(कविता)मेरो सोलोचुङ्ग -एस.के. 'पूर्वेली'

(कविता)मेरो सोलोचुङ्ग -एस.के. 'पूर्वेली'


कति सुहाउँछ तिमीलाई
शिरमा गुराँस फुलाउँदा !
झनै रामाउँछौ तिमी
मुहारमा सुनगाभा फुलिदिँदा
रिसाइदिन्छौ लुकिदिन्छौ घरी
भुइँ कुइरो उठी ढाकिदिँदा
हाँसी दिन्छौ फेरि
मुसुक्क मुस्कान छरी
लिम्चिम र चाँपले
सुगन्ध छरिदिँदा

शिर तिम्रो भो वारुङ्ग
काँधमा देबी खोला
छाती तिम्रो ओदाने
पाउ रोक्सिम भञ्ज्याङ्ग
मुटु तिम्रो चिसापानी

दुख्छ होला कति
चोत्रो र कटुसका काँढाहरुले !
पोल्छ होला कत्ति
वसन्तका डढेलोले !
तर पनि हाँसिरहेछौ
मेरो सोलोचुङ्ग
सधैँ-सधैँ यसरी नै हाँसिरहनु पर्छ

कठ्याङ्ग्र्रियो होला कत्ति
शिशिरका तुसारोले
उडाउन खोज्छ होला कत्ति
चैत बैशाखको आँधिबेहरीले !
तर पनि निश्चल
अचल छौ सोलेचुङ्ग
तिमी सधैँ अमर रहनु पर्छ

त्यसैले हेरिरहन
मन लाग्छ सधैँ-सधैँ
छोडी जाँदैछु टाढा-टाढा
आँखाभरि आँशु
मुटुभरि तिम्रो माया बोकी
तर पनि नरिसाऊ है
फर्कने छु कसैगरी
तिम्रो मीठो मुस्कान हेर्नलाई
मेरो सोलोचुङ्ग ।