[कविता]मान्छे र रङ्गहरू

[कविता]मान्छे र रङ्गहरू


-चन्द्र गुरुङ,
मान्छे सयौँ रङ्गमा फुल्न सक्छ ।
(भन्नु नै पर्दा थरी-थरीको रङ्ग फेर्छ)

जस्तै कि-
नखरमाउलो जवानीमा
माया-पिरती लाउँदै
गुलाबझैं रातो फक्रिन सक्छ ।

कहिले दुःखमा
त्यही मान्छे
कालो/गहिरो अनुहार बनाउँछ ।

साथै
बेलामौकामा
बन्छ पीडाको आँशु झार्दै रङ्गहीन ।


सुखको बेला
उज्यालो अनुहारमा परिणत हुन्छ ।

अभावका दिनहरूमा
च्याउरिएको सुक्खो पातझैं
जीवनको रूखबाट पहेंलिएर खस्न खोज्छ ।


सम्पन्न सुदिनहरूमा
सप्रिन्छ पनि हरियो-भरियो !

(मान्छे सधैँ रङ्ग फेरिरहन्छ)
अहिले,
म सोँच्दै छु कि-
मान्छे
थरी-थरीका रङ्गहरूमा फुल्ने फूल हो
वा
रङ्ग फेर्न सक्ने छेपारो !

-वहराइनबाट,