प्रवासी जीवन र भविष्यका योजनाहरु

प्रवासी जीवन र भविष्यका योजनाहरु


-प्रकाश के.सी.,
हिउँदको चर्चाले तात्तिएको समयमा, पवको मुख्य ढोकानजिकै एक नीलो रङको ४×४ बी एम डब्लू रोकियो । हिउँका थुप्रोहरुमा केही चिप्लिएको त्यो ४×४ को ड्राइभिङ सिटबाट हाँस्दै किस्मत गुरुङ बाहिर निस्के । ढोकानजिकै पर्खिएका हुम गुरुङले -‘त्यति परबाट, यस्तो हिउँमा पनि यति चाडैं आइपुग्या’ भन्या’ !’ भन्दै आश्चर्य व्यक्त गरेकाथिए, सायद त्यही आश्चर्य-प्रकटकै प्रतीक्षामा थिए किस्मत- ‘४×४ हुनुपर्छ, अनि त्यसमाथि बी एम डब्लू । यस्तो हिउँ त के, भीर-पखेरामा पनि उक्लिइन्छ ।’ त्यसपछि हाँस्दै दुबै पवभित्र पसे ।

ब्रिटिश सरकारले हङकङ, चीनलाई हस्तान्तरण गर्ने विधिवत रुपमा पक्का भइसकेको थियो । हङकङमा बनाइएको नयाँ एअरपोर्ट चेपलापकोकलाई जोड्नको लागि छुट्टै रेल लिङ्क बनाइँदैथियो । काउलून स्टेशनभित्र केही दर्जन नेपालीहरु सोही कन्स्ट्रक्सनमा काम गर्दथे । लन्च टाइममा सबै लश्करै अनि गोलबद्ध भई बसेर सँगै खाना खाने गर्दथे । त्यही हूलमा, संखुवासभाको एक किसानका छोरा पनि थिए, जसको हङकङ आउनुको एउटै मुख्य धोको भनेको घरको छानो टिनले छाउने, दुई तीन हल खेत, एक हल गोरुसहित जोड्न सक्ने पैसा कमाएपछि नेपाल र्फकने थियो, त्यस हूलमा सबैलाई लाग्थ्यो, उसको उद्देश्यचाहिँ सजिलै र चाँडै पूरा हुनेछ । सन् ९५ मा हङकङ छिरेका त्यही किसानको छोरो, दुई सन्तानको बाबु किस्मत गुरुङ अहिले यूकेमा छन् । सन् ०८ मा यूके छिरेका किस्मतले यतिखेर काठमाण्डौंको आफ्नो जग्गामध्येको पाँच आना जग्गा तेइस लाख रुपैंया प्रतिआनाको दरले बेची यता कमाएको पैसामा जोडेर दुई लाख पचास हजार पाउण्डको लागतको घर किन्ने तरखरमा छन् ।

मानव आकांक्षा तथा लोभ अनि लालचहरु समयानुसार सँधै गुणात्मक रुपले वृद्धि हुन्छ जस्तो लाग्ने गरी हरेक दोस्रो विदेशिएका नेपाली जीवनयापन गर्न वाध्य हुन्छ भन्ने बुझ्न सकिन्छ । हुन त मानव सभ्यताको विकसित रुप त्यही मानवीय लोभको माध्यमबाट नै संचरित भएको हो । मान्छे, सुखको पछि भाग्दछन् या तिनलाई तिनका दुःखले भगाउँछन् ? प्रश्न अन्यौलता उत्पन्न गर्ने खालको भने हो । सम्भावनाहरुको खोजीमा खासगरी चेतनशील मानिसहरु भागदौड गर्दछन्, जीवनलाई क्षणभङ्गुर मान्न ती कहिल्यै तयार हुँदैनन्, या फैलिन सकुन्जेल ती बिस्तारिन चाहान्छन् । यही दौडमा तिनीहरु विश्राम गर्नै नभ्याइकन जीवनको उत्कृष्ठतालाई विसर्जन गर्न पनि वाध्य हुन्छन्, त्यो भने अर्को पक्ष हो । निचोडचाहिँ यो हो कि हरेकजस्तै, परदेशिएका नेपालीहरु सबै नै लोभले परिचालित हुन्छन्, पक्कै नै ।

तनहुँ फिरफिरेका समाजसेवी याम गुरुङ पाँच वर्षजति दुःख गरी केही पैसा कमाएर आफ्नै जिल्लामा नै दशपन्ध्र जनालाई रोजगारी दिन सकिने धन्धा गर्ने उद्देश्य लिएर सन् ९७ मा हङकङ छिरेका थिए । नेपालको स्थिति सन्तोषजनक नभएको, अशान्ति झन्-झन् बढेकोले गर्दा यामको त्यही पाँच वर्षे म्याद बढ्दै-बढ्दै गयो र गत वर्ष उनी आफ्नो छोराको भविष्यको लागि भनी यूके भित्रिएका छन् । सम्भावनाहरुको खोजीमा भौंतारिँदा आफ्नो जीवनलाई सुधार्न नसकेको जस्तो लागे पनि बच्चाको भविष्य भने सम्वर्द्धन गर्न प्रतिवद्ध याम, भविष्यमा नेपाल फर्केर जिल्लाको हितमा केही गर्ने आफ्नो रहर भने नमर्ने बताउँछन् । पवमा साथीहरुसँग वियरमा झुम्दै गरेका याम, यूकेमा चाहिँ स्याथी रुपमा बसोबास नगर्ने दृढता व्यक्त गर्दछन् ।

