आगामी असारभित्रै इम्बोस्ड नम्बरप्लेट जडान गरिसक्नुपर्ने

आगामी असारभित्रै इम्बोस्ड नम्बरप्लेट जडान गरिसक्नुपर्ने


आगामी असारभित्रै बाग्मती अञ्चलमा दर्ता भएका तीन र चार पांग्रे निजी तथा सरकारी सवारीसाधनले इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने भएको छ । इम्बोस्ड नम्बरप्लेट जडानलाई प्रभावकारी बनाउन यायायात व्यवस्था विभागले यस्तो निर्णय गरेको हो ।

यायायात व्यवस्था विभागले पहिलो चरणमा निजी तथा सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने तयारी अघि बढाएको छ । प्रदेश नम्बर ३ मा दर्ता भएका १२ लटसम्मका मोटरसाइकल बाहेकका निजी, सरकारी र संस्थानका सबै सवारीले चैतभित्रै नम्बर प्लेट जडान गर्नुपर्ने विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए ।

विभागले १३ लटदेखि माथिका बाग्मती अञ्चलका निजी गाडीहरुलाई असार मसान्त २०७५ को समयसीमा दिएको छ । पहिलो चरणमा विभागले ३ नम्बर प्रदेशबाट मात्र इम्बोस्ड नम्बरप्लेट राख्न सुरु गरेको हो । १३ लटमाथिका सवारीधनीले तुरुन्त इम्बोस्ड नम्बर प्लेट लिन चाहेमा पनि उपलब्ध हुने विभागले जनाएको छ ।

मोटरसाइकलका लागि भने असारपछि मात्र जडान गर्ने विभागले जनाएको छ । निजी गाडी धनीले यसका लागि ३ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । इम्बोस्ड नम्बरप्लेट जडानका लागि यातायात व्यवस्था विभागको वेबसाइटबाटै अनलाइन फाराम भर्न सकिने विभागले जनाएको छ ।