मेरी छोरी, मेरा कथा र चित्रहरु !-गणेश इजम

मेरी छोरी, मेरा कथा र चित्रहरु !-गणेश इजम


मेरी छोरी ! तिमी ठूली भइसक्यौ
अब आमालाई सघाऊ
चूला जलाउने अभ्यास गर
पानी तताउने कोशिस गर
स्कूलको होमवर्क आफै सिध्याउने गर
आफ्नो कपाल आफै सम्याऊ
मेरी छोरी ! तिमी ठूली भइसक्यौ ।

मैले तिमीलाई धेरैपटक यस्तै भनेको थिएँ ।

आज तिमीले चूला जलायौ र तातो पानी बसाल्यौ
आज तिमीले धारा खोलेर स्कूलको पोशाक पखाल्यौ
आज तिमीले भूइँमा पोचा लगायौ र पर्दा सपक्क पार्‍यौ
आज तिमीले बाहुला भिजाउँदै पञ्जाले उचालिएर सिंकमा वर्तन पखाल्यौ
आज तिमीले धेरै काम गर्‍यौ, जुन म सल्लाह दिने गर्दथेँ ।

निनिमेष तिम्रा यी कर्म नियाँलिरहँदा
मेरो मन खुशी हुनुपर्ने हो, कुन्नि किन कटक्क खाएको छ !
मेरो छाती गर्विलो हुनुपर्ने हो, कुन्नि किन, चसक्क दुखेको छ !!

सायद !
सायद ! तिम्रो वालापन मेरा हातहरुबाट फुत्किरहेकोमा हुनसक्छ
सायद ! तिम्रा वालसुलभ क्रिडाहरु अब सम्झनामा फेरिएकाले हुनसक्छ
सायद ! तिम्रा कलिला हत्केलाहरुमा कोरिन लागेका रेखाहरु
अनि ती रेखाका अनेकौं अर्थभित्र
एउटा बाबुको छायाँ पिरोलिएकोमा हुनसक्छ,
छोरी ! आज मलाई एकतमासको पीडाबोध भइरहेको छ ।
मेरो मन खुशी हुनुपर्ने हो, कुन्नि किन कटक्क खाएको छ !
मेरो छाती गर्विलो हुनुपर्ने हो, कुन्नि किन, चसक्क दुखेको छ !!

खण्ड-खण्ड छन् जीवनको यो सग्लो स्वरुपमा
एक खण्ड निख्खर धूलो सुम्सुम्याएर त्यसमाथि अक्षरका गावा गाड्दै
गाउँमा कानायङ र सरश्रम्बाका कथा सुनेरै बित्यो
विज्ञानले नचिनेका अचम्भका पात्रहरुसँगै
कलिलो मस्तिष्कका तन्तुहरु छिप्पिएका हुन् ।

तिमीले मन पराएकी स्नो हृवाइट एण्ड दी सेभेन डोर्फस्
तिमीले पढेकी एलिस इन वन्डरल्याण्ड, जंगल बुक र स्लीपिङ ब्यूटीका कथाहरु
हामीले त सुनकेशरी रानीको कथा सुन्यौं
माथि लेकको भेँडी गोठमा आउने सोक्पाको कथा सुन्यौं
र सोक्पाकै कथाबाट संवाद दोहोरो हुनुपर्दछ भन्ने बुझ्यौं
सुल्टो हल्केलामा खीर र उल्टो हत्केलामा गड्यौंला खुवाउँदै
दैवी ज्ञान भर्ने वन झाँक्रीको कथा सुन्यौं
र तिनै कथाबाटै प्रकट थुप्रै झाँक्रीहरुले
बिरामी टोकेर बोक्सीनास उखालेका घटनाहरु हेर्‍यौं ।

जब मैले तिमीलाई यो सत्य भोगाइहरु सुनाएँ
तिम्रो कलिलो मस्तिष्कले यी सब सत्यलाई केवल फिक्सन ठाने
अनि मेरा भोगाइहरु सबै मेरैअघिल्तिरै दन्त्य कथामा फेरिए
मेरा फिक्सन भएका कथाहरु तिम्रा फिक्सन कथाहरु
फरक परिवेशका, फरक रुपरङका हाम्रा कथाहरु
तिम्रो मस्तिष्कमा कोरिन लागेका नक्साहरु
र मेरो मस्तिष्कमा उत्रिएका नक्साहरु
यी नक्साहरुश्र फरक परेकोमा हुन सक्छ, सायद !
छोरी ! आज मलाई एकतमासको पीडाबोध भइरहेको छ ।
मेरो मन खुशी हुनुपर्ने हो, कुन्नि किन कटक्क खाएको छ !
मेरो छाती गर्विलो हुनुपर्ने हो, कुन्नि किन, चसक्क दुखेको छ !!

