-प्रकाश केसी
हिउँदको चर्चाले तात्तिएको समयमा, पवको मुख्य ढोकानजिकै एक नीलो रंगको ४×४ बीएमडब्लू रोकियो । हिउँका थुप्रोहरूमा केही चिप्लिएको त्यो ४×४ को ड्राइभिङ सिटबाट हाँस्दै किस्मत गुरुङ बाहिर निस्के । ढोकानजिकै परि्खएका हुम गुरुङले ‘त्यति परबाट, यस्तो हिउँमा पनि यति चाँडै आइपुग्या’ भन्या ?’ भन्दै आर्श्चर्य व्यक्त गरे । त्यही आर्श्चर्य प्रकटकै प्रतीक्षामा रहेको छनक दिँदै किस्मतले ‘४×४ हुनुपर्छ, अनि त्यसमाथि बीएमडब्लू, यस्तो हिउँ त के, भीर-पखेरामा पनि उक्लिइन्छ’ भन्ने जवाफ फर्काए । त्यसपछि हाँस्दै दुवै पवभित्र पसे ।
ब्रिटिस सरकारले हङकङ, चीनलाई हस्तान्तरण गर्ने विधिवत् रूपमा पक्का भइसकेको थियो । हङकङमा बनाइएको नयाँ एअरपोर्ट चेपलापकोकलाई जोड्नका लागि छुट्टै रेल लिङ्क पनि बनाइँदै थियो । काउलुन स्टेसनभित्र केही दर्जन नेपाली सोही कन्स्ट्रक्सनमा काम गर्दथे । लन्च टाइममा सबै लस्करै अनि गोलबद्ध भई बसेर सँगै खाना खान्थे । त्यही हुलमा संखुवासभाको एक किसानका छोरा पनि थिए, जसको हङकङ आउनुको एउटै मुख्य धोको भनेको घरको छानो टिनले छाउने, दुई-तीन हल खेत, एक हल गोरुसहित जोड्न सक्ने पैसा कमाएपछि नेपाल र्फकने भन्ने थियो । त्यस हुलमा सबैलाई लाग्थ्यो- उसको उद्देश्यचाहिँ सजिलै र चाँडै पूरा हुनेछ । सन् ९५ मा हङकङ छिरेका त्यही किसानको छोरो, दुई सन्तानको बाबु किस्मत गुरुङ अहिले यूकेमा छन् । सन् ०८ मा यूके छिरेका किस्मतले यतिखेर काठमाडौंको आफ्नो जग्गामध्येको पाँच आना जग्गा तेइस लाख रूपैयाँ प्रतिआनाको दरले बेची यता कमाएको पैसामा जोडेर दुई लाख पचास हजार पाउण्ड लागतको घर किन्ने तरखरमा छन् ।
बिदेसिएका हरेक दोस्रो नेपाली मानव आकाङ्क्षा तथा लोभलालचहरू समयानुसार सधैं गुणात्मक रूपले वृद्धि हुन्छ भन्ने प्रस्ट्याउँदै जीवनयापन गर्न बाध्य हुन्छ । हुन त मानव-सभ्यताको विकसित रूप त्यही मानवीय लोभको माध्यमबाट नै सञ्चरित भएको हो । मान्छे, सुखको पछि भाग्दछन् या तिनलाई तिनका दुःखले भगाउँछन् ? प्रश्न अन्योलता उत्पन्न गर्ने खालको छ । सम्भावनाहरूको खोजीमा खासगरी चेतनशील मानिस भागदौड गर्दछन्, जीवनलाई क्षणभङ्गुर मान्न ती कहिल्यै तयार हुँदैनन् या फैलिन सकुन्जेल ती विस्तारिन चाहन्छन् । यही दौडमा तिनीहरू विश्राम गर्नै नभ्याईकन जीवनको उत्कृष्टतालाई विर्सजन गर्न पनि बाध्य हुन्छन् । निचोडचाहिँ यो हो कि हरेकजस्तै परदेशिएका नेपाली सबै-सबै लोभले नै परिचालित हुन्छन्, पक्कै नै ।
तनहुँ फिरफिरेका समाजसेवी याम गुरुङ पाँच वर्षजति दुःख गरी केही पैसा कमाएर आफ्नै जिल्लामै दस-पन्ध्रजनालाई रोजगारी दिन सकिने धन्धा गर्ने उद्देश्य लिएर सन् ९७ मा हङकङ छिरेका थिए । नेपालको स्थिति सन्तोषजनक नभएको, अशान्ति झन्-झन् बढेकोले गर्दा यामको त्यही पाँचवर्षो म्याद बढ्दै-बढ्दै गयो र गत वर्ष उनी आफ्नो छोराको भविष्यका लागि भनी यूके भित्रिएका छन् । सम्भावनाहरूको खोजीमा भौँतारिँदा आफ्नो जीवनलाई सुधार्न नसकेको जस्तो लागे पनि बच्चाको भविष्य भने सर्म्बर्द्धन गर्न प्रतिबद्ध याम, भविष्यमा नेपाल फर्केर जिल्लाको हितमा केही गर्ने आफ्नो रहर भने नमर्ने बताउँछन् । पवमा साथीहरूसँग बियरमा झुम्दै गरेका याम यूकेमा स्याथी रूपमा बसोबासचाहिँ नगर्ने दृढता प्रकट गर्दछन् ।
