एउटी वेश्याको बयान

एउटी वेश्याको बयान


– योगेश ढकाल,

कसैद्वारा जबर्जस्ती भोगिएकी
कसैद्वारा जबर्जस्ती तिरस्कृत
नारीत्व, अस्मिता, सतित्व गुमाइएकी
म एउटी अबला वेश्या हुँ ।

हो, महासय !

यौवनमाथि गाडिएका आँखाका डोबहरूले
षड्यन्त्रको कालोपर्दाभित्र तुनिएका जालहरूले
नारीत्वमाथि हानिएका कामुक वचन वाणहरूले
मेरो सतित्व लुट्नु लुटे,
र, अस्मितामाथि खेल्नु परेड खेले,
आश्वासनमा तोरी फुलाउनेहरूले
चट्टानमा मूल फुटाउनेहरूले
खोइलामा रस भर्नेहरूले
बलिङ गरे, ब्याटिङ गरे
कतिले रन लिए, कतिले विकेट लिए
चौका र छक्का पनि लिए ।

हो, महासय

म एउटी अबला वेश्या हुँ ।
लोग्ने भनाउँदा यौनपिपासुहरू
पातकी दृश्यपिशाचहरू
दानवरूपी समाजका र्सपहरू
नारीलाई बजारको पुतली बनाएर
कुमारीत्व लुट्दै हिंड्छन्,
अस्मितामाथि परेड खेल्दै हिंड्छन् भने
महासय, चरित्रहीन र वेश्या
ती चाहिं किन कहलाइँदैनन् ?
समाजमा तिरस्कृत हुँदैनन् ?
के तिनीहरूमा कुमारत्व हुँदैन ?
इज्जतलाई बन्धकी राखेर कोठी धाउने नै
किन चरित्रवान ठानिन्छन् ?
निरीह, निमुखा दरिद्र नारीमाथि
अन्याय, अत्याचारमात्र गरिएको छैन
जीर्ण तनलाई गलहत्याइएको छ
जीवन जिउने सूत्र भत्काइएको छ
नारीहरू, अब उठ
द्रौपदी र सीतालाई वेश्या नदेख्ने

महासयहरूविरुद्ध
राँको लिएर उठ
कि सल्काउँछौं कि सल्किन्छौं
हमर लिए उठ,
कि फुटाल्छौं कि फुटालिन्छौं
नारीत्व सुरक्षार्थ नारीहरू उठ
निर्लज्जहरूको साम्राज्य भत्काउन उठ !