हराउनेहरुको देश

हराउनेहरुको देश


-काली प्रसाद रिजाल,
यो हराउनेहरुको देश हो
यो बेपत्ता भएकाहरुको मुलुक हो
यो बादलपारिको
हराउँदै गैरहेको देश हो ।

हरेक युद्धमा यो देशले आफ्ना मान्छेहरु हराउँछ,
हरेक लडाइँले यो देशलाई उजाड बनाउँछ
बाढी जहाँ जता आए पनि
पहिरो यही देशमा गैरहेको हन्छ
जसले जहाँ विजय हासिल गरे पनि
पराजित यही देश भैरहेको हन्छ

यहाँ एकाबिहानै केटाकेटीहारु फोहोरमैलाको थुप्रोमा
आफ्नै भविश्य खोजिरहेका हुन्छन्
यहाँ क्याबिन रेस्टुरेन्टमा चेलीबेटीहरु
आफ्नो अस्मिता खोजिरहेका हुन्छन्
आफैँलाई अपहरण गरिरहका हुन्छन्
यहाँ मान्छेहरु आफैँले,
आफैलाई बेपत्ता बनाईरहेका हुन्छन्
यहाँ मान्छेहरु आफैँले,

जन्मदा नजन्मदै यहाँ
कोखको शिशु हराइसकेको हुन्छ
बिहे गर्दा नगर्दै यहाँ
सिँन्दुर हराइसकेको हुन्छ
छिँडीमा बस्नेहरुको
यहाँ घाम हराएको छ
बेरोजगारहरुको
यहाँ काम हराएको छ
हरेक दिन यहाँ मान्छेको
राहदानी हराउँछ
हरेक दिन नदीनालाहरुको
पानी हराउँछ

जति नै स्वतन्त्र भने पनि
यो देशले
स्वाधीनता हराएको छ
जति नै निडर, निर्भीक भने पनि
यो देशले
आफ्नो आवाज हराएको छ

यो देशको इतिहासका पानाहरु
हराउँदै गैरहेका छन्
धेरै भयो यहाँका मन्छेहरुको
ओठबाट मुस्कान हराएको
धेरै भयो यहाँका आँखाहरुबाट
सपना हराएको
हिँडदा हिँड्दै हिँडेको
बाटो हराउँछ यहाँ
एक्कैछिनमा उभिएको
माटो हराउँछ यहाँ

युवाहरुको अनुहारुमा
यहाँ कान्ति हराएको छ
बुद्ध जन्मेको यो देश
यहाँ शान्ति हराएको छ

यो देशमा चोर कोही पल्केको छ
यो देशमा हराउने रोग सल्केको छ
हरक्षण यहाँ केही न केही
हराइरहेको हुन्छ
हरेक पल यहाँ कोही न कोही
हराईरहेको हुन्छ

यो हराएकाहरुको मुलक हो
यो बेपत्ता भएकाहरुको मुलुक हो
यो बादलपारिको
हराउँदै गैरहेको मुलुक हो
यो हराउँदै हराउँदै गैरहेको मुलुक हो ।
-Back Dated Publishing!