मानिसहरु योजनामुताविक परिचालित हुन, खासगरी एक स्थानबाट अर्को स्थानमा सम्भावना अनि सम्वृद्धिहरुको आशा गर्दै लाग्नेहरुका जमातको सान्दर्भिकतामा भने पक्कै सक्दैनन् भन्न सकिन्छ । जीवनमा बिताइएका वर्षहरुले ती व्यक्तिलाई समय र स्थानसापेक्ष बनाउँदै लगेको हुन्छ, अनि त्यही सापेक्षताले गर्दा त्यसरी भोग भोग्ने तिनलाई बानी पर्दै गएको हुन्छ । घटनाहरु पनि स्थान विशेषको हुन्छ र घटनाहरुले मानिसलाई विविध प्रकारको सान्सारिक जालभित्र जकड्दै लगेको हुन्छ, अतः समयको प्रवाहसँग वहकिनुबाहेक मानिससँग, जस्तो अर्को विकल्प हुँदैन, खासगरी यो पवभित्रको हूलमा ।

विराटनगरका नरेन्द्र क्षेत्रीले काठमाण्डौमा अन्नपूर्ण लुकिङ ग्लास इन्डस्ट्रिज चलाउँथे, त्यही उद्योगलाई समुन्नत बनाउनका लागि भनी नरेन्द्र सन् ९७ मा हङकङ छिरे, एक वर्षमा नै दुःख गरी दश लाख रुपैंया कमाएर फर्कने उद्देश्य बोकेका उनी अहिले यूकेमा मज्जाले नै सेटल्ड भएका छन् । एक हङकङमा र एक यूकेमा छोरा जन्माएका नरेन्द्र, सन् ०६ मा यूके छिरेका हुन् । बच्चाहरुको शिक्षा तथा तिनका भविष्य यहाँ राम्रो देख्ने नरेन्द्रलाई यहाँको हावापानी फाप्दै गएको छ । ‘जीवनलाई योजनामा ढालेर बाँच्न सकिएन ।’ वाइनको घुँट लगाउँदै उनी बताउँदै थिए भने, त्यो कुरालाई सह दिँदै किस्मत, याम, हुम अनि सुनील ।

बाहिर बेस्करी हिउँ पर्दैथियो, दश इन्च हिउँ, यो वर्षको पहिलो प्रकोप थियो । यूकेकै सबैभन्दा ठूलो सपिङ सेन्टर व्रेन्टक्रस सपिङ सेन्टर, क्रिसमस सपिङको मुख्य समयमा बन्द गर्न परेको छ, अरबौं घाटा लाग्ने क्रममा यूकेका विभिन्न एअरपोर्टहरु बन्द भएका छन्, यो हिउँकै प्रकोपले बताइएअनुसार ९०० वटा ससाना उद्योगधन्दाहरु धराशयी हुने आर्थिक विज्ञहरुको अनुमान छ । तर समयको चक्र नरोकिने क्रममा हुन्छ नै, जस्तो मानवीय यापन शैलीको हुन्छ । विहान ९ बजेदेखि साँझ ४ बजेसम्मको हिउँदे दिन बाँच्ने सह यूकेबासीजस्तै गरी सानो अवसरलाई पनि स्थानीय पारामा जिउन प्रतिवद्ध यो हूलमा…जीवनमा घटना तथा अवसरहरु जसरी फोल्डिङ हुँदै जान्छ, त्यसरी नै त्यसलाई स्वीकार गर्दै जाने भन्ने उक्तिलाई अवलम्वन गर्ने स्वभाव रहेको लाग्दथ्यो । जीवनलाई सजाउने ध्याउन्नामा विदेशिएका (अनुवन्धमा विदेशिनेबाहेक)हरुका प्रवासी जीवनमा कुनै भविष्यको लागि सायदै योजनाहरु होलान् । पढ्ने र पढ्नेको डिपेन्डेन्ट स्टाटस् लिएर आउनेहरुमध्ये ठूलो परिमाणकाहरुको भने जसरी हुन्छ, भीसाको स्टाटस् परिवर्तन गरी यहीँ नै स्थायी रुपमा बसोबास गर्ने योजना हुन्छ तर सेटलमेन्टको लागि आउनेहरु भने जीवनको भागदौडलाई यतै विर्सजन गर्ने भावना राख्दछन् भन्नु अति हुँदैन ।

