समानुपातिकमा एमालेलाई ४१, कांग्रेसलाई ४० सिट

समानुपातिकमा एमालेलाई ४१, कांग्रेसलाई ४० सिट


अन्ततः समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले समानुपातिकतर्फको प्रतिनिधि सभा र प्रदेश सभा दुवैको मतगणना सकिएको बताएका हुन् ।

आयोगका अनुसार सर्लाहीको एउटा निर्वाचन क्षेत्रमा मात्रै बाँकी रहेको मतगणना पनि सकिएपछि आइतबार देशभरको समानुपातिक मतगणनाको कार्य सकिएको हो ।

आयोगले दिएको जानकारी अनुसार नेकपा एमालेले ४१ सिट पाएको छ भने नेपाली कांग्रेसले ४० सिट प्राप्त गरेको छ । समानुपातिकमा माओवादी केन्द्रले १७ सिट, मधेसकेन्द्रित दुई दल राजपा र संघीय समाजवादी फोरम दुवैले ६–६ सिट पाएका छन् ।

प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकको ४१ सिट जोड्दा एकसय २१ सिट पु¥याएर सबैभन्दा ठूलो पार्टी बन्न पुगेको छ । यस्तै, कांग्रेस प्रत्यक्षतर्फ २३ सिट मात्र जितेर तेस्रो पार्टी भएपनि समानुपातिकतर्फ जितेको ४० सिट जोडेर दोस्रो दल बन्न सफल भएको छ । एकल बहुमतका लागि एमालेलाई १७ सिट अपुग छ । २७५ सदस्यीय प्रतिनिधि सभामा कांग्रेसको कूल ६३ सिट रहनेछ ।

निर्बाचन आयोगका अनुसार कूल ९५ लाख ४४ हजार ७४४ सदर मत गणना भएको छ । एमाले र कांग्रेसबीच ४५ हजार १०५ मतको अन्तर छ । तर उपलब्ध ११० सिट संख्या विभाजन गर्दा भने दुई दलको अन्तर एक सिटमात्र हुनेछ । निर्वाचनमा सहभागी ४९ दलमध्ये तीन प्रतिशतको थ्रेसहोल्ड कटाउने दल पाँच वटा मात्रै भएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका हुन् ।