थकाली सेवा समाजको धनुषवाण प्रतियोगिता

थकाली सेवा समाजको धनुषवाण प्रतियोगिता


फार्नबोरो । गत आइतबार, ६ तारिख, फार्नबोरो र अल्डरसटको बीचमा पर्ने आर्चरी क्लबमा थकाली सेवा समाज यूकेबाट आयोजित आर्चरी (धनुष-वाण) कम्पिटिसन सम्पन्न भएको छ । सो कार्यक्रममा विभिन्न अन्य जातीय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने सो प्रतियोगितामा सबै जातिका प्रतियोगीहरु रहेका थिए ।

थकाली समाजका अध्यक्ष ज्ञानबहादुर शेरचनद्वारा केल्चाङ्ग पूजा गरी कार्यक्रमको उदघाटन गरिएको थियो भने उपाध्यक्ष श्याम शेरचनबाट उपस्थिति सहभागीहरुलाई स्वागत गरिएको थियो । सचिव तेइन्द्र तुलाचनबाट सञ्चालित सो कार्यक्रमलाई संयोजन कमल शेरचनले गरेका थिए ।

उक्त भूपी मेमोरियल दोस्रो ओपन तारा प्रतियोगितालाई दुई चरणको बनाइएको थियो । परम्परागत र आधुनिक धनुष-वाण प्रतियोगितामा खोल हान्न समर्थ गत वर्षकै टप स्कोरर रेशम शेरचन योपालि पनि अगाडि नै रहेका छन् । थकाली महिलाहरुबाट विभिन्न थकाली परिकारहरु बनाई अतिथिहरुलाई सत्कारमा गरिएको सो कार्यक्रममा केही नाचगान पनि भएको थियो ।

अतिथिहरुमा तमू प्ये ल्हू संघ यूकेका जगत गुरुङ, क्षेत्री समाज यूकेका भीम बानिँया, ठकुरी समाज यूकेका दान मल्ल, सिर्जनशील नेपाली समाज यूकेका शेर सुनार, मगर संघ यूकेका बेल बहादुर मगर, मोना यूकेका रेशम शेरचन आदि रहेका थिए । कार्यक्रम दिनभर चलेको थियो । -भीम, मेस