खुला खोरभित्र पसेर बाघले गऱ्यो अर्नाको शिकार

खुला खोरभित्र पसेर बाघले गऱ्यो अर्नाको शिकार


चितवन राष्ट्रिय निकुञ्ज, पदमपुर क्षेत्रमा रहेको खुला खोर (इन्क्लोजर)भित्र बाघ पसेर अर्नाको शिकार गरेको छ । गत मंगलबार अनुगमनमा गएको टोलीले खोरभित्रको एउटा वयस्क पोथी अर्ना बाघले आक्रमण गरी मारेको अवस्थामा फेला परेको थियो ।

बुधबार अर्नाको शरीर परीक्षण गर्न गएको टोलीले अर्ना नभेटिएपछि खोजी गर्दै जाँदा घटनास्थलबाट ६० मि पर झाडीमा अर्नाको आधा भाग बाघले खाएको अवस्थामा फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेललाई उद्धृत गर्दै राससले जनाएअनुसार घटनास्थल वरपर खोजी गर्दै जाँदा बाघसमेत फेला परेको छ । टोलीले बाघलाई लखेटेर खोर बाहिर पठाएको उनले जानकारी दिए। गत वर्षामा बाढीले बगाएर मर्मत गरिएको ठाउँबाट बाघ खोरभित्र पसेको देखिएको छ । उक्त बाघ सोही बाटो हुँदै बाहिरिएको पनि उनले जानकारी दिए । वर्षामा पानीले खोलेका ठाउँमा पिसिसी गरेर मर्मत गर्ने काम भइरहेको उनले बताए ।

कोशी टप्पु राष्ट्रिय निकुञ्जबाट १२ र काठमाडौँको चिडियाखानाबाट तीन गरी १५ अर्ना गत वर्ष चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो । चिडियाखानाबाट ल्याइएका तीन अर्ना केही समयपछि नै मरेका थिए भने गत वर्षाको बाढीपछि भदौ २२ र २५ गते दुई पोथी अर्ना मरेका थिए । अहिले बाघले एक अर्नाको शिकार गरेसँग अब खुला खोरमा नौ अर्ना बाँकी छन् । तीमध्ये दुई भाले छन् । निकुञ्जको पदमपुर क्षेत्रमा खुला खोर निर्माण गरी स्थानान्तरण गरी ल्याइएका अर्ना राखिएको छ । खोरमा अर्नाको संख्या वृद्धि गरी ठूलो समूह बनेपछि खुला रुपमा छाड्ने योजना रहेको छ ।