५ वटा मात्रै राष्ट्रिय दल बन्ने निश्चित

५ वटा मात्रै राष्ट्रिय दल बन्ने निश्चित


अन्ततः पाँचवटा मात्रै राष्ट्रिय दल बन्ने पक्का भएको छ । समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको बेला देखिरहेको अन्तिम परिणामले राष्ट्रिय दलको संख्या पाँचवटामै सिमित गराउने पक्का भएको हो ।

निर्वाचन आयोगका अनुशार प्रत्यक्षमा कम्तिमा एकसिट जितेका र समानुपातिकतर्फ ३ प्रतिशत मत कटाएका दल मात्रै राष्ट्रिय पार्टी हुने संवैधानिक व्यवस्था रहेकाले ५ वटा पार्टी मात्रै राष्ट्रिय पार्टी बन्न सफल भएका छन् ।

एमाले, कांग्रेस, माओवादी, राजपा र संघीय समाजवादी मात्रै राष्ट्रिय पार्टी बनेका छन् ।  समानुपातिकतर्फ धेरै मत ल्याउने १० वटा दलले प्राप्त गरेको मत सार्वजनिक गर्दै आएको छ ।

अहिलेसम्म प्राप्त मतअनुसार नेकपा एमाले करिब ५० हजार मतले अघि छ । एमालेले अहिलेसम्म ३१ लाख ६१ हजार २९५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले पनि उसकै हाराहारीमा मत प्राप्त गरेको छ । कांग्रेसको ३१ लाख ११ हजार ६ सय ४३ मत रहेको छ ।

नेकपा माओवादी केन्द्रको १२ लाख ९५ हजार ९ सय ३ मत रहेको छ । राजपा नेपालले ४ लाख ७० हजार ४ सय ८६ मत प्राप्त गरेको छ भने संघीय समाजवादी फोरम नेपालले ४ लाख ६९ हजार ४ सय ६१ मत प्राप्त गरेको छ ।

विवकेशील साझाले २ लाख १२ हजार २ सय ९३ मत प्राप्त गरेको छ भने राप्रपाले १ लाख ९६ हजार १९० मत प्राप्त गरेको छ ।

राप्रपा प्रजातान्त्रिकले ८८ हजार २८० मत प्राप्त गरेको छ । नयाँ शक्ति पार्टी, नेपालले ८१ हजार ४४६ मत प्राप्त गरेको छ । राजमोले ६२ हजार १२३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसबाहेक अन्य सबै साना दलको मत ३ लाख ५४ हजार ४९८ रहेको छ ।