बलिउडमा यौनिक हिंसा बढेपछि मन्त्रीको चेतावनी

बलिउडमा यौनिक हिंसा बढेपछि मन्त्रीको चेतावनी


बलिउडमा महिला हिंसाका घटना भएको गुनासो बढेपछि भारतको महिला मन्त्रीले तत्काल त्यसलाई रोक्न चेतावनी दिनुभएको छ । मन्त्री मेनका गान्धीले हिन्दी फिल्म क्षेत्रमा काम गर्ने महिलाहरूमाथि यौनिक हिंसा भइरहेका घटना सार्वजनिक भएपछि यस्तो चेतावनी दिनुभएको हो ।

मन्त्री गान्धीले प्रमुख फिल्म उत्पादक कम्पनीहरूलाई पत्राचार नै गरेर आचरण र नियम कानूनलाई ध्यान दिन आग्रह गर्नुभएको छ । सन् २०१३ को यौनिक हिंसासम्वन्धी ऐनअनुसार काम र व्यवहार गर्न फिल्म उत्पादन गर्ने २४ वटा कम्पनीलाई पत्रचार गरिएको मन्त्री गान्धीलाई उद्धृत गर्दै एएफपीले समाचार दिएको छ ।

मन्त्री गान्धीले सबै कर्मचारीलाई भारतीय कानूनअनुसार सुरक्षित र समावेशी तरिकाले काम गर्ने वातावरण उपलब्ध गराउन र जिम्मेवार हुन पनि ध्यानाकर्षण गराउनुभएको छ ।

गत महिना एक जना भारतीय अभिनेत्रीले फिल्म क्षेत्रमा आफूले प्रवेश गर्ने बेलामा एक जना पुरुष निर्देशकले हिंसा गरेको बताउनुभएको थियो । उहाँले ती निर्देशकको नाम भने गोप्य राख्नुभयो ।

भारतको महिला तथा बालबालिका विकास मन्त्री गान्धीले हिंसा नियन्त्रणका लागि लगातार ट्वीट गर्नुभएको थियो । उहाँले ट्वीटरमा लेख्नु भएको छ, ‘यौनिक हिंसासम्बन्धी ऐनमा कुनै यौनिक हिंसा विना हरेक महिला कामदारलाई काम गर्ने वातावरण कार्यक्षेत्रमा रहेको सुनिश्चित गर्नुपर्ने उद्देश्य राखिएको छ ।’

मन्त्री गान्धीले पठाउनु भएको पत्रमा ऐनको भावना व्यवहारमा कार्यान्वयन हुने विश्वास लिँदै सबै संस्थामा गम्भीरतापूर्वक यसलाई लिन र प्रतिबद्ध हुन आग्रह पनि गरिएको छ ।