अर्जुनधारामा वातावरणमैत्री ब्रिकेट उद्योग स्थापना

अर्जुनधारामा वातावरणमैत्री ब्रिकेट उद्योग स्थापना


विर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित पाराखोपीमा स्थापित बिल्डकन इण्डस्ट्रिज प्रालिको उदघाटन गरिएको छ । भौतिक संरचना निर्माणका लागि प्रयोग गरिने फ्लाइयस ब्रिकेट्स प्याभर टायल्स तथा होलो ब्लक उद्योगको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उदघाटन गरेका हुन् ।

जर्मन प्रविधिको स्वचालित मेसिनमार्फत उत्पादन गरिने अत्याधुनिक मेसिन नेपालमै पहिलो भएको बिल्डकन इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक नविन गट्टानीले जानकारी दिए । उनकाअनुसार इको फ्रेन्डली उद्योगका उत्पादन सय प्रतिशत हाइड्रोलिक प्रविधिबाट निर्माण गरिने गट्टानीले बताए ।

देशभरका विभिन्न स्थानमा स्थापित ईँटा उद्योगले वातावरण प्रदुषित हुनुका साथै माटो अभावमा ईँटा भट्टाहरु क्रमशः संकटमा पर्न लागेको भन्दै नयाँ प्रविधिको वातावरणमैत्री उद्योग सञ्चालनमा ल्याइएको निर्देशक गट्टानीको भनाई छ । वातावरणमैत्री उक्त अत्याधुनिक मेसिनबाट प्रतिदिन ८० हजार फ्लाइयस ब्रिकेट्स, प्याभर टायल्स र ४० हजार होलो ब्लक उत्पादन क्षमता रहेको बताइएको छ । उद्योगबाट उत्पादिन र्इँटा टायलहरु वातावरण मैत्री भएको भन्दै ‘ग्रीन कन्सरटेट’ नाम दिइएको उद्योग उद्घाटनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भीमचन्द्र भट्टराई, नविन गट्टानी, निकेश गट्टानी, गणेश बस्नेत, सुरेसकुमार अग्रवाल, महेश चित्लाङ्गिया ब्रदर्श, सुशीलकुमार अग्रवाल, सञ्जय बगडिया, साहिल अग्रवालसहित १० जनाको लगानीमा उद्योग सञ्चालनमा ल्याएका हन् ।

नेपालमा पहिलोपटक उत्पादन सुरु गरिएको उद्योगद्वारा उत्पादित सामग्रीका बारेमा सबैलाई बुझाउन चुनौतइी रहेको अध्यक्ष भट्टराईले बताए । र्इँटा उद्योगका मालिक समेत रहेका गट्टानीका अनुसार तुलनात्मक रुपमा ईँटा प्रयोग गर्दा भन्दा होलो ब्लक प्रयोग गर्दा कम खर्चिलो हुनेछ ।

४० करोड लगानीमा सञ्चालनमा ल्याइएको उद्योगले चाँडै क्रसर उद्योग समेत सञ्चालनको तयारी गरिरहेको बताइएको छ । २०७२ सालमा स्थापित उद्योगले अब भने व्यवसायिक उत्पादन शुरु गरेको हो ।

– रेजिना गौतम