(कविता)मेरो गाँउको चित्र

(कविता)मेरो गाँउको चित्र


-गणेश इजम,
एक साँझ मेरो घरमुनिको बाँसघारी हुँदै
सेतै कपाल फुलेकी साम्माङ काप्मोमा उकालो लागिन् रे !
उनको कम्मरमा सानो खुर्मी थियो रे !
देख्नेहरुले भन्छन्, उनको थुन्सेमा तप्तपी रगत चुहिरहेको मानव-साँप्रो थियो रे !
उनी उकालो लाग्नुअघि दुधिलोको रुखमा बसेर कोइली खिल्खिलायो रे !
हाम्रो बा’ले साङसिङको धूप हत्त न पत्त जलाए पनि,
भोलिपल्ट गाँउमा बिजोडी बन्दुक पड्कियो रे !
अनि गाँउबाट एउटा चेधाप ओरालो झर्‍यो रे !

अहिले सम्झन्छु, थुइक्क…!
येवा फेदाङमा र साम्बाहरुको
सोला थपाइ र लिसो बिच्छ्याइ पनि बेकार गएछ,
त्यसैले आज पनि साम्माङ काप्मोमा मानव-साँप्रोहरु थुन्सेमा राखेर
रगत तप्तपी चुहाउँदै उकालो लागिरहेको छ ।

यसो सम्झन्छु, यो त अनर्थ भो,
जो नहुनु थियो त्यही भयो,
रातभर कोइली रोयो अनि दिउँसो चिलाउनेको टुप्पाबाट चिलले वेग हान्यो,
बार्दलीमा परेवाको ‘घुर-घुर’ सुनिएन,
अगुल्टो हल्लाउँदै हाटबजारको गफ जोत्ने ‘खोल्सापारी साँइलो’ पनि आउन छोड्यो,
चाम्रे बुक्याउँदै मेला भर्दाका दौँतरी पनि बेपत्ता भए ।

कति सोघा भएकाछन् ! कति सिगुप भए !
दुधिलोको रुख पनि ढलेको छैन,
कोइली खिल्खिलाउन पनि छोडेको छैन,
बनकोले सातो टिप्ला कि भनेर,
आमाहरु भ्याइ न भ्याइ नानी लुकाइरहेका छन्,
बाबुले जस्तै म पनि साङसिङको धुप बाल्छु,
किन हो बारुद पो गन्हाउछ ?
साँच्चि यो त लोदरै भो ।

यस कबितामा प्रयोग भएका केही शब्दहरु लिम्बू भाषाबाट आएको हुनाले पाठकहरुको सुविधाको लागि शब्दार्थ यहाँ दिइएको छ ।
साम्माङ काप्मोमा : लिम्बू समाजमा विश्वास गरिएको एउटा अनिष्ट सकेंत लिएर आउने दैविक शक्तिसम्पन्न करिब डेढ फिट मात्र अग्ली, कपाल सेतै फुलेकी, पछाडि थुन्से बोकेकी स्त्री, जसलार्ए देखेपछि गाँउमा अनिष्ट हुने विश्वास गरिन्छ ।
साङसिङ : सल्ला वर्गका एक प्रकारका वनस्पति
चेधाप : लास बोक्ने काँचो बाँसले बनेको घार
येवा : विशेषगरी प्रेत-आत्मालाई शान्त पार्न या मन्साउन सक्ने क्षमता भएको, तथा अरु विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गर्न दक्षता भएको व्यक्ति
फेदाङमा : सामान्यतया पुजारी भनेर बुझ्न सकिन्छ
साम्वा : लिम्बूहरुको समाजमा सम्पन्न गरिने विभिन्न धार्मिक अनुष्ठानमध्य केही अनुष्ठान सम्पन्न गर्ने सर्वाधिकार प्राप्त व्यक्ति
सोला : बाँसको एककिसिमको तिखो वस्तु जसलाई पासो बनाएर त्यस्तै अनिष्टकारक भूत-प्रेत या बोक्सी आदिका निम्ति थापिन्छ
लिसो : एक प्रकारका टाँस्सिने वनस्पति त्यसलाई पनि पासो बनाएर थापिन्छ
सोघा :विशेष गरी लडेर या अरु प्रकारले भएको अकालको मृतक
सिगुप : सुत्केरी व्यथा अथवा प्रसवकाल (जो सुत्केरी भइसके पश्चात पनि, छ महिना सम्मको अवधिलाई मानिन्छ) बाट भएको मृत्यु