मानिसहरू योजनामुताबिक परिचालित हुन्, खासगरी एक स्थानबाट अर्को स्थानमा सम्भावना अनि समृद्धिहरूको आशा गर्दै लाग्नेहरूका जमातको सान्दर्भिकतामा भने पक्कै सक्दैनन् भन्न सकिन्छ । जीवनमा बिताइएका वर्षहरूले ती व्यक्तिलाई समय र स्थानसापेक्ष बनाउँदै लगेको हुन्छ, अनि त्यही सापेक्षताले गर्दा त्यसरी भोग भोग्ने तिनलाई बानी पर्दै गएको हुन्छ । घटनाहरू पनि स्थानविशेषका हुन्छन् र घटनाहरूले मानिसलाई विविध प्रकारको सांसारिक जालभित्र जकड्दै लगेको हुन्छ, अतः समयको प्रवाहसँग बहकिनुबाहेक मानिससँग, जस्तो अर्को विकल्प हुँदैन, खासगरी यो पवभित्रको हुलमा ।
विराटनगरका नरेन्द्र क्षेत्रीले काठमाडौंमा अन्नपूर्ण लुकिङ ग्लास इन्डस्टि्रज चलाउँथे, त्यही उद्योगलाई समुन्नत बनाउनका लागि भनी नरेन्द्र सन् ९७ मा हङकङ छिरे, एक वर्षमा नै दुःख गरी दस लाख रूपैयाँ कमाएर र्फकने उद्देश्य बोकेका उनी अहिले यूकेमा मज्जाले नै सेटल्ड भएका छन् । एक हङकङमा र एक यूकेमा छोरा जन्माएका नरेन्द्र, सन् ०६ मा यूके छिरेका हुन् । बच्चाहरूको शिक्षा तथा तिनका भविष्य यहाँ राम्रो देख्ने नरेन्द्रलाई यहाँको हावापानी फाप्दै गएको छ । ‘जीवनलाई योजनामा ढालेर बाँच्न सकिएन,’ वाइनको घुट्को लगाउँदै उनी बताउँदै थिए भने त्यो कुरालाई सह दिँदै थिए किस्मत, याम, हुम अनि सुनील ।
बाहिर बेस्सरी हिउँ पर्दै थियो, दस इन्च हिउँ, यो वर्षको पहिलो प्रकोप थियो । यूकेकै सबैभन्दा ठूलो सपिङ सेन्टर ब्रेन्टक्रस सपिङ सेन्टर, क्रिसमस सपिङको मुख्य समयमा बन्द गर्नुपरेको छ । अर्बौं घाटा लाग्ने क्रममा यूकेका विभिन्न एयरपोर्टहरू बन्द भएका छन् । यो हिउँकै प्रकोपले ९ सय ससाना उद्योगधन्दा धराशयी हुने आर्थिक विज्ञहरूको अनुमान छ । तर, समयको चक्र नरोकिने क्रममा हुन्छ नै, जस्तो मानवीय यापनशैलीको हुन्छ । बिहान ९ बजेदेखि साँझ ४ बजेसम्मको हिउँदे दिन बाँच्ने सह यूकेवासीजस्तै गरी सानो अवसरलाई पनि स्थानीय पारामा जिउन प्रतिबद्ध यो हुलमा… जीवनमा घटना तथा अवसरहरू जसरी फोल्डिङ हुँदै जान्छ, त्यसरी नै त्यसलाई स्वीकार गर्दै जाने भन्ने उक्तिलाई अवलम्बन गर्ने स्वभाव रहेको लाग्दथ्यो । जीवनलाई सजाउने ध्याउन्नामा बिदेसिएका -अनुबन्धमा बिदेसिनेबाहेक)हरूका प्रवासी जीवनमा कुनै भविष्यका लागि सायदै योजनाहरू होलान् । पढ्ने र पढ्नेको डिपेन्डेन्ट स्टाटस् लिएर आउनेहरूमध्ये ठूलो परिमाणकाहरूको भने जसरी हुन्छ, भिसाको स्टाटस् परिवर्तन गरी यहीँ नै स्थायी रूपमा बसोबास गर्ने योजना हुन्छ तर सेटलमेन्टका लागि आउनेहरू भने जीवनको भागदौडलाई यतै विर्सजन गर्ने भावना राख्दछन् भन्नु अति हुँदैन ।
