठानबाट अब रचनाकारहरुलाई रु.एकलाख एक रकमको पुरस्कार दिने कुरा प्रकाश पारेका थिए र नेपाली साहित्यलाई विदेशमा फस्टाउनको लागि भावी सन्ततीहरुलाई साहित्यतर्फ विशेष लगाव गराउनुपर्छ भनेर मन्तव्य दिएका थिए । त्यस्तै देवेन्द्र खेरेसले राज्यबाट पनि हेरविचार गर्नुपर्ने कुरा व्यक्त गरेका थिए । बीचबीचमा कविता वाचन र मन्तव्यहरु प्रकट गर्दै सञ्चालन भएको कार्यक्रममा कविता वाचन र मन्तव्य प्रकट गर्ने कवि र कवियत्रीहरुमा दीपक कोइराला, डाक्टर रुपक श्रेष्ठ, प्रतिभा बोहरा, सुमल कुमार गुरुङ, देवेन्द्र खेरेस, नरेश काङमाङ, भोजराज बराल, मिजार तेम्बे, अस्मिता भण्डारी, मुकेश, बेलबासे, अनिता शिमखडा, हरिसिंह थापा र लाराले पनि रोचक कविता वाचन गरेका थिए । वातावरण कवितामय बनेको थियो । धेरै समयपछि स्तम्भकारलाई बेलायती परिवेशभित्र उच्चकोटीका रचनाहरु सुन्ने अवसर प्राप्त भएकोमा खुशीको अनुभूति भएको थियो । सबैलाई समयले लघारिरहेको थियो । विशेष अतिथिद्वयले आ-आफ्नो मन्तव्यको क्रममा नेपाली साहित्यलाई उर्बर बनाउनको लागि र भावी सन्ततीलाई नेपाली साहित्य हस्तातरण गर्नको लागि सबैको योगदान आश्यक रहेको कुरा सम्प्रेषन गरेका थिए । नेपाली साहित्य डायोस्परिक विश्लेषणभन्दा माथि रहेर नेपालित्व बोकेको साहित्यको खाँचो रहेको विचार डाक्टर विश्व मोहन श्रेष्ठले व्यक्त गरेका थिए र अनेसासका लागि नेपाल तथा सम्पूर्ण विश्वभरि छरिएर रहेका साहित्यकारहरुका योगदानको अवश्य रहेको विचार डाक्टर देवी सुवेदीले व्यक्त गरेका थिए । सोही अवसरमा प्रमुख अतिथि, विशेष अतिथिहरुका बाहुलीबाट केदार संकेतद्वारा लिखित नियात्रा एथेन्सको झरीको लोकार्पण गरिएको थियो । यस पुस्तकको समीक्षा होम परिवागद्वारा गरेका थिए । होम परिवागकाअनुसार पुस्तक पठनीय तथा यथार्थताको दायराभित्र रचिएकोले रोचक तथा नेपाली साहित्यमा नौलो प्रयोग भएको बताएका थिए । कार्यक्रमको अर्को चाखलाग्दो विषय अनेसास लाइब्रेरीलाई पुस्तक हस्तान्तरण गरिएको थियो । आफूलाई मनपर्ने पुस्तकहरुको संकलन खगेन्द्र पाठकले अनेसास पुस्तकालयलाई बालकपनदेखिको अभिरुचीलाई उद्धृत गर्दै हस्तान्तरण गरेका थिए । सबै सहभागीहरु ट्युब स्ट्राइकको कारणले गर्दा आ-आफ्नो गन्तव्य पुग्ने हतारमा थिए । अन्तमा प्रमुख अतिथिको छोटो भनाइ राख्दै कार्यक्रमको सभापति नीला अधिकारीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिईन् । -सुमल, मेस ।