एक्कासी बढेको चिसोले जनजीवन नै सुस्त !

एक्कासी बढेको चिसोले जनजीवन नै सुस्त !


वीरगञ्ज । मध्यतराईका जिल्लाहरूमा एक्कासी चिसो बढेको छ । केही दिनदेखि बढेको शितलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । विहाननैदेख बाक्लो हुस्सु र कुहिरो लागेसँगै चिसो बढेको हो । कुहिरोसँगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको छ भने रौतहटका स्थानीयको जनजीवन प्रभावित हुन थालेको छ ।

कुहिरो र शीतसँगै चल्ने पश्चिमी चिसोहावाका कारण स्थानीयको दैनिकी पनि सुस्त हुँदै गएको छ । बजार तथा कार्यालयहरूमा सर्वसाधारणको उपस्थिति दिउँसोतिर मात्रै हुन थालेको छ । निरन्तर चिसो बढेसँगै अस्पतालमा विरामीको चाप समेत बढ्न थालेको छ ।

चिसोका कारण दम, रुघाखोकी, ज्वरो, टाउको दुख्ने तथा कोल्ड डायरियाका बिरामीहरूको सख्या बढ्न थालेको नारायणी अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर इनामूलहकले बताउनुभयो । चिसोले गर्दा वृद्धवृद्धा र बालबालिका बढि प्रभावित भएका छन् । चिसोबाट जोगिने समाजसेवी प्रकाश थारुले बालबालिका तथा वृद्धहरूलाई विषेश ध्यान दिन अनुरोध गरेको छ ।

कुहिरोका कारण यातायातका साधनहरू दुर्घटना हुने सम्भावना बढेकाले आवश्यक सावधानी अपनाउन जिल्ला ट्राफिक कार्यालय अनुरोध गरेको छ । बाक्लो कुहिरो र हुस्सुका कारण सिमराबाट सञ्चालित विमानसेवा समेत प्रभावित हुन थालेका छन् । विहान उडान गर्ने विमानहरू समय तालिकाअनुसार उडान हुन नसकेपछि यात्रुहरूलाई समेत समस्या हुन थालेको छ ।

यसैबीच पर्साको जिराभवानी गाउँपालिकामा आज बिहान ९ बजे करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका वार्ड नं. ३ जितपुरका स्थानीय भुलाही महरा चमार रहेका छन् । चमार आज बिहान आफ्नै बारीमा काम गरिरहेको बेला विद्युतीय तार जमिननजिक रहेकोले त्यसैमा छोएर करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका चमारलाई उपचारको लागि वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायक निरीक्षक रामराजा पौडेलले जानकारी दिनुभयो ।

– प्रणय साह