दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेपछि…

दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेपछि…



– रेजिना गौतम

विर्तामोड । सडक दुर्घटना न्यूनीकरण गर्र्ने उद्देश्यले झापामा पुस ५ बुधबारदेखि सडक सुरक्षासम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सडक दुर्घटनामा परी दैनिक ज्यान गुमाउनेको संख्या बढिरहेको अवस्थामा नेपाल रेडक्रस सोसाइटी, जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाई तथा अन्य विभिन्न संघ–संस्थाको समन्वयमा बुधबारदेखि सडक सुरक्षासम्बन्धी जनचेतनामुलक र शिक्षा मुलुक गतिविधिहरु आमसमुदाय तथा विद्यालयस्तरमा सप्ताहव्यापी विविध कार्यक्रम सञ्चालन तयारी गरेको छ ।

सप्ताहव्यापी कायक्रममा सडक दुर्घटनाका कारणलाई न्युनीकरण गर्न जनचेतना प्रवाह गरी सडक प्रयोगकर्तामा सुरक्षित तरिका अपनाउन अभिप्रेरित गर्ने, सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न अभिप्रेरित गर्ने कार्यक्रम रहेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

सप्ताहमा विद्यालय, समुदाय, चालक तथा सहचालकलाई आकस्मिक प्राथमिक उपचार, सडक सुरक्षा सम्बन्धी सचेतना कक्षा, विद्यालयस्तरीय निबन्ध प्रतियोगिता, सडक सुरक्षा प्रवर्धन, सडक सुरक्षा सन्देश प्रशारण, सडक सुरक्षा सम्बन्धी अध्ययन सामग्रीको वितरण लगायतका गतिविधि सञ्चालन गर्ने तयारी गरिएको सभापति ढकालले बताउनु भयो ।

सडक सुरक्षा सप्ताह सम्बन्धी जानकारी दिने उद्देष्यले विर्तामोडमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्ण कोइरालाले बिर्तामोड आसपासको ५ सयमिटर क्षेत्रफल भित्र समेट्ने गरी सिसि क्यामेरा जडान गर्न सके ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाहीको दायरामा उभ्याउन सहज हुने बताउनु भयो ।

दुर्घटनामा दुवै पक्षले आफू दोषी नभएको दावी गर्दै बिवाद हुँदा प्रहरीले जबरजस्ती न्यायाधिस बन्नु परेको उल्लेख गर्दै घिमिरेले क्यामेरा जडान गर्नसके त्यहाँका दृष्यबाटै दोषी पत्ता लाग्ने र कारवाही गर्न सहज हुने धारणा राख्नुभयो । कोइरालाका अनुसार त्यसका लागि कार्यालयले योजना तयारी गरेपनि आर्थिक अभाव हुँदा समस्या परेको छ ।

कार्यक्रमको प्राथमिक उपचारसम्बन्धी नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिका कृष्ण घिमिरेले सडक दुर्घटनामा प्राथमिक उपचारको ठूलो भूमिका हुने बताउँदै त्यसैका लागि ट्राफिक प्रहरीसंग रेडक्रसले केन्द्रदेखि नै सहकार्य गरेको जानकारी दिनुभयो । गाडीमा चढ्ने कुरामा जहिले पनि नेपालीहरु जोखिमा रहेको बताउँदै घिमिरेले प्राथमिक उपचार रेडक्रसका जन्मदाता हेनरी ड्युनासँग जोडिएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले सवारीको चाप बढ्नु तथा ट्रनिङ पोइन्टमा सडकको लेन्थ सानो हुँदा ठूला मालवाहक गाढी घुमाउन कठिन हुने र त्यसले पनि दुर्घटना निम्त्याउने गरेको बताउनु भयो ।

कार्यक्रममा सडक सप्ताहमा सञ्चालन गर्ने कार्यक्रम तथा झापामा सवारी दुर्घटनाको गतवर्षको अवस्थाबारे रेडक्रसका केदार महतले जानकारी दिनुभयो । उहाँका अनुसार झापाका विभिन्न पाँच स्थानमा ट्राफिक प्रहरी र रेडक्रसको प्राथमिक उपचारका प्राविधिकहरुले सडकमै ट्राफिक नियम र प्राथमिक उपचारबारे जानकारी दिने छन् । कृष्ण मैनालीले सञ्चालन गरेको कार्यक्रमका संयोजक हेम खड्काले स्वागत गर्नुभएको थियो । कार्यक्रममा केशव भट्टराई, सिद्धार्थ नविन, गोमा भट्टराई लगायतले विभिन्न संघसंस्थाबाट सहभागीहरुले सवारी दुर्घटना न्यूनीकरणका लागि अपनाउन सकिने तरिकाबारे सुझाव प्रस्तुत गरेका थिए । रेडक्रसले झापामा गत वर्षदेखि ट्राफिक प्रहरीसंगको सहार्यमा सडक सप्ताह कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

विश्वमा हरेक वर्ष सडक दुर्घटनाबाट १३ लाख मानिसको मृत्यु हुन्छ । यसरी हेर्दा प्रतिदिन सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ हजारबढी रहेको पाइन्छ भने नेपालमा प्रतिदिन ६ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाउनु परेको तथ्याङ्कले देखाउँछ । ६ जनाले प्रतिदिन ज्यान गुमाउँदा ३३ जना घाइत हुने गरेको पाइएको छ ।