प्रहरी चौकीलाई एकल महिलाद्वारा जग्गा दान

प्रहरी चौकीलाई एकल महिलाद्वारा जग्गा दान


जुम्लाको सिंजा क्षेत्रकी एक स्थानीय एकल महिलाले प्रहरी चौकी गुठिज्यूलालाई रु २२ लाख बराबरको जग्गादान गरेकी छिन् ।

कनकासुन्दरी गाउँपालिका–५ का स्थायी निवासी देवीकन्या उपाध्यायले आफ्ना स्वर्गीय पति लक्ष्मीनारायण उपाध्यायको सम्झनामा जग्गादान गरेकी हुन् ।

नाग्म–मुगु–गमगढी राजमार्गसँग जोडिएको ६४५ वर्गमिटर क्षेत्रफलको जग्गा तीनै छोराको सहमतिमा प्रहरी चौकीलाई निःशुल्क प्रदान गरिएको माइला छोरा मच्छिन्द्रप्रसाद उपाध्यायले बताए ।

देवीकन्याले छोरा पृथ्वीनारायण, मच्छिन्द्र र धनन्जय उपाध्यायसहितको सहमतिमा जग्गा उपलब्ध गराएको बताएका छन् । छोरा मच्छिन्द्रले बुबाको सम्झना इतिहासका थुप्रै कालखण्डमा रहिरहोस् भनेर बिनास्वार्थ आफूहरुले जग्गादान गरेको यद्यपि स्मृतिस्वरुप सानो सालिक निर्माण गर्न जिल्ला प्रहरी कार्यालय, जुम्लालाई अनुरोध गरिएको पनि बताए ।

लामो समयदेखि भाडाको भरमा काम गर्दै आएको गुठिज्यूला स्थायी प्रहरी चौकीलाई उपाध्याय परिवारले ६४५ वर्गमिटर जग्गा उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिइन् ।

उपाध्याय परिवारप्रति कृतज्ञता प्रकट गर्दै प्रनाउ दाहालले भने, ‘उपाध्याय परिवारले दिल खोलेर करिब रु २२ लाखको जग्गा चौकीलाई निःशुल्क प्रदान गरेको छ, यसका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।’

आफ्नै भवन नहुँदा विभिन्न सास्ती खेप्दै आएको राजमार्ग छेउको यो प्रहरी चौकीको लागि अब भने आफ्नै भवन निर्माण गर्ने बाटो खुलेको उनले बताए । उपाध्याय परिवारको यो सहयोगको उच्च कदर गरिने उहाँको भनाइ छ ।

दर्जनभन्दा बढी प्रहरी चौकी भाडाकै घरमा

इलाका प्रहरी कार्यालय, हाडसिंजा, जुम्लासहित यहाँका १४ वटा प्रहरी चौकी भाडाकै भरमा सञ्चालन हुँदै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

विभिन्न झञ्झटबाट मुक्त हुन अहिले आफ्नै जग्गाका लागि जिप्रका जुम्लाले अभियान थालेको छ । १४ प्रहरी चौकीमध्ये कनकासुन्दरी–५ स्थित गुठिज्यूला प्रहरी चौकीले भवन बनाउने अवसर मिलेको बताएको छ ।

प्रहरी नायब उपरीक्षक डा दाहालका अनुसार गुठीचौर गाउँपालिकाको मणिसाँघु र तातोपानी गाउँपालिकाको ताम्ती प्रहरी चौकीका लागि जग्गाको पहल भइरहेको छ । राससका अनुसार हाल निःशुल्क जग्गा प्राप्त गरेको गुठिज्यूला प्रहरी चौकी सिंजाको सिरान र रारातालको बेसक्याम्पका रुपमा मानिन्छ ।