विश्वकै कान्छा सरकार प्रमुखको रुपमा अष्ट्रिया हाँक्ने तयारी

विश्वकै कान्छा सरकार प्रमुखको रुपमा अष्ट्रिया हाँक्ने तयारी


अष्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी तथा चरम दक्षिणपन्थी फ्रिडम पार्टीबीच संसदीय निर्वाचन भएको करिब दुई महिनापछि नयाँ सरकार गठनका लागि सहमति भएको छ । गठबन्धनले नयाँ सरकार गठनका लागि राष्ट्रपतिसँगबाट सहमति माग गरेका छन् ।

चुनावमा पिपुल्स पार्टीले जिते पनि सरकार बनाउन आवश्यक बहुमत ल्याउन नसकेपछि नयाँ सरकार गठनका लागि गठबन्धन गरिएको हो । राष्ट्रपति सरकार गठनका लागि नयाँ गठबन्धनलाई अनुमति मिलेमा पिपुल्स पार्टीका नेता ३१ बर्षीय जेबास्टियन कुर्ट्ज नेतृत्व सम्हाल्ने विश्वकै सबभन्दा कान्छा नेता बन्ने छन्, साथै पश्चिम युरोपमा चरम दक्षिणपन्थी पार्टी सरकारमा भएको अष्ट्रिया एक्लो मुलुक बन्नेछ ।

पिपल्स पार्टीका जेबाष्टियन कुर्ट्ज र फ्रिडम पार्टीका हाइन्ज क्रिष्टियन स्ट्र्याचबीच नयाँ सरकारका लागि सहमति बनेको भए पनि सरकारका कार्यक्रमबारे विस्तृत विवरण दिइएको छैन ।

दुई महिनाअघिको चुनावमा युरोपको आप्रवास संकट मुख्य मुद्दा बनेको थियो जुन आप्रवासन विरोधी फ्रिडम पार्टीले लामो समयदेखि वकालत गर्दै आएको थियो ।

कुर्ट्जले कन्जरभेटिभ र दक्षिणपन्थी मतदातासँग आप्रवासीको युरोप प्रवेश गर्ने मार्ग बन्द गर्ने, शरणार्थीलाई दिँदै आएका सहुलियत नियन्त्रण गर्ने र अष्ट्रियामा बसेको पाँच वर्ष पुरा नभएसम्म राज्यका विभिन्न सुविधा नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

फ्रिडम पार्टीले कुर्ट्जलाई आफूहरुको नीति चोरेको आरोप लगाउँदै ढोँगी नेताका रूपमा चित्रण गरेको थियो ।

यसैबीच राष्ट्रपतिलाई सहमतिबारे जानकारी गराउन जानु पहिले कुर्ट्जले गठबन्धनमा ‘राम्रो र मजबुत नेतृत्व टोली’ रहेको प्रतिक्रिया दिए । समिकरण अनुसार कुर्ट्ज अष्ट्रियाको गभर्नर बन्ने र स्ट्र्याच भाइस चान्सलर बन्ने लगभग पक्कापक्की भएको छ ।

राष्ट्रपति भान देर बेलेनले राष्ट्रिय चाहना तथा आवश्यकता अनुसार गठबन्धनमा रहेका सबैजनाले मजबुत यूरोपेली महासङ्घको पक्षमा काम गर्न तयार बनेका बताए ।