एकदिवसीय क्रिकेटमा दोहोरो सतक : रोहितको ह्याट्रिक

एकदिवसीय क्रिकेटमा दोहोरो सतक : रोहितको ह्याट्रिक


एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म पाँचजना खेलाडीले दोहोरो सतक प्रहार गरेका छन् । दोहोरो सतक प्रहार गर्ने खेलाडीहरूमा तीनजना भारतीय, एकजना वेष्टइण्डिज र अर्का न्युजिल्याण्डका खेलाडी रहेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो दोहोरो सतक लिटिल मास्टर सचिन तेन्डुल्करले बनाएका थिए । सचिनले दक्षिण अफ्रिकाविरुद्ध १ सय ४७ बलमा २०० रन बनाउँदै नटआउट रहेका थिए । सचिनको एकदिवसीय क्रिकेटमा यो नै सर्वोक्तम स्कोर हो । सचिनले २०१० मा दोहोरो सतक प्रहार गरेर एकदिवसीय क्रिकेटमा पनि दोहोरो सतक बनाउन सकिन्छ भन्ने उदारहण पेस गरेका थिए ।

सचिनपछि एकदिवसीय क्रिकेटमा दोहोरो सतक प्रहार गर्ने खेलाडी भारतका वीरेन्द्र सेहवाग हुन् । सहवागले सन् २०११ म वेष्टइण्डिजविरुद्ध दोहोरो सतक बनाएका थिए । सेहवागले १ सय ४९ बलमा २ सय १९ रन बनाउने क्रममा २३ चौका ६ छक्का प्रहार गरेका थिए । यो सतकसंगै उनले सचिनको दोहोरो सतकको किर्तिमानी पनि तोडेका थिए ।

त्यसको तीन वर्षपछि अर्थात् सन् २०१४ मा अर्का भारतीय क्रिकेट खेलाडी रोहित शर्माले दोहोरो सतक प्रहार गरेका थिए । उनले कोलकातामा भएको श्रीलंकाविरुद्धको खेलमा २ सय ६४ रन बनाए थिए । जुन एकदिवसीय क्रिकेटको विश्व कीर्तिमान पनि हो । विश्व क्रिकेटमा दोहोरो सतक प्रहार गर्ने भारतीय खेलाडीहरूमा उनले आफ्नो नाम पनि समावेस गर्दै ह्याट्रिक गर्न सफल भएका थिए । शर्माको यो कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

त्यसपछि सन २०१५ मा वेष्टइण्डिजका विस्फोटक ब्याड्सम्यान क्रिस गेलले यो सफलता प्राप्त गरेका थिए । जिम्वावेविरुद्धको खेलमा गेलले २ सय १५ रन बनाएका थिए । गेल दोहोरो सतक बनाउने क्रममा १६ छक्का र १० चौका प्रहार गरेका थिए । गेलले यो सतक सन २०१५को विश्वकप क्रिकेटमा बनाएका हुन् । गेल विश्व क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी हुन् । ज्ञातव्य छ, उनले अहिलेसम्ममा ६ सय वटा छक्का प्रकार गरेर विश्व कीर्तिमान बनाएका छन् ।

न्युजिल्याण्डका क्रिकेटर मार्टिन ग्यास्टिलले एकदिवसीय क्रिकेटमा सर्वाधिक रन अर्थात दोहोरो सतक बनाएर किर्तिमान कायम गरेका थिए । उनले २०१५मा वेष्टइण्डिजका विरुद्ध २ सय ३७ रनको (नटआउट) विशाल पारी खेलेका थिए । मार्टिन आफ्नो उक्त विशाल पारीमा २४ चौका र ११ छक्का प्रहार गरेका थिए । मार्टिनको यो उत्कृष्ट प्रदर्शनसंगै उनी रातारात क्रिकेटको हिरो बन्न सफल भएका थिए ।

एकदिवसीय क्रिकेटमा रोहित शर्मा मात्रै त्यस्ता खेलाडी हुन् जसले तीनपटक दोहोरो सतक बनाउन सफल भएका छन् । पहिलो दोहोरो सतक श्रीलंकाविरुद्ध बनाएका शर्माले दोश्रो दोहोरो सतक अष्ट्रेलियाका विरुद्ध बनाएका थिए । त्यसपछि हालै २०१७ मा शर्माले श्रीलंकाविरुद्ध तेश्रोपल्ट दोहोरो सतक प्रहार गरेर दोहोरो सतकमा पनि ह्याट्रिक गरेका छन् ।