प्रदेश नम्बर २ मा मधेसकेन्द्रित दलले बहुमत हासिल गरेसँगै प्रान्तीय राजधानी र मुख्यमन्त्री पदका लागि आन्तरिक बहस सुरु भएको छ । प्रदेशको राजधानी विषयलाई लिएर विभिन्न सामाजिक सञ्जालदेखि वीरगञ्जमा दबाब समूह नै बनाएर छलफल र बहस सुरु गरिएको छ ।
प्रदेश नं. २ का आठ जिल्लामध्ये मधेस आन्दोलनताका पर्साका नागरिकले बढी साथ दिएको र प्रतिनिधि एवम् प्रदेश सभा निर्वाचनमा पनि पर्सामा मधेसी दलले जितेकाले राजधानी वीरगञ्जमै राख्नुपर्ने वीरगञ्जवासीको भनाइ छ । पर्सा र बाराका मधेसी दलबाट नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सदस्यहरूले वीरगञ्जमा राजधानीका लागि जोडदार माग गर्ने सामूहिक प्रतिबद्घता जनाएका छन् । प्रदेश नं. २ को राजधानीका लागि वीरगञ्ज कि जनकपुर भन्नेबारे जनस्तरमा चर्चा भइरहेको बेला मधेसी दलका सांसदबाट यस्तो प्रतिबद्धता आएको हो ।
वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको नवनिर्वाचित सांसद सदस्यहरूको सम्मान कार्यक्रममा उनीहरूले प्रदेश नं. २ को राजधानी वीरगञ्जलाई बनाउन कुनै कसर नछोड्ने प्रतिबद्धता जनाए । दुवै सभाका निर्वाचित सांसदहरूले प्रदेश नं.२ को अस्थायी राजधानी जनकपुर तोक्ने काम प्रचण्ड सरकारले गरेको बेला पर्सा, बाराका विपक्षी दलहरू कानमा तेल हालेर बसेको आरोप लगाउँदै चुनावमा हारको रिस साध्न काङ्ग्रेस र वाम गठबन्धनका नेताहरूले राजधानीको नाममा षड्यन्त्र गरिरहेको बताए ।
प्रदेश नं. २ को मुख्यमन्त्री पदका लागि पनि पर्साबाट जितेका लालबाबु राउत गद्दी, प्रह्लाद गिरीको नाम चर्चामा छ । सङ्घीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष एवम् सांसद उपेन्द्र यादव र वीरगञ्ज महानगरपालिकाका मेयरले वीरगञ्जको एक होटेलमा बसी प्रदेश–सांसद प्रह्लाद गिरीलाई प्रदेश नं. २ को मुख्यमन्त्री पद दिने प्रतिबद्धता जनाएका छन् । लालबाबु राउत गद्दी सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वसभासद्समेत हुन् । गद्दी उपेन्द्र यादवको निकटतम् व्यक्तिका रूपमा चिनिन्छन् ।
– अमित साह
प्रतिक्रिया