स्वदेशी स्रोतबाटै बूढीगण्डकी निर्माण गरिने

स्वदेशी स्रोतबाटै बूढीगण्डकी निर्माण गरिने


बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी पूँजीबाटै निर्माण गरिने भएको छ । एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई नै दिने सार्वजनिक प्रतिबद्धता व्यक्त गरिरहेका बेला सरकारले भने यो आयोजना स्वदेशी स्रोतबाटै निर्माण गर्न सकिने ‘लगानी खाका’ सोमबार सार्वजनिक गरेको हो ।

गण्डकी आयोजना निर्माण गर्न यसको दुई खर्ब ५९ अर्ब रुपैयाँको लागत स्वदेशका विभिन्न वित्तीय तथा गैरवित्तीय संस्थाबाट जुटाउन सकिने निचोड निकाल्दै सरकारद्वारा गठित समितिले यो आयोजना माथिल्लो तामाकोसी (४५६ मेगावाट) कै मोडलबाट निर्माण गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएको छ ।

‘बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धमा लगानीको खाका तयार गर्न’ मन्त्रिपरिषद्ले मंसिर ८ गते योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरेको समितिले सोमबार उपप्रधान तथा ऊर्जामन्त्री कमल थापालाई प्रतिवेदन बुझाउँदै स्वदेशका डेढ दर्जन संस्थाको सहभागितामा बूढीगण्डकीका लागि आवश्यक पर्नेभन्दा बढी रकम जुटाउन सकिने निष्कर्षसहितको सुझाव दिएको हो ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले कात्तिक अन्तिम साता चिनियाँ विवादास्पद कम्पनी गेजुवासित गरेको सम्झौता रद्द गरी वर्तमान सरकारले मंसिर ८ गते स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागि मन्त्रिपरिषद्ले योजना आयोगका उपाध्यक्ष, अर्थसचिव, ऊर्जा सचिव, गभर्नर र प्राधिकरण कार्यकारी निर्देशक सम्मिलित समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिएको हो । (अन्नपूर्ण पोस्ट)