(कविता)बेपत्ता माइला- एस. के. पूर्बेली

(कविता)बेपत्ता माइला- एस. के. पूर्बेली


हाम्रो देशको माइला बेपत्ता भएछ
कसैले देख्नु भए खबर गरिदिनू
बिचरा माइला ! के के न गर्छु भन्थ्यो
गर्न त धेरै नै गरेको थियो,

कहिले ठूलादाइ कै वंश नाश ग-यो
हजारौँ निर्दोष जनताको
छातीमा गोली नै ठोक्यो
सयौँ नागरिकहरुको बेपत्ता नै बनायो
तर पनि सोँचे जति गर्न सकेन,

सायद यही अभिषापले पो हो कि ?
विचरा माइला बेखबर छ,
हुनसक्छ यी सबै खुनको कारण पो हो कि ?
ऊ आफैँ बेपत्ता छ
हुल्याहा नै भन्नु पर्दा
हठी निडर, स्वाभाव
अनि
ठूलो कद भएको
कसैसँग डराउनु त के
कसैले केही बोले
बेपत्ता बनाइदिने हाम्रो माइला

पोहोर आएको जनसागरको
भेलमा परी ऊ आफैँ
बेपत्ता भयो कि
या गत महिना गएको
हिम पहिरोमा एक हूल
आरोहीहरु बेपत्ता भए भन्थे
कुनै हाम्रो देशको माइला थियो कि ?

जनकपुरमा बम पड्किँदा
दर्जन मानिस मरे भन्थे
फेरि पनि हाम्रै देशको माइला पो थियो कि ?
हुन त मधेश पूरै बन्द छ भन्छ
यही कारण अलि ढिलो भयो कि
जे भए पनि हाम्रो देशको
माइला बेपत्ता भइको छ
कसैले देख्नु भए
खबर गरिदिनु होला ।
-कुनतोङ्ग, हिप्पो गल्ली
चुनवान, हङ्गकङ्ग