प्रधानमन्त्री नबन्दै उत्तरतिर ओली

प्रधानमन्त्री नबन्दै उत्तरतिर ओली


केपी ओलीले दक्षिणभन्दा उत्तरलाई प्राथमिकता दिने अनुमान भइरहेका बेला प्रधानमन्त्री नबन्दै उहाँ उत्तरी नाकाको अवलोकनमा जानुभयो । आज मंगलबार मध्यान्ह हेलिकप्टरको लावालस्करसहित उत्तरी सीमा–नाका रसुवागढी पुग्नुभएपछि काठमाडौंदेखि नयाँदिल्लीसम्म एक प्रकारको कम्पन पैदा भएको छ ।

पार्टी महासचिव ईश्वर पोखरेलसहितका नेताहरुसँगै लाङटाङ पुग्नुभएका ओली त्यतैबाट रसुवागढी नाकाको स्थलगत निरीक्षणका लागि भन्दै आज मंगलबार रसुवास्थित उत्तरीसीमा इलाका पुग्नुभएको थियो । उहाँले त्यहाँ चीनसँगको रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने र काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गरिने दाबी गर्दै काठमाडौंबाट रसुवागढीसम्मको हालको २ लेनको सडक कालोपत्रे गर्ने र खोलापारीबाट ४ लेनको सडक निर्माण थाल्ने उदघोष गर्नुभयो ।