बृद्ध चिम्पान्जीको जन्मोत्सव

बृद्ध चिम्पान्जीको जन्मोत्सव


भारतको राजधानीमा रहेको एउटा चिडियाखानाको ‘सवैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव मनाइएको छ । रिता नामको चिम्पान्जी यही डिसेम्बर १५ देखि ५८ बर्ष लागेको र उनी नै सवैभन्दा बृद्ध भएको चिडियाखानाले जनाएको छ ।

दिल्ली चिडियाखानामा राखिएकी उनको जन्मोत्सव समारोहमा केक, फलफुल र मह खुवाइएको र जन्मोत्सव मनाउनका लागि विद्यालयका बालबालिकाहरूलाई पनि बोलाइएको थियो ।

यो चिडियाखानामा यसरी जन्मोत्सव मनाइएको पहिलो पटक होइन । यही बर्षको जुलाईमा विजय नामक सेतो बाघको दशौं जन्मोत्सव मनाइएको थियो । रिता नामक चिम्पान्जी सन् १९६४ मा नेदरल्याण्डमा जन्मेकी हुन् । उनलाई चार बर्षको उमेरमा भारत ल्याइएको थियोे ।

उनले धेरै समय दिल्ली चिडियाखानामा विताएकी छन् । चिम्पान्जीको औषत आयु ४० बर्ष भएपनि त्यो भन्दा धेरै लामो उमेर सम्म उनी बाँचेकी हुन् ।