दीपिकाका मतियार प्रहरी नियन्त्रणमा

दीपिकाका मतियार प्रहरी नियन्त्रणमा


कृषि विकास बैंक लिमिटेड रामशाहपथ काठमाडौंको मुख्य शाखा कार्यालय न्युरोडबाट अन्तरशाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई बैंकको रकम एक–आपसमा मिलेमतो गरी बैंकलाई नोेक्सानी पु¥याउने उद्देश्यका साथमा बैंकको मौज्दात रकम करिब ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका प्रतिवादीहरूमा कृषि विकास बैंक मुख्य शाखा न्युरोडका कामु मुख्य शाखा प्रबन्धक रामेछापका ४७ वर्षीय प्रेमहरि ढुङ्गेल, सोही मुख्य शाखाका ईसीसी प्रमुख काठमाडौंको टोखा नगरपालिका–८ ग्रिनल्यान्ड बस्ने गोरखाको पालुङटारका ५६ वर्षीय गोपाल गिरी र सोही मुख्य शाखाका कर्जा प्रमुख काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने गोरखा बक्राङ–२ का ३९ वर्षीय महेश्वर मरहट्टा रहेका छन् ।

प्रतिवादी दीपिका रेग्मीसमेत भएको बंैंकिङ कसुर मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेकी दीपिकाको बयानका आधारमा बैंकको उक्त शाखामा अनियमिततामा संलग्न रहेको खुलेका उनीहरूको खोजतलास गर्ने क्रममा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं न्युरोडबाट गत आइतबार उनीहरूलाई पक्राउ गरेको हो ।

विभिन्न व्यक्ति वा संस्थाले विभिन्न बैंकको चेकमार्फत उक्त बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रोनिक्स चेक क्लियरेन्स (ईसीसी)मार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गरेपछि सोही चेकलाई प्रयोग गरी पुनः कोर बैंकिङ सिस्टमबाट गैरकानुनी रूपमा दीपिका रेग्मी तथा आफन्तको नाममा जम्मा गरी प्रतिवादीहरू प्रेमहरि, गोपाल र महेश्वरसमेतले रकम हिनमिना गरी बैंकलाई नोक्सान पु¥याएको हालसम्मको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ प्रतिवादीका सम्बन्धमा उच्च अदालत पाटनबाट सोमबार ७ दिनको म्याद थप भई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको उक्त ब्युरोले जनाएको छ ।