सत्तामा नजाँदै बामगठबन्धनले सर्वसत्तावाद लादेको आरोप

सत्तामा नजाँदै बामगठबन्धनले सर्वसत्तावाद लादेको आरोप


दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राखेकोमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति प्रकट गरेका छन् । आफ्ना मतदातालाई धन्यवाद दिन आइतबार गृहजिल्ला तनहुँ पुगेका नेता पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने तर्क गर्दै भने.,’दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु राम्रो होइन ।’ राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा र प्रधानमन्त्री चयनको प्रक्रिया शुरु नहुने पौडेलको भनाइ छ ।

सरकारले नियुक्त गरेको प्रदेशसभा प्रमुखसँग वाम गठबन्धनका नेताले शपथ लिन्न भन्नु सर्वसत्तावाद र अधिनायकवादको संकेत भएको विचार पनि उनले अघिसारे । बाम गठबन्धनले सत्तामा नजाँदै अधिनायकीपन प्रदर्शन गरेको उनको संकेत थियो ।

वरिष्ठ नेता पौडेलले आँबुखैरेनीको वरादी र विमलनगरका मतदातालाई भेटेर धन्यवाद दिँदै चुनावमा पराजय भोगे पनि आफू जिल्लाको विकास र समृद्धिका लागि लागिरहने प्रतिबद्धता जनाए ।