चालीस बालबालिकालाई राहत वितरण

चालीस बालबालिकालाई राहत वितरण


ग्रामीण तथा शहरी विकास नेपालले झापाको कचनकवल, बाह्रदशी र हल्दिवारीका ४० जना बालबालिकालाई जनही रु पाँच हजारका दरले राहत वितरण गरेको छ ।

युनिसेफको सहयोगमा महिला तथा बालबालिका कार्यालय, झापाको प्राविधिक सहयोगमा सो संस्थाले तीनवटै गाउँपालिका कार्यालयमा गई राहत वितरण गरेको हो ।

बाढी प्रभावित तथा विस्थापित बालबालिका र परिवारलाई हिंसा र शोषणबाट बचाउने प्रभाव न्यूनीकरण परियोजनाअन्तर्गत यो राहत वितरण गरिएको संस्थाकी अध्यक्ष वसन्तलक्ष्मी उदासले जानकारी दिए ।

संस्थाले झापाका एक नगरपालिका र छ गाउँपालिकामा बाढीबाट पीडित भएका अतिविपन्न तथा विस्थापित १०० जना बालबालिकालाई जनही रु पाँच हजारका दरले राहत वितरण गरेको संस्थाका कार्यक्रम संयोजक पुष्प संग्रौलाले जानकारी दिए ।

दमकमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले बाढी पीडितलाई तत्काल राहत वितरण गरी मनोसामाजिक सेवा समेत उपलब्ध गराएको थियो ।

राससका अनुसार संस्थाले शिवसताक्षी नगरपालिका, कमल, गौरीगञ्ज गाउँपालिकामा र शुक्रबार झापा गाउँपालिकामा बाँकी ६० जनालाई राहत वितरण गर्ने कार्यक्रम तय गरेको छ ।