फिदीखोला, स्याङ्जाका हुम गुरुङ, पोखरामा एक होटलको व्यवसाय गर्दथे । व्यवसाय राम्रो भएकै बखत बिनायोजना उनी सन् ९५ मा हङकङ छिरे, दुईवटी छोरीको भविष्य राम्रो बन्न सक्ने सम्भावनाको पछिलागेको होइन भन्न उनी सक्दैनन् तर जीवनमा बिनायोजना बाँच्ने रहर पाल्ने उनी एक-दुई वर्ष विदेशमा बिताएपछि फिदीखोलास्थित आफ्नो गाउँ फर्केर एक सानो रिसोर्ट खोल्ने विचार मनमा पाल्न थालेका थिए । तर, पुनः अर्को पाँच वर्षको म्याद राखेर लागिपरेका उनी सन् ०८ मा उही दुई छोरीको भविष्य राम्रो हुन्छ भन्दै सपरिवार यूके सरेका छन् र यहाँ राम्रैसँग सेटल्ड भएका छन् । तर, बुढेसकाल गाउँको चौतारीमा बसी पारितर्फको हिमाल हेर्दै दिनहरू बिताउने रहर भने अद्यापि नै राखेका छन् । ‘मेरा रहरहरू समयअनुसार स्वतः परिवर्तन हुँदै गए, मलाई लाग्दैन कि म अहिले रिटायर्ड लाइफको बारेमा निश्चित रूपले योजना बनाउन सक्छु । थाहा छैन, छोरीहरूको विवाहपछि एक्लिने हामी बूढाबूढीको जरुरत गाउँले नेपाली-परिवेश होला या संरक्षित अनि प्रबन्धित अङ्ग्रेजी परिवेश †’ वाइनको सुरमा हुम सम्वेदनशील लाग्दथे ।
विदेशी भूमिमा, विदेशी रहनसहनमा भिज्दै गएका नेपाली सजिलैसँग त्यो भूमि छाड्न नसक्ने स्पष्ट देखिएको छ । तत्कालीन नेपालको बिग्रँदो अवस्था, विदेशमा शान्ति, सुरक्षा तथा आर्थिक विकासको भोग आदिले गर्दा पनि नेपाली बिस्तारै आफ्ना योजनालाई बिर्संदै जाने गर्छन् । पोखराको महेन्द्रपुल निवासी सुनील श्रेष्ठ सन् ९४ मै हङकङ छिरेका हुन् । सन् ९७ मा हङकङ चीनको भइसकेपछि नेपाली पनि र्फकनुपर्छ भन्ने विश्वास राखेर, त्यही तीन वर्षभित्र सक्दो कमाएर नेपाल र्फकने भन्दै हङकङमा कडा मिहिनेत गर्न थालेका सुनीलले हङकङमा दुईवटा फ्ल्याट किनिसकेका छन् भने भर्खरै मात्र परिवार लिएर यूके छिरेका छन् । अवसरहरूबाट विमुख नहुने सुनीलको दृढता स्पष्ट रूपमा दृष्टिगत हुन्छ । सुनीललाई पनि लाग्दैन, सबै मानिस योजनामुताबिक परिचालित हुन सक्दछन् ।
बितेको वर्षको सुरुबाट नै सरकार परिवर्तन भएर नयाँ सरकारको स्थायी गठन हुन्छ भन्ने नेपाली राजनीतिज्ञहरूसँग राष्ट्रिय हितका लागि पनि सहमति जुटाउन सक्ने प्रतिबद्धता छैन । नपत्याउँदो गरी थोरै अवधिमा नेपाल असमन्जस हालतमा रहन गएको छ । नेपाली राजनीतिको चर्चा अहिले चुट्किलाहरूमा गरिन थालिएको छ, नेपाली अब राजनीतिक हालतको चर्चा गर्दै क्रूद्ध हुँदैनन्, अहिले ती हाँस्न थालेका छन् । त्यही क्रममा देशबाट कुनै न कुनै वहानामा बिदेसिनेहरूको सङ्ख्यामा दिनप्रतिदिनको दरले वृद्धि भइरहेको छ । जीवन सिँगार्ने धोकोमा विदेशी भूमिमा पसेकाहरू त्यहीँकै माटोमा माटो भएका छन्, धुलो बनेका छन् ।
हुलका हुल स्वदेशी-विदेशीको हुलमै ट्याम्म मिलेजस्तो लाग्नेगरी सम्भावनाको खोजीमा भौँतारिँदै यूके भित्रिएका हङकङेली नेपालीको यो सानो डफ्फा, पवभित्र बियर, वाइन अनि हि्वस्कीको चुस्की लिँदै यूकेको राजनीतिको गफमा गफिन थाल्छन् । र, बाहिर त्यस्तैगरी जोडसँग हिउँ परिरहन्छ, तापक्रम माइनस १० भइसकेको छ । भोलि पानी परेको खण्डमा त्यही हिउँ जमेर ब्ल्याक आइस बनेछ भने किस्मतको जस्तो ४×४ बाहेकका कारहरू चलाउने ‘वदकिस्मत’हरू यात्राको बीचमै कतै फस्ने पक्का छ । – लण्डनबाट
प्रतिक्रिया