उस बेलाका हाट बजारका अनिँदा रातहरु
चाँप, गुराँस, बेली, चमेली वा सिल्लरीका फूलहरुजस्तै,
हिमचूलीको हिउँ र हिँउ खोलाको पानीजस्तै,
आत्मैबाट गुन्जने प्रणयका मूर्छनाहरु, जीवनका लयहरु,
समयसँगै फेरिएका ती मूल्य, मान्यता र परिभाषाहरु,
यी माझीहरुका गाउँ र गाउँमाथि उभिएका आकाश घोँच्ने घरहरु
हाम्रो बारीछेउको मलबाँसभन्दा कयौं गुणा अग्ला घरहरु
र घरको फेँदमा बालिएका फुङसोइका सिन्केधूपहरु
समुद्रमाथिका पुलहरु, पहाडमुनिका सुरुङहरु
यहाँका पार्क, बस र रेलका डब्बाहरु
आलिङ्गन चुम्बन अनेकओली प्रेमका उच्छवासहरु

भूमण्डलीकरणको छालले पातलिएको
आफ्नै संस्कृतिको पन्यालो छायाँ आजसम्म ओढेकोले हुनसक्छ
तिमीले स्वाभाविक मान्ने यी धेरै कुराहरु, मेरालागि स्वभाविक भएका छैनन्
एक्लाएक्लै मानिस र मानिसै मानिसको भीड अनि भीडै भीडको शहर
यो अक्षररुपी क्यानभासमा चित्रकारका गुजुल्टिएका स्ट्रोकहरुजस्तै,
आफ्नै अस्तित्वको रङ पोखिएर
नयाँ अब्स्ट्राक्ट आर्ट बन्न लागेको छ मेरो उपस्थिति
र अल्मलिइरहेको छ मेरो आइकोनोग्राफी ।

त्यसैले तिमीले स्वभाविक मान्ने धेरै कुराहरु मेरालागि स्वाभाविक भएका छैनन् ।
त्यसैले, छोरी ! आज मलाई एकतमासको पीडाबोध भइरहेको छ ।
मेरो मन खुशी हुनुपर्ने हो, कुन्नि किन कटक्क खाएको छ !
मेरो छाती गर्विलो हुनुपर्ने हो, कुन्नि किन, चसक्क दुखेको छ !!

मनमा लागेको छ तिमीलाई नाइटिङ्गेलको कथा सुनाऊँ
हिउँसँगै जुझ्दै हिमालभन्दा माथि-माथि पुगेकी पासाङ ल्हामूको कथा सुनाऊँ
निर्मम बूट र बारुदको धूवाँमुनि अँकुराइरहेकी आँगसान सुकीको कथा सुनाऊँ
या त अनाथहरुको मुस्कानमा फुलिरहने मदर टेरेसाको कथा सुनाऊँ
यस्तै थुप्रै-थुप्रैका कथाहरु सुनाऊँ तिमीलाई
र यिनीहरुको हरियो रङमा सर्लक्क चित्रहरु उतारौं तिमीमा

आफ्नै लागि त जीवजन्तु, किटपतङ्ग सबै बाँचेकै छन् यो माटोमा,
त्यसैले मेरो चित्रमा यी जीवजन्तु, किटपतङ्गहरु रहने छैनन्
मेरो रङहरुमा आफू मात्रै बाँच्नुको कुनै अर्थ रहने छैन
गुँडबाट पखेटा लागेका चराहरु र बगेको खोलाहरुको उखान पनि
समेटिने छैनन् मेरो चित्रमा,
सायद, आज यी बर्जित रङहरु चित्रमा मिसिने भयले हुनसक्छ,
छोरी ! आज मलाई एकतमासको पीडाबोध भइरहेको छ ।
मेरो मन खुशी हुनुपर्ने हो, कुन्नि किन कटक्क खाएको छ !
मेरो छाती गर्विलो हुनुपर्ने हो, कुन्नि किन, चसक्क दुखेको छ !!
-हङकङ

शब्दार्थः
# कानायङ – लिम्बू समुदायमा प्रचलित किम्बदन्तिको एक रहस्यमय भयकारी नरभक्षी राक्षसी पात्र जसका लामा-लामा कानहरु र अजंगको शरीर हुन्छ, अदृस्य भएर गाउँ-गाउँ डुली हिंड्छ, जुनेली रातमा पहाड पर्वत थर्काउने गरी हाँस्ने गर्दछ भन्ने विश्वास गरिन्थ्यो । खासगरी कलह गर्ने वा समयमा सुत्न नचाहने बालबच्चाहरुलाई सुताउन वा चुप लगाउन बढी यो कथाको प्रसंग ल्याउने गरिन्थ्यो ।
# सरश्रम्बा वा सरसन्दे – लिम्बू जातिको किम्बदन्तिमा वर्णन गरिने एक प्रकारको भयकारी निराकार पात्र । रातमा हिंड्दा रुख ढाले जस्तो गरी बाटो छेक्ने वा रुख वा बाँसको टुप्पाबाट सररर गरेर झरेझैं आवज गर्ने वा स्याउला हल्लाएको आवाजले पच्छ्याउने गर्दछ भन्ने विश्वास गरिन्थ्यो ।
# सोक्पा – लेकका गोठहरुमा आउने विश्वास गरिएको शरीरभरि लामालामा रौं भएको मानिस आकारको जीव जो एकोहोरो हुहुइ गरेर आवाज दिने गर्दछ । उस बेलाका गोठालाहरुले हुहुइ गरी सकेपछि गाइबस्तु ठीकै छन् ?- भनेर प्रश्न गर्दथे र जवाफमा ठीकै छ भन्ने आएमा अर्को गोठालो रहेछ भनेर बुझिन्थ्यो तर जवाफ नआई एकोहोरो हुहुइ मात्र गरे सोक्पा रहेको थाहा पाई सुरक्षाको बन्दोबस्त गरिन्थ्यो भन्ने जनश्रुति पाइन्छ ।
# वनझाँक्री – आदि गुरु जसले योग्य मानिसलाई वसमा लिई महिनौंसम्म अनकण्टार गुफामा राखी दैवी ज्ञान दिई पारंगत बनाई झाँक्रीका रुपमा फिर्ता पठाउने गर्दछ । होंचो कद लामा-लामा जट्टा भएको र सानो ढ्याग्रो ठटाउँदै गोठ-गोठमा आउने विश्वास गरिन्छ ।
# फिक्सन – काल्पनिक
# क्यानभास – चित्रकारले चित्र बनाउन प्रयोग गर्ने कागज वा कपडा
# अब्स्ट्राक्ट – अमूर्त चित्र
# स्ट्रोक – चित्रकारले रंग भर्नकालागि ब्रस चलाउँदाको आरोह अवरोह
# Iconography – चित्रमा समाविष्ट विषयहरुको सांस्कृतिक धार्मिक अर्थहरुको मिहीनरुपमा अध्ययन गरिने पद्घति
# Florence Nightingale – गणितमा तीष्ण दिमाग भएकी तर पेशाले नर्स क्रिमिया युध्दका बेला घाइते सिपाहींहरुलाई अस्पतालका सबै कर्मचारिहरु राति विश्राम गरिरहँदा पनि हातमा बत्ती लिएर अहोरात्र घाइतेहरुको सेवा गरी विश्व प्रसिध्द हुन पुगेकी एक नर्स जसलाई बत्ती लिएकी महिलाको उपनामले पनि चिनिन्छ । उनको जन्म १२ मे १८२० र मृत्यु १३ अगष्ट १९१०मा भएको थियो ।
# पासाङ ल्हामू – प्रथम सफल सगरमाथा आरोही नेपाली महिला, उनी अप्रिल २२ सन् १९९३मा सगरमाथाको शिखर चुम्न सफल भइन् तर झर्ने क्रममा उनले मृत्युवरण गरिन् । एक साहासी नेपाली महिलाको रुपमा उनी परिचित छिन् । मृत्युपरान्त उनलाई नेपाल सरकारले नेपाल तारा उपाधिले सम्मान गरेको थियो ।
# आङसाङ सुकी – सन् १९४५ जुन १९मा जन्मिएकी र प्रजातन्त्रकालागि समर्पित नेतृ, वर्माको नेसनल लिग फर डिमोक्रेसीकी नेतृ, सन् १९९० मा सम्पन्न निर्वाचनमा अत्याधिक बहुमतले विजयी भए तापनि बर्माको निरंकुश सैनिक सत्ताले आफ्नै घरमा नजरबन्दमा राखी रहेको एक दृढ साहासी महिला नेता उहांलाई नोवेल शान्ति पुरस्कारललगायत विभिन्न पुरस्कारहरुले सम्मानित गरिएको छ ।
# मदर टेरेसा – भारतको कोलकातामा अनाथ, असाहाय, विरामी र गरीब दीन-दुखिहरुको सेवा गरी विश्व प्रसिध्द बन्न पुगेकी मदर टेरेसाको जन्म अगस्ट २६, सन १९१०मा र मृत्यु सेप्टेम्बर ५ सन् १९९७ मा भएको थियो । उनको सेवाको कदर गर्दै नोवेल शान्ति पुरस्कार व्दारा उनलाई सम्मानित गरिएको थियो ।