मुच्छेत्र तमू धीं अध्यक्षमा विजयी

मुच्छेत्र तमू धीं अध्यक्षमा विजयी


मिचेत, लण्डन । गुरुङ समुदायको बलियो संस्था तमू धीं यूकेको अध्यक्ष पदमा मुच्छेत्र गुरुङ अत्याधिक बहुमतले विजयी भएका छन् । तमू धींको १० बर्षे इतिहासमा भएको यो पहिलो ऐतिहासिक निर्वाचन हो । अध्यक्ष पदका अर्का प्रत्यासी सुवासिसं गुरुङलाई भारी मतान्तरले पछि पार्दै मुच्छेत्र छैटौं कार्यसमितिको अध्यक्ष पदमा विजयी भएका हुन् । कूल खसेको ४४३ मतमध्ये अध्यक्ष पदका विजयी मुच्छेत्र गुरुङले ४०० मत पाएका थिए भने उनका प्रतिद्धन्दी सुवासिसं गुरुङले जम्मा ४० मत पाए । निर्वाचनमा ३ मत बदर भएको थियो । मुच्छेत्र पांचौ कार्यसमितिका उपाध्यक्ष हुन भने सुवासिसं अध्यक्ष हुन् । तमू धींको अध्यक्ष लगायतको पदहरुको कार्यकाल २ बर्षको हुनेछ । निर्वाचन आयोगका प्रवक्ता तमू धींका सल्लाहकार एवं एन आर एन यूकेका राष्ट्रिय कोअर्डिनेटर भक्त बहादुर गुरुङले मत परिणाम सार्वजानिक गर्दा हलमा तालीको बर्षा भएको थियो ।
यद्यपि सुवासिसं गुरुङले आगामी ३० डिसेम्बरसम्म आफनो कार्यकाल सम्हाल्ने छन् । गुरुङ समुदायको महत्वपूर्ण चाड ल्होसारमा नयां पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएपछि मात्र छैटौं कार्यसमितिले आफनो पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
मत परिणाम सुनाउनुअघि निर्वाचन आयोगका प्रबक्ता भक्त गुरुङ्गले सौहाद्रपूर्ण रुपमा भएको प्रजातान्त्रिक अभ्यासको प्रशंसा गरॆ । उनले निर्वाचनमा सहयोग गर्ने अन्य पदाधिकारी तथा पांचौ कार्यसमितिको सहयोगप्रति आभार प्रकट गरे ।
तमू धीं यूकेको अध्यक्ष बाहेकका पदमा यसअघि नै सर्वसम्मत निर्णय भइसकेको छ । यसअघि सर्बसमम्मत हुनेहरुमा उपाध्यक्ष द्धय सुर्जे गुरुङ र कमल गुरुङ महासचिव ज्ञाम गुरुङ्ग सचिव नन्दजंग गुरुङ, कोषाध्यक्षमा दिलिप गुरुङ, सह कोषाध्यक्षमा नरेश गुरुङ, युवा तथा खेलकुद सचिवमा रि. क्या सूर्यप्रकाश गुरुङ, प्रेस सचिवमा रोहित गुरुङ, सम्पत्ति सचिव मीन बहादुर गुरुङ, तथा प्रवक्ता हिमाल गुरुङ छन् । यसैगरी छैटैं कार्यसमितिको सर्वसम्मत सदस्यहरुमा रवि गुरुङ, मदन गुरुङ, चन्द बहादुर गुरुङ, दिपक गुरुङ, कमल गुरुङ, श्रीमती पुष्पा गुरुङ, राम कुमार गुरुङवजंग गुरुङ, कृष्ण गुरुङ, र नारायण गुरुङ रहेका छन् । निर्वाचन कार्यक्रममा आफना उम्मेदवार छान्न टाढा टाढाबाट गुरुङ आमा, बुवा, दाजुभाइ तथा दिदिवहिनीहरुको घुइंचो लागेको थियो । तमू धींको कूल मतदाता संख्या ९३१ रहेको छ । बिहान ११ बजेबाट शुरु हुने भनिए पनि कार्यक्रम केही ढिलो शुरु हुन गएको थियो ।
अध्यक्ष पदमा विजयी भएपछि संक्षिप्त कुराकानी गर्दै गुरुङले प्रजातान्त्रिक अभ्यासले आफूलाई अझ परिपक्व बनाएको बताए । उनले तमू धींको विकास र उन्नतिमा गुरुङ समुदायको अत्यन्त ठूलो योगदान रहेको स्मरण गर्दै त्यसको निरन्तरताको अपेक्षा गरे । तमू धींलाई सम्पूर्ण गुरुङ समुदायको साझा संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफनो कार्यकालमा यसलाई सक्षम संस्थाको रुपमा चित्रण गर्न आफू लागीपर्ने बताए ।
अध्यक्ष पदका प्रत्यासी एवं निवर्तमान अध्यक्ष सुवासिसं गुरुङले आफनो कार्यकालमा भए गरेका उपलब्धिको बारेमा प्रकाश पारेका थिए । उनले नवनिर्वाचित कार्यसमितिको सफलताको शुभकामना दिए ।
निर्वाचन अघि तमू धीं भवनमा पांचौं कार्यसमितिको वार्षिक साधारण सभा सम्पन्न भयो । सो अवसरमा बोल्दै अध्यक्ष पदका प्रत्यासी सुवासिसं गुरुङले अर्का उममेदवारप्रति कटाक्ष गरेका थिए । उनले संस्थाका हितभन्दा व्यक्तिगत हितमा ध्यान दिएको तथा मतदाता नामावलीमा घोटला गरेको आरोप समेत लगाए । तर अर्का उम्मेदवार मुच्छेत्रले भने आफूलाई शब्दमा भन्दा व्यवहारमा पक्का भएको बताए । उनले आफूलाई भाषण नभई काम गर्न मात्र आउने जानकारी दिए ।
पांचौं कार्यसमितिका कोषाध्यक्षले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दा नेपाल युनाइटेड फुटबल शीर्षकको खर्चमा चर्काचर्की भएको थियो । सो शीर्षकमा मात्र तमू धींले ५११२ पाउण्ड घाटा बेहोरेको छ । यसरी तातो बहस चलिरहेको हलभित्र भी सी लच्छिमन गुरुङको मृत्यु भएको खबरले सन्नाटा छाएको थियो । उनको सम्झनामा २ मिनेट मौन धारणा समेत भयो ।-धर्मराज अधिकारी