सिंहदरबारभित्रको सुरक्षामा गम्भीर खेलबाड, चोरीको श्रृङ्खला यस्तो !

सिंहदरबारभित्रको सुरक्षामा गम्भीर खेलबाड, चोरीको श्रृङ्खला यस्तो !


सिंहदरबारभित्रको सुरक्षामा गम्भीर खेलबाड हुने गरेको पाइएको छ । देशको प्रमुख प्रशासनिक केन्द्रका रुपमा लिइने सिंहदरबारभित्रबाट एकपछि अर्को गरी चोरीका घटना बढेपछि त्यहाँको सुरक्षामा गम्भीर खेलबाड भएको पाइएको हो ।

पछिल्लो समय सिंहदरबारबाट कर्मचारीको ल्यापटपदेखि गाडीका टायरसम्म चोरी हुन थालेका छन् ।

श्रृङ्खला : १ 

शनिबार साँझ मात्रै अत्यन्तै कडा सुरक्षा रहने भनिएको सिंहदरबारभित्र एक टोयोटा गाडीको चारैवटा टायर हराएको छ । प्रहरीले शंखमूलस्थित बाराही टायर सेन्टरबाट ती हराएका टायर बरामद समेत गरेको छ । सिसिटिभीको आधारमा अनुसन्धान गरी चोरी घटना पत्ता लागेको हो ।

श्रृङ्खला : २

यता, गत वर्षको साउनमा एकाएक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव चिरञ्जिवी तिमल्सिनाको ल्यापटप, आईप्याड र एक लाख रुपैंयासहितको ब्याग चोरी भयो । उनी बबरमहलमा नगरपालिका यातायात गुरुयोजनाको कार्यक्रम सकाएर १० बजे मन्त्रालय पुगे । केहीबेरको बसाईपछि कार्यक्रमको जानकारी दिन अर्को महाशाखामा गए ।

नगरपालिका व्यवस्था शाखा ‘ख’का प्रमुख समेत रहेका तिमल्सिनाका अनुसार अरुलाई ऋण तिर्न एक लाख रुपैंया व्यागमा राखेका थिए । आखिर भेटिएन । त्यसअघि पनि पटकपटक चोरीका घटना भएका छन् ।

श्रृङ्खला : ३

तीन वर्षअघि शान्ति तथा पुनर्निर्माण मन्त्रालयको चौथो तलामा रहेको इमर्जेन्सी पिस सपोर्ट प्रोजेक्ट (इपिएसपी)का कार्यवहाक प्रमुख ध्रुवप्रसाद पौडेलेको कार्यकक्षबाट ल्यापट चोरी भएको थियो ।

उक्त ल्यापटप मन्त्रालयमै कार्यरत कार्यालय सहायक माधवप्रसाद पाण्डेले चोरी गरेको पत्ता लागेको थियो । करारमा नियुक्त गरिएका पाण्डेले अवकास पाइसकेपछि कार्यालय आएर ल्यापटप चोरी गरेको अनुसन्धानपछि खुलेको थियो ।

श्रृङ्खला : ४

०७१ कात्तिकमा परराष्ट्र मन्त्रालयका कम्प्युटर अधिकृत विकेक कन्दङवाको मन्त्रालयकै पार्किङबाट पल्सर मोटर साइकल चोरी भएको थियो । शान्ति तथा पुनर्निमाण मन्त्रालयबाटै तीन वर्ष तत्कालीन सचिव धु्रवप्रसाद शर्मा कार्यकक्षको हलबाट मल्टिलेन्स प्रोजेक्टर चोरी भएको थियो । करिब साढे दुई लाख रुपैयाँ पर्ने प्रोजेक्टर आजसम्म पनि कसले र्चोयो पत्ता लागेको छैन ।

श्रृङ्खला : ५

०७० मंसिरमा कृषि विकास मन्त्रालयमा जाइकाले दिएको ल्यापटप चोरी भएको थियो । जुन अहिलेसम्म पनि फेला पर्न सकेको छैन ।

सिंहदरवार जस्तो कडा सुरक्षा भएको ठाउँबाट चोरीका घटना बारम्बार सार्वजनिक हुँदासमेत अहिलेसम्म अधिकांश चोरीका घटनामा संलग्नको पहिचान खुल्न सकेकोे छैन । यसरी सिंहदरबारबाट चोरीका घटना बढ्नुले प्रशासनिक मूख्य केन्द्र अतिनै असुरक्षित रहेको प्रष्ट हुन्छ ।