४,६८२ पशुको गाउँमै निःशुल्क उपचार

४,६८२ पशुको गाउँमै निःशुल्क उपचार


सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित कदमवासमा गरिएको स्वास्थ्य शिविरमा चार हजार ६ सय ८२ पशुको निशुल्क उपचार गरिएको छ । चार दिनसम्म गरिएको शिविरमा तीन सय ४८ धुरीको पशुको उपचार गरिएको थियो ।

अक्सफामको सहयोगमा जिल्ला पशु सेवा कार्यालय सिन्धुपाल्चोकसँगको समन्वयमा जनहित ग्रामीण सेवा समितिले शिविरको आयोजना गरेको हो । शिविरमा उपचार गरिएको पशुहरुका लागि निशुल्क औषधीसमेत वितरण गरिएको आयोजक संस्था जनहितले जनाएको छ ।

पशुहरुमा विभिन्न खालका रोगहरु लाग्न सक्ने हुनाले औषधीको प्रयोग र बेला–बेलामा स्वास्थ्य जाँच गराउनुपर्ने चेतना जगाउनको लागि पशु स्वास्थ्य शिविर गरिएको हो । उक्त शिविरमा किसानहरुको गाई, भैंसी, बाख्राहरुको जाँच, गोबर परीक्षण, पशु बन्ध्याकरण, परामर्श तथा निःशुल्क औषधी वितरण गरिएको थियो । सो शिविरमा ४७ वटा बोकाको बन्ध्याकरण गरिएको जनहितका खाद्य सुरक्षा अधिकृत भरतविक्रम थापाले जानकारी दिए ।

गाउँमै निःशुल्क पशु स्वास्थ्य शिविर भएपछि किसानहरु खुशी थिए । स्थानीय अम्बरबहादुर विकले संस्थाले गाँउमा नै पशु स्वास्थ्य शिविर ल्याएपछि आफूहरुले आँगनमै सेवा पाएकोमा खुशी व्यक्त गरे । ‘बेला बेलामा यस्तो शिविरको आयोजना भएमा किसान पनि व्यवसायिक रुपमै पशुपालनमा लाग्ने जाँगर आउँछ,’ उनले भने ।

गाउँमै शिविरको आयोजना हुँदा पशु जाँचका लागि टाढा जानुपर्ने समस्याबाट मुक्ति मिलेको स्थानीय बालकुमारी गिरी बताउँछिन् । ‘बोका बन्ध्याकरणका लागि दुई घण्टासम्म हिडेर बजार पुग्नुपथ्र्यो,’ उनले भनिन्, ‘गाउँमै सेवा पाएपछि निकै सजिलो भयो ।’ उनले शिविरमा निःशुल्क औषधीसमेत पाएकाले गाउँवासीलाई निकै राहत भएको बताइन् । गाउँमा पशुहरुको नियमित जाँच नहुने हुँदा शिविरको आयोजना गरिएको जनहितका थापाले जानकारी दिए । यसअघि पनि जुगल गाँउपालिकामा पनि शिविर संचालन गरिएको थियो ।

– किशोर बुढाथोकी