‘हो ! मैले गोली चलाएँ’- पूर्व युवराज पारस

‘हो ! मैले गोली चलाएँ’- पूर्व युवराज पारस


काठमाडौं । पूर्व युवराज पारसले हिजो राति चितवनको टाइगर टप्स रिसोर्टमा गोली चलाएको स्वीकार गरेका छन् । उनले आफू र आफ्नो देशकोबारेमा अर्नगल कुरा गरेकोमा हवाइ फायर गरेको बताएकाछन् । उनले उक्त गोली कसैप्रति लक्षित नभएर हवाइ फयर भएको एक बिज्ञप्तिमार्फत स्वीकार गरेका हुन् ।

पारसद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ
म मेरो परिवारका सदस्यहरुसँग आफ्ना धादिङ एवं सर्लाहीको कार्यक्रम सकी चितवनस्थित टाइगर टप्समा रात बिताउने क्रममा सो रिसोर्टको रेष्टुरेन्टमा रात्रि खाना खाइरहेको समयमा केही अन्य आगन्तुक पनि सोही स्थानमा बसिरहेको बखत एक जना बंगलादेशी नागरिक र अन्य एक भारतीय नागरिक मसँग आई कुराकानी गर्न थाले । र, मैले निभाएको पुरानो भूमिका र मैले प्रतिनिधित्व गरेको संस्थाको बारेमा अनर्गल एवं उत्तेजनात्मक टिप्पणी शुरु गरे । सो भलाकुसारीलाई आफ्नो क्षमताले भ्याएसम्म मैले शान्त गर्ने प्रयास गर्दागर्दै पनि उनीहरुको उत्तेजना रोकिएन ।

यही क्रममा उनीहरुसँग आएका अन्यहरुले समेत सो बंगलादेशी र भारतीय नागरिकलाई शान्त गर्ने प्रयास गरे पनि उनीहरु अझ उत्तेजित भई म र मेरो परिवार एवं नेपालप्रति अति नै घृणित शब्दहरु प्रयोग गरी पेश आएपछि म सो रेष्टुरेन्टबाट बाहिर निस्की धेरैबेर एक्लै बसिरहे । सो कुराकानीबाट म बाहिर निस्किएको करिव आधा घन्टापछि मेरो परिवारलगायत रेष्टुरेन्टमा रहेका अन्य सम्पूर्ण आगन्तुकहरु गइसकेको अवस्थामा आफ्नो र देशको अपमान सहन नसकी क्रोधमा आफूसँग रहेको पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हुँ तर सो हवाई फायर कुनै पनि व्यक्ति र टाइगर टप्सको भौतिक संरचनाप्रति लक्षित नभएको यथार्थ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई जानकारी गराउन चाहन्छु ।
पारश शाह
निर्मल निवास, महाराजगञ्ज
काठमाडौं, नेपाल
साभारः नेपाली हेडलाइन्स