फिदिखोला, स्याङ्जाका हुम गुरुङ, पोखरामा एक होटलको व्यवसाय गर्दथे । व्यवसाय राम्रो भएकै बखत बिनायोजना उनी सन् ९५ मा हङकङ छिरे, दुइटी छोरीहरुको भविष्य राम्रो बन्न सक्ने सम्भावनाको पछि लागेको होइन भन्न उनी सक्दैनन् तर जीवनमा बिनायोजना बाँच्ने रहर राख्ने गुरुङ, एक दुई वर्ष बिताएपछि नै फिदिखोलास्थित आफ्नो गाउँमा गई एक सानो रिसोर्ट खोल्ने विचार भने मनमा पाल्न थालेका थिए । अर्को पाँच वर्षको म्याद राखेर लागी परेका हुम, सन् ०८ मा उही दुई छोरीहरुको भविष्य राम्रो हुन्छ भन्दै सपरिवार यूके सरेका छन् र यहाँ राम्रैसँग सेटल्ड भएका छन् । तर अझै पनि, बुढेशकाल, गाउँको चौतारीमा बस्दै पारितर्फको हिमाल हेर्दै दिनहरु बिताउने रहर भने अद्यापि नै राखेका छन् । ‘मेरा रहरहरु समयअनुसार स्वतः परिवर्तन हुँदै गए, मलाई लाग्दैन, म अहिले रिटायर्ड लाइफको बारेमा निश्चित रुपले योजना बनाउन सक्छु । थाहा छैन, छोरीहरुको विवाहपछि एक्लिने हामी बूढाबूढीको जरुरत गाउँले नेपाली परिवेश होला, या संरक्षित अनि प्रवन्धित अंग्रेजी परिवेश !’ वाइनको सुरमा हुम सम्वेदनशील लाग्दथे ।

विदेशी भूमिमा, विदेशी रहनसहनमा भिज्दै गएका नेपालीहरु सजिलैसँग त्यो भूमि छाड्न नसक्ने स्पष्ट देखिएको छ । तत्कालीन नेपालको बिग्रँदो अवस्था, विदेशमा शान्ति, सुरक्षा तथा आर्थिक विकासको भोग आदिले गर्दा पनि नेपालीहरु बिस्तारै आफ्ना योजनाहरुलाई बिर्सँदै जाने गर्दछन् । पोखराको महेन्द्रपुल निबासी सुनील श्रेष्ठ सन् ९४ मा नै हङकङ छिरेका हुन् । सन् ९७ मा हङकङ चीनको भइसकेपछि नेपालीहरु पनि र्फकनु पर्छ भन्ने विश्वास राखेर, त्यही तीन वर्षभित्र सक्दो कमाएर नेपाल र्फकने भन्दै हङकङमा कडा मिहिनेत गर्न थालेका सुनीलले हङकङमा दुइटा फ्ल्याट किनिसकेका छन् भने भर्खरै मात्र परिवार लिएर यूके छिरेका छन् । अवसरहरुबाट विमुख नहुने सुनीलको दृढता स्पष्ट रुपमा दृष्टिगत हुन्छ । सुनीललाई पनि लाग्दैन, सबै मानिसहरु योजनामुताविक परिचालित हुन सक्दछन् ।

बितेको वर्षको शुरुबाट नै सरकार परिवर्तन भएर नयाँ सरकारको स्थायी गठन हुन्छ भन्ने नेपाली राजनीतिज्ञहरुसँग राष्ट्रिय हितको लागि पनि सहमति जुटाउन सक्ने प्रतिवद्धता छैन, नपत्याउँदो गरी थोरै अवधिमा नेपाल असमन्जस हालातमा रहन गएको छ । नेपाली राजनीतिको चर्चा अहिले चुट्किलाहरुमा गरिन थालिएको छ, नेपालीहरु अब राजनीतिक हालातको चर्चा गर्दै क्रुद्ध हुँदैनन्, अहिले ती हाँस्न थालेका छन् । त्यही क्रममा देशबाट कुनै न कुनै वहानामा बिदेशिनेहरुको संख्यामा दिनप्रतिदिनको दरले वृद्धि भइरहेको छ । विदेशी भूमिमा, जीवनलाई सिँगार्ने धोकोमा पसेकाहरु, त्यहीँकै माटोमा माटो भएका छन्, धूलो बनेका छन् ।

हूलका हूल स्वदेशी विदेशीहरुको हूलमै ट्याम्म मिलेको जस्तो लाग्ने गरी सम्भावनाहरुको खोजीमा भौंतारिँदै यूके भित्रिएका हङकङेली नेपालीहरुको यो सानो डप्फा, पवभित्र वियर, वाइन अनि हृविस्कीको चुस्की लिँदै यूकेको राजनीतिको गफमा अब गफि्फन थाल्दैथिए । र बाहिर, त्यस्तै गरी जोडसँग हिउँ परिरहेको थियो, तापक्रम माइनस १० भइसकेको थियो । भोलि पानी परेको खण्डमा त्यही हिउँ जमेर ब्ल्याक आइस बनेछ भने, किस्मतको जस्तो ४×४ बाहेकका कारहरु चलाउनेहरु, तिनका यात्राको बीचमै कतै फँस्ने पक्का छ ।
-लण्